कालीकोट — नरहरिनाथमा मिनी ट्रक दुर्घटना हुँदा व्यवसायीको मृत्यु भएको छ । नरहरिनाथ-८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको मिनी ट्रक स्थानीय हलेसे भीरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी नरहरिनाथ-५ रुप्सा घर भएका गाडी साहु ४५ वर्षीय गंग देउवाको मृत्यु भएको हो । लालु गाउँबाट मकै र भटमास खरिद गरेर स्थानीय बजार खुलालु हुँदै सुर्खेत फर्किने क्रममा ओरालोमा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी टेक बहादुर रावतले बताए ।
राति भएको दुर्घटनामा घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारको लागि मान्म लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी रावतले सुनाए। उनकाअनुसार गाडी सडकबाट २ सय ५० मिटर तल खसेको छ । पलाता ८ घर भएका चालक हाम फालेर बच्न सफल भएका छन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्ष देखि नरहरिनाथ ८ खुलालु बजारमा खाद्य, खुद्रा तथा कपडाको व्यापार गर्दै आएका गाडी साहु देउवा पछिल्लो समयमा गाउँबाट अन्न खरीद गरेर सुर्खेत लगायतका ठाउँमा बेच्ने काममा सक्रिय थिए।
दुर्घटनामा गाउँले असल समाजसेवी गुमाएको नरहरिनाथ ९ का वडाध्यक्ष प्रदीप बोहोराले बताए । मृतकका पत्नी र ३ छोराछोरी छन् ।
