जुम्ला — नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रिम चन्द ‘विप्लव’ स्याउका विरुवा रोप्न जुम्ला पुगेका छन् । पार्टीले स्थापना गरेको बगैंचामा विरुवा रोप्न उनी जुम्ला आइपुगेका हुन् ।
शुक्रबार नै उनी जुम्ला पुगे पनि आज बगैंचा स्थापना भएको घोषणा गर्ने कार्यक्रम रहेको छ । चार दिनदेखि सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई उनले शनिबार सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा उनले उत्पादनका क्रियाकलापमा जोडिन कार्यकर्तालाई निर्देशन दिए । उनी दुई दिनदेखि हिमा गाउँपालिका–७ धाँचु गाउँमा छन् । विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता र जनताले बाजागाजा र फुलमाला लगाइदिएर स्वागत गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी जुम्लाका इन्चार्ज बिर्खबहादुर शाहीले स्याउका विरुवा रोप्न महासचिव विप्लव जुम्ला आइपुगेको जानकारी दिए । उनका अनुसार महासचिव चन्दसँगै स्थायी समिति सदस्य सन्तोष बुढामगर,महासचिव विप्लवकी पत्नीसहितको टिम जुम्ला आइपुगेको हो ।
उनले धाँचु गाउँबासीलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउ बगैंचा स्थापना गर्न थालिएको बताए । उनले भने, ‘पहिले नेता कार्यकर्ता प्रत्यक्ष उत्पादनमा जोडिन आवश्यक छ । अनि मात्र जनतालाई उत्पादनसँग जोडर आत्मनिर्भरताको दिशामा अग्रसर बनाउन सकिन्छ ।’
यसअघि हिमा गाउँपालिकाको हाडुल्यामा झण्डै १० हजार स्याउका विरुवा रोपिएको थियो । जसमध्ये ७० प्रतिशत स्याउका विरुवा हुर्किसकेको इन्चार्ज शाहीले बताए । उतिबेला पनि स्याउ रोप्न महासचिव विप्लव जुम्ला पुगेका थिए ।
महासचिव चन्दले कृषि उत्पादनले मात्र देशलाई आत्मनिर्भर बनाउन सकिने प्रतिक्रिया दिए । आइतबार विप्लवको नेतृत्वमा झण्डै एक हजार स्याउका विरुवा रोप्ने कार्यक्रम रहेको छ ।
जुम्लाको स्याउ निकै स्वादिलो र पोटिलो हुने भएकोले स्याउको पहिचान जोगाउने र जुम्लालाई स्याउको जिल्लाका रुपमा स्थापित गर्ने लक्ष्य रहेको नेकपाले जनाएको छ । आगामी वर्षदेखि जुम्लामा उत्पादित स्याउ, सिमी, ओखर लगायतका रैथाने बालीहरु खरिद गरेर ठूला सहरहरुमा पुर्याउने नेकपाको योजना रहेको इन्चार्ज शाहीले बताए ।
