सल्यान — डिभिजन कार्यालय सल्यानले डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सल्यानलाई विभिन्न किसिमका ५० थान सामग्री उपलब्ध गराएको छ । कार्यालयले एक कार्यक्रम गरी प्रहरीलाई विभिन्न किसिमका सामग्री उपलब्ध गराएको हो ।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले सल्यान जिल्ला डढेलोको उच्च जोखिममा रहेको र अहिलेदेखि जंगलमा डढेलो लाग्न थालेकाले आगो निभाउन सहज होस् भनेर १० थान स्वाटर, ५ थान फायर रक, १० थान हेल्मेट, १० थान ड्रेस, ५ थान पानी हाल्ने थर्मस, एक थान पानी हाल्न मिल्ने झोला र १० थान ग्लोब्स उपलब्थ गराएको बताए ।
डढेलोले प्रत्येक वर्ष मान्छेको ज्यान लिने मात्र नभई दर्जनौं घर जलेर नष्ट बनाउँदै आएकाले जिल्ला प्रहरी कार्यालय मात्र नभई ईलाका प्रहरी, सामुदायिक वनलाई पनि आगो निभाउने सामग्री वितरण गरिने उनले जनाए ।
डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रम भैरहेको र आगो निभाउने दमकल किन्नका लागि स्थानीयतहसँग समन्वय गर्दै आएको उनले जानकारी गराए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रनाउ केसरकुमार न्यौपानेले डिभिजन वन कार्यालयले उपलब्ध गराएको सामग्री पर्याप्त नभए पनि डढेलो निभाउन सहज हुने बताए ।
माघ महिनामै जिल्लाका केही स्थानमा डढेलो लागिसकेकाले उनले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरे ।
