सल्यानको त्रिवेणीको अखेला आसपासमा चुनढुंगा उत्खननमा प्रतिबन्ध

माघ २५, २०८१

विप्लव महर्जन

Ban on limestone quarrying around Akhela in Triveni, Salyan

सल्यान — जिल्लाको त्रिवेणी गाउँपालिका-१ अखेला क्षेत्रमा चुनढुंगा उत्खनन गर्न रोक लगाइएको छ । दाङ सिमेन्ट ईन्डस्ट्रिज उद्योग प्रालिले दाङको बबई गाउँपालिकाबाट चुनढुंगा उत्खननको लागि ईजाजत लिए पनि त्रिवेणी गाउँपालिकामा कुनै जानकारी नगराएका कारण कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, पालिका अध्यक्ष खिमबहादुर रावत सहितको टोलीले अनुगमनपश्चात् आफ्नो क्षेत्रमा चुनढुंगा उत्खननमा प्रतिबन्ध लगाएको हो । 

सिमेन्ट ईन्डस्ट्रिज उद्योग प्रालिले मनपरी चुनढुंगा उत्खनन गरेको गुनासो आएपछि साताअघि अनुगमन गर्दा पालिकाको क्षेत्र पनि धेरै ओगटेकाले उत्खननमा रोक लगाएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए । तीन दशकअघि चुनढुंगा उत्खननका लागि खानी तथा भूगर्भ विभागबाट जिम्मेवारी पाएको कम्पनीले वडा नं १ मा स्थानीयको ५५ रोपनी जग्गा किने पनि पालिकाभित्र पर्ने अन्य धेरै वन क्षेत्रमा उत्खनन गर्न थालेको उनले जानकारी गराए । तीन दशकअघि जिम्मेवारी पाएको कम्पनीले यो वर्षदेखि मात्र उत्खनन गर्न थालेको उनको भनाइ छ । 

चुनढुंगा उत्खनन कार्यले त्रिवेणी गाउँपालिका-१ को कोलचौर, स्याला, अखेलाका सय घर परिवार जोखिममा रहेका उनले जनाए । ‘खानी तथा भूगर्भ विभागले टेन्डर आह्वान गरेपछि उत्खनन गर्ने जिम्मेवारी दाङ सिमेन्ट ईन्डस्ट्रिज उद्योग प्रालिले पाएपछि उत्खनन स्थल दाङ, सल्यान दुवै समेटेकाले बबई गाउँपालिकामा जस्तै त्रिवेणी गाउँपालिकाबाट पनि ईजाजत लिनु पर्ने हो तर एक पटक पनि समन्वय गरेको छैन  र अहिलेसम्म कुनै जानकारी गराएको छैन,’ उनले भने, ‘बस्ती जोखिममा पारी समन्वयबिना गरेको कार्यलाई पालिकाले अनुमति दिन सक्दैन । यदि सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन गर्छ भने त्यसबापत लाग्ने कर तिर्नु पर्छ ।’ चुनढुंगा उत्खनन कार्यले बस्ती जोखिममा परेपछि स्थानीयले समेत विरोध गरेका उनको भनाइ छ । 

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले अनुमति नलिई काम गरेको कारण कम्पनीको सबै कागजात माग गरेको बताए । मापदण्डभन्दा बाहिर गएर उत्खनन गरेको भेटिएमा उत्खनन कार्य पूर्ण रुपमै रोक लगाउने उनले जानकारी गराए । उत्खनन कार्य अहिले पेटीमा अन्यले गरेको भए पनि आधिकारिक व्यक्तिसँग अहिलेसम्म सम्पर्क हुन नसकेको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully