जुम्ला — जिल्लाको तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका छन् ।
सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मंगलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले त्यसको उद्घाटन गरे ।
यहाँका स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो । सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन् । सडक निर्माणपछि जीप, ट्रयाक्टर र मोटरसाइकल आवतजावत गर्न थालेका छन् ।
सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ । नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा एक करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब २० मिनेटमा पूरा हुने बताए । आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले मंगलबार नाचगान गरेर खुसीयाली मनाएका थिए ।
