कर्णालीप्रति संघ सरकारले गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल

फाल्गुन ५, २०८१

ज्योति कटुवाल

Efforts are being made to stop the Union Government's neglect towards Karnali: Chief Minister Kandel

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताएका छन् । सोमबारदेखि सुर्खेतमा सुरु कर्णाली उत्सवको छैटौं संस्करणलाई सम्बोधन गर्दै उनले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवरसमेत भएको बताए ।

मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्त्वपूर्ण सडकको स्तरोन्नतिका लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको जनाए । 'कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्त्वका सडकको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट विनियोजन भई काम अगाडि बढ्ने प्रक्रियामा रहेको अवस्था छ,' उनले भने, 'अनियमित विद्युत्‌लाई नियमित गर्न १३२ केभी विद्युत् प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरु भएका छन् ।'

मुख्यमन्त्री कँडेलले कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहे पनि नकारात्मक प्रचारले थिचेको बताए । 'वर्षौंदेखि बनाइएको रोग भोक र शोकको नकारात्मक बिम्बले हामीलाई अझै थिचिरहेको छ, कर्णालीलाई समस्याको खाल्डो बनाउने काम भयो, सम्भावनाको सरोवर बनाउने काममा हामीले ध्यान पुर्‍याउन जरुरी छ,' उनले भने ।

पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकले कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय नभएको मुख्यमन्त्री कँडेलको भनाइ छ । 'सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकार क्षेत्रभित्र पनि पर्दैन । आफ्नो अधिकार क्षेत्र पर्ने काम इमान्दारितापूर्वक गर्ने र आफ्नो अधिकार क्षेत्रबाहिरका विषयहरू संघीय सरकारलाई महसुस गराउने दृढ अभियानमा म लागिरहेको छु,' उनले भने ।

फरक प्रसंगमा मुख्यमन्त्री कँडेलले लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै रहेको विचार व्यक्त गरे । 'यसको विकल्पमा पारिवारिक र वंश परम्पराको शासन व्यवस्था कदापि हुन सक्दैन, व्यक्तिका तमाम कमजोरीहरू होलान्, सत्ता सञ्चालन र शासनमा आमूल सुधारको अपेक्षा होला, त्यसलाई अन्यथा मान्दैन,' उनले भने, 'आवधिक निर्वाचनमार्फत सार्वभौम नागरिकले त्यस्ता व्यक्तिलाई जनमतबाटै तिस्कार गर्न सक्ने हामीले व्यवस्था गरेका छौँ । तर व्यक्ति विशेषका कमजोरीलाई लिएर व्यवस्थाप्रति घृणा फैलाउने र नागरिकलाई राज्यप्रति वितृष्णा जगाउने कामले न व्यवस्था बलियो हुन्छ न नागरिकले सन्तुष्टि प्राप्त गर्न सक्दछन् ।'

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully