सगरमाथा आरोहणका लागि निस्किए दृष्टिविहीन शिक्षक

फाल्गुन १, २०८१

विप्लव महर्जन

A blind teacher set out to climb Mount Everest

सल्यान — दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर घर भई हाल शिवजन मावि सितलपार्टीमा प्रावि तहमा स्थायी दरबन्दीमा कार्यरत ३७ वर्षीय दृष्टिविहीन शिक्षक राजेश अर्यालले सगरमाथा आरोहण गर्ने भएका छन् ।

 

अपांगता भएका व्यक्तिहरुले विगतमा ठूल्ठूला काम गरेको देखेर हौसिएका उनी ‘फादर एण्ड सन ट्रयाक एण्ड एक्सपिटेसन कम्पनी’ को सहायतामा सगरमाथा आरोहण गर्ने भएका हुन् । 

अर्यालले सगरमाथा आरोहणका लागि विद्यालयबाट तीन महिनाको बिदा पनि लिइसकेका छन् । बिहीबार नै उनी त्यसका लागि काठमाडौं हिँडिसकेका छन् । अपांगता भएका अन्य व्यक्तिहरुले पनि साहसिक काम गरेको देखेपछि आफू पनि सगरमाथा आरोहणका लागि प्रेरित भएको अर्यालको भनाइ छ । 

सगरमाथा आरोहणका लागि ३५ लाखसम्म खर्च लाग्छ । तर आफू दृष्टिविहीन भएका कारण ५० लाखसम्म खर्च लाग्ने उनी बताउँछन् । त्यसका लागि उक्त रकम सल्यानकै युवा नेता ऋषिकेश जंग शाहले जुटाइदिएका हुन् । 

उनले भने, ‘मैले डेढ वर्षको उमेरमा बाबुआमा गुमाएको थिएँ । बाबुआमा नभएपछि सानैदेखि अर्काको घरमा काम गरेर पढेँ । कक्षा ५ मा गोरक्ष मावि चौघेरा घोराही दाङमा पढ्दापढ्दै मेरो दुवै आँखाको ज्योति गुम्यो । पढाईको लागि धेरै संघर्ष गर्नुपर्‍यो ।’

अर्काको घरमा काम गर्न बसेर पढिरहेका उनले पछि एक व्यक्तिको सहयोगमा उच्च शिक्षा  हासिल गरे । उच्च शिक्षा हासिल गरेपछि २०६९ सालमा राहत कोटामा पहिलो पटक शिक्षक जागिर खाए । २०७५ मा शिक्षा आयोग दिएर प्रावि तहको स्थायी दरबन्दीमा नाम निकालेका उनी सिधै शिवजन मावि सितलपार्टीमा दृष्टिविहीन बालबालिकालाई पढाउन आए । 

अपांगता भएका धेरै व्यक्तिले नसोचेको काम गरेको देखेर आफूलाई पनि जीवनमा एकपटक सगरमाथा आरोहण गरेरै छाड्ने अठोट पलाएको उनको भनाइ छ । ‘रहर गरेर मात्र नहुने रहेछ । त्यसका लागि लाग्ने खर्चको जोहो गर्न समस्या । तर मैले सहयोग पाएँ  र यसपाली सगरमाथा चढ्ने साइत जुर्‍यो,’ उनले भने ।

फागुन महिनाभर काठमाडौंमा र त्यसपछि चैतमा आधार शिविर क्षेत्रमा आरोहणको तालिम लिने उनको भनाइ छ । बैशाखभित्रै सगरमाथा आरोहण गरेर फर्किने उनको योजना छ । यसका लागि आर्थिक सहयोग गर्ने शाहलाई उनले आभार व्यक्त गरेका छन् ।

‘दुवै आँखाको ज्योति गुमेपछि लट्ठी तथा सहयोगीको भरमा अहिले म यताउती गर्दै आएको छु । विद्यालयमा ब्रेल लिपीको पुस्तकबाट विद्यार्थीलाई पढाइरहेको छु । सगरमाथा चढ्ने योजना बनाएको देखेर सबैलाई कसरी चढ्छ भन्ने कौतुहलता बढेको छ । गाइड हुन्छन् साथमा, उनकै सहयोगमा सगरमाथा चढेरै फर्किने छु,’ उनी भन्छन् ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully