कर्णाली उत्सव : शिक्षा र नेतृत्वदेखि कर्णालीको समृद्धिको बहस

फाल्गुन ६, २०८१

कृष्णप्रसाद गौतम

Karnali Utsav: A debate on Karnali's prosperity from education and leadership

वीरेन्द्रनगर — कर्णाली उत्सव ‘कुडा कर्नालीका’को छैटौँ संस्करण प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबारदेखि सुरु भएको छ । ३ दिने उत्सवको उद्घाटनका क्रममा कर्णालीको समृद्धिदेखि शिक्षा, नारी नेतृत्व, युवा सशक्तीकरणलगायत विषयमा बहस भएको छ । 

वीरेन्द्रनगरस्थित सिटी हलको आँगनमा भइरहेको उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यामलाल कॅडेलले सुधारका थुप्रै चुनौती हुँदाहुँदै कर्णालीको विकासको लागि क्रमभंग हुने अवस्थाको सुरुवात भएको बताए । उनले यो क्रमभंगतालाई उच्चतम बिन्दुमा पुर्‍याएर समृद्धिको मार्गचित्र कोर्ने साझा दायित्व सुरु भएको जनाए । ‘हाम्रो इमान्दार प्रयत्नबाटै कर्णालीको समृद्धि सम्भव छ, लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै हो,’ उनले भने, ‘हामीले त्यसका लागि सत्ता सञ्चालन र शासनमा आमूल सुधार ल्याउन जरुरी छ ।’ 

कर्णाली दुःखको घाउ मात्र नभएर सम्भावनाको मल्हम पनि भएको मुख्यमन्त्री कँडेलले बताए । कर्णालीप्रति नकारात्मक भाष्य सिर्जना गरिएको र अब नागरिकलाई आशा तथा विश्वास दिलाउने अभियानको थालनी गरिएको उनको दाबी छ । ‘कर्णालीको विकास र समृद्धि हामी सबैको साझा अभियान हो, यसमा कोही पनि सत्ता र प्रतिपक्ष हुनुपर्ने जरुरी छैन,’ उनले भने, ‘मुलक संघीय संरचनामा गइसकेपछि हामीले गच्छे अनुसारको शासन व्यवस्था सञ्चालन गरिरहेका छौ, हाम्रो लक्ष्य भनेको विकास, पूर्वाधार र परिवर्तन हो ।’ कर्णालीको समृद्धिमा जल, जमिन, पर्यटन, जडीबुटी, भेषभूषा, भाषा संस्कृतिलाई अनुकूलतामा विकास गर्ने उनले जानकारी दिए । 

उत्सवमा गरिएका विचार मन्थनले कर्णालीको वास्तविक पहिचान बढाउने काममा सकारात्मक टेवा पुर्‍याएको पूर्वसचिव केवलप्रसाद भण्डारीले बताए । ‘विचार र बहसले समस्याको सिर्जना मात्रै गर्दैन, समाधानका उपायको खोजी पनि गर्छ,’ उनले भने, ‘कर्णाली एउटा सभ्यता हो, यसको इतिहास पनि वैभवशाली छ, जसले अपार सम्भावना र अवसर दिएको छ ।’ कर्णाली विकासमा पछाडि पर्नुको कारण हिजोदेखिको उपेक्षासॅगै कर्णालीवासीमा जागरुकताको कमी र उत्तरदायित्वबाट पन्छिनु पनि रहेको उनको भनाइ छ ।

Karnali Utsav: A debate on Karnali's prosperity from education and leadershipप्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कर्णालीको विकास यात्राका महत्त्वपूर्ण पाइलाहरूको पुनरावलोकन गर्दै आगामी यात्राको दिशानिर्देश गर्नेगरी दोस्रो आवधिक योजनाको निर्माण गरिएको बताए । उनले विकासका रणनीति तथा प्राथमिकताहरू तय गर्दा दिगो विकास लक्ष्यको सूचाचांकहरुलाई पूरा गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् व्यवस्थापन र  सामाजिक न्यायलाई विशेष ध्यान दिइएको जनाए । डिजिटल कर्णाली अभियान, उद्यमशीलता प्रवर्द्धन, ऊर्जा तथा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाह सुधार्ने पहलहरू यस योजनाले समेटेको उनको भनाइ छ ।  

राजनीतिक विश्लेषक आहुतिले कर्णाली भन्नेबित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यता अझै यथावत रहेको बताए । ‘वर्षौंदेखि बनाइएको रोगभोक र शोकको नकारात्मक बिम्बले हामीलाई अझै थिचिरहेको छ,’ उनले भने, ‘कर्णालीलाई हिजोको हेय दृष्टिभावले हेर्ने यस्ता नकारात्मक सूचक र मानसिकता अब बदल्न जरुरी छ ।’ 

कार्यक्रमको पहिलो सत्रमा उच्च शिक्षा, अनुसन्धान र विकासबारे बहस गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा.डा.ध्रुवकुमार गौतमले ज्ञान र सीपसँग देशको अर्थतन्त्र पनि जोडिएको बताए । शिक्षासँग देशको समृद्धि र कर्णालीको भविश्य पनि जोडिएको उनको भनाइ छ । नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शिलु मानन्धरले सरकारले विश्वविद्यालयको संख्या मात्रै नबढाएर पूर्वाधार र मानवीय संसाधनको व्यवस्थापन गर्न सके संसारमै प्रतिस्पर्धा गर्ने विद्यार्थी उत्पादन गर्न सकिने बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले विभिन्न अभाव चिर्दै कर्णालीले एमबीबीएस डाक्टर र विशेषज्ञ उत्पादन गर्नु अनुकरणीय भएको बताए । 

अर्को सत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले त्यतिबेला छोरी घरबाट धेरै टाढा जानु हुँदैन भन्ने मान्यता रहे पनि आफूले विभिन्न सामाजिक चुनौती चिर्दै काठमाडौं गएर शाखा अधिकृत हुँदै सहसचिवको परीक्षामा उतीर्ण गरेको बताइन् । जहाँ गए पनि कर्णालीको मायाले आफूलाई काम गर्न उत्प्रेरित गरिरहने र पछिल्लो समय हरेक क्षेत्रमा महिला नेतृत्व अघि बढेको खुसी लाग्ने उनको भनाइ छ । अभियन्ता पुना कामीले सशस्त्र द्वन्द्वका बेला महिलामाथि हुने ज्यादतीविरुद्ध कालीकोटमा बसेर काम गरेको अनुभव सुनाइन् । ‘घरभित्र गोली आउन थालेपछि हामीले राज्य पक्षको बन्दुक खोस्यौं,’ उनले भनिन्, ‘महिलाहरुले द्वन्द्वमा धेरै पीडा भोगे, तर अझैं न्याय पाएका छैनन् ।’ 

कर्णालीमा महिला आन्दोलन (स्वाइनी स्वर) मा द स्टोरी किचनकी जया लुइँटेलसॅग कुरा गर्दै पत्रकार दिलमाया शाहीले दुर्गम महिला र बालबालिकालाई न्याय दिन र सशक्त बनाउन राज्यले जति काम गर्नुपर्थ्यो त्यो नगरेको गुनासो गरिन् । अर्को सत्र ‘बैकिनी बोल्छिन्’ मा कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल र भैरवी गाउँपालिका अध्यक्ष रीता शाहीले महिला नेतृत्वबारे बहस गरे । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully