सल्यान — दुई दशकअघि गाडेका काठका बिजुलीका पोलले त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाका दर्जन बस्ती दुर्घटनाको जोखिममा परेका छन् । धेरै वर्षअघि गाडिएका काठका पोल जीर्ण तथा कुहिएर ढल्ने अवस्थामा पुगे पनि अहिलेसम्म नफेर्दा त्रिवेणी गाउँपालिकाको भुमकेज्युला, टुनीबोट, सल्लेखोला, कारागिठी, छत्रेश्वरी गाउँपालिकाको दारिमज्युला, लान्ती, शंखमुल, रानागाउँ, कारागिठी, खारखोला र डाँडासल्ले बस्ती दुर्घटनाको जोखिममा परेका हुन् ।
कुहिएको काठेपोलका कारण दुई पालिकाका दर्जन बस्तीका एक हजार बढी घरपरिवार प्रभावित छन् । पटक–पटक स्थानीयले सम्बन्धित निकायमा कोठेपोल हटाएर फलामको पोल गाड्न आग्रह गर्दै आए पनि अहिलेसम्म कुनै चासो नदेखाएका कारण बर्खा र हुरिबतास चलेका बेला लत्रेका तार जुधेर आगोको झिल्को निस्कने गरेको स्थानीयको भनाइ छ ।
ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत आव २०६२ मा त्रिवेणी गाउँपालिकाको भुमकेज्युला, टुनिबोट, मजाउखोला, दारिमज्युलापारीका बस्ती, सल्लेखोला, कारागिठी, छत्रेश्वरी गाउँपालिकाको लान्ती, दारिमज्युला, रानागाउँ, डाँडासल्ले, खारखोलामा दुई सयभन्दा बढी काठका पोल गाडिएको थियो । गाडिएका काठका पोल धेरैजसो जीर्ण भएका छन् भने कोही कुहिएर ढल्ने अवस्थामा पुगेका छन् ।
गत वर्ष लत्रिएको तारबाट करेन्ट प्रवाह हुँदा आफ्नो घर नजिकैको परालको टौवामा आगलागी भएको भुमकेज्युलाका स्थानीय छवि थापाले बताए । परालमा आगलागी भएपछि करेन्ट लाग्ने डरले कसैले आगो निभाउन नसकेको उनको भनाइ छ । ‘कुहिएका र जीर्ण काठका पोल घर नजिकै गाडिएका छन् । हुरिबतास चलेर पोल ढले भने घरमा तथा गोठमा पर्ने अवस्था छ । घरगोठ जलेर नष्ट हुने मात्र नभई मान्छेको पनि ज्यान जान सक्छ,’ उनले भने ‘काठे पोल हटाउन हामीले सम्बन्धित निकायमा पटक–पटक माग राख्दै आएका छौँ । तर अहिलेसम्म पोल फेर्न कुनै चासो देखाएको छैन ।’
त्रिवेणी गाउँपालिकाको टुनिबोटका स्थानीय रेसम बस्नेतले पुराना काठे पोल र त्यसमा लत्रिएका तारका कारण अहिलेसम्म करेन्ट लागेर मानवीय क्षति नभए पनि पानी परेका बेला र हुरिबतास चल्दा तार जुधेर आगोको झिल्को फाल्ने गरेको बताए । छत्रेश्वरी गाउँपालिका ३ का वडाध्यक्ष तीर्थराज दाहालले वडाभरि ६० वटा काठका पोल रहेका र ती सबै जीर्ण भइसकेको बताए ।
काठे पोललाई विस्थापित गर्ने कार्यक्रम विद्युत् प्राधिकरणले ल्याए पनि त्रिवेणी र छत्रेश्वरीमा शंखमुल ग्रामीण सामुदायिक विद्युतीकरण भएकाले कार्यालयले बेवास्ता गरेको उनले जानकारी गराए । उनका अनुसार वडामा एक हजार बढी घर छन् । कोठेपोलका कारण ५ सय बढी परिवार प्रभावित छन् । विगतमा कामै नलाग्ने र ढलेका काठका पोल सामुदायिक विद्युतीकरणले फेरे पनि जीर्ण भइसकेका अन्य पोल भने नफेरेको उनको भनाइ छ ।
त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष मनोज शाहले जीर्ण काठेपोल र लत्रिएका तारका कारण जोखिम मात्र नभई बेलाबेलामा स्थानीयले विभिन्न किसिमका समस्या भोग्दै आएको बताए । उनले वडाको भुमकेज्युलामा मात्र नभई पालिकाको धेरै स्थानमा काठका पोल रहेको जानकारी गराए । ‘स्थानीयले गुनासो गरेपछि हामीले सम्बन्धित निकायमा पटक–पटक माग राख्दै आएका छौँ । तर आश्वासनभन्दा केही पाउन सकेका छैनौँ,’ उनले भने, ‘पछिल्लो समयमा सामुदायिक ग्रामीण विद्युतीकरण खारेज भइसकेको छ । विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरेपछि केही सुधार हुन्छ कि भन्ने अपेक्षा छ ।’
जिल्लाको त्रिवेणी, छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाभित्र गरी २ सय ५० काठका पोल रहेका र ती पोलका कारण दुर्घटनाको जोखिम बढाउँदै आए पनि ग्रामीण सामुदायिक विद्युतीकरणले काम गरिरहेकाले कार्यालयले काठको पोल विस्थापित गर्न नसकेको विद्युत् प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेलले बताए । शारदा नगरपालिकाभित्र रहेका काठे पोल भने धेरैजसो हटाइसकेको उनले जानकारी दिए । ‘अहिले ग्रामीण सामुदायिक विद्युतीकरण खारेज भइसकेको छ । सामुदायिक विद्युतीकरणको जिम्मेवारी प्राधिकरणलाई लगाउनेवित्तिकै जीर्ण तथा कुहिएका काठे पोल फेर्छौँ’, उनले भने ।
