कर्णालीको परिचय बदल्न युवाहरुको संकल्प र साथ जरुरी : मुख्यमन्त्री कँडेल

माघ ११, २०८१

तृप्ति शाही

To change the identity of Karnali, determination and support of the youth is necessary: ​​Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्न युवाहरुको साथ र संकल्पको जरुरी रहेको बताएका छन् । शुक्रबारबाट वीरेन्द्रनगरमा सुरु प्रथम कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले मात्र कर्णालीको विकास र समृद्धिको यात्रा सफल नहुने बताए ।

प्रदेश सरकारलाई निश्चित बजेट र स्रोतसाधनका आधारमा काम गर्नुपर्ने बाध्यता रहेको औंल्याए । आवश्यकता धेरै र स्रोतको सीमितता रहेको सुनाए । उनले भने,‘सबै पक्षलाई समेटेर लैजाने प्रयास गरेको छु, युवाको सकारात्मक साथ आवश्यक छ, मेरो नेतृत्वको कर्णाली प्रदेश सरकारले कहिल्यै कर्णालीको शीर निहुर्‍याउने काम गर्ने छैन्, प्रदेशको विकासमा युवाहरुलाई साथमै राख्नेछु ।’ उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले व्यवस्थाविरोधी चिन्तन नराख्न युवाहरुलाई आग्रह गरे ।  

वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले युवाहरुलाई निरासाको खेती गरेर नागरिकलाई पछि धकेल्ने काम गर्न नहुने बताइन् । ‘अहिलेको युवाहरुमा केही समस्या छन्, फेसबुक लाइभमा बसेर समय खेर फालिरहेका छन्, घरमा बसेर फेसबुकमा गाली गरेर हैन, सिर्जनशील बन्नुपर्छ, उद्यमशील बन्नुपर्छ,' उनले भनिन्, ‘जो व्यक्तिको मनमा सधैं निरासा हुन्छ, त्यस्तो व्यक्तिबाट समाज रुपान्तरण सम्भव हुँदैन, आशावादी हुनुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कर्णालीका नागरिकहरुले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्ने बताए । उनले भने,‘कर्णालीबारे सोच बदल्न आवश्यक छ, कर्णाली सम्भावनाको क्षेत्र हो, कर्णालीको कृषि, पर्यटनमा धेरै सम्भावना भएको प्रदेश हो, तर आज कर्णालीका गाउँहरु खाली भएका छन्, युवाहरु विदेशिएका छन्, हामीले मिहिनेत गर्ने हो भने कर्णालीको माटोमा सुन फलाउन सकिन्छ ।’ 

उनले कर्णाली बदल्नका लागि राजनीतिक दलहरु र बौद्धिक वर्गलाई दलीय स्वार्थभन्दा माथि उठ्न आग्रह गरे । राजनीतिक शक्तिका आधारमा भन्दा पनि साझेदारीका आधारमा यसको विकासमा लाग्न जरुरी रहेको उनको भनाइ छ । कर्णाली प्रदेश सरकारले युवा वर्गको क्षेत्रमा काम गर्न आवश्यक रहेको भन्दै उनले युवाहरुलाई उत्पादन, उद्यमशिलताका क्षेत्रमा आकर्षण गराउने खालका कार्यक्रमहरुको जरुरी रहेको औंल्याए ।  

परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा सुरु भएको कर्णाली युवा महोत्सव शनिबारसम्म चल्नेछ । 

महोत्सवमा कर्णालीको विकासमा युवाको भूमिका, युवा उद्यमशिलता र सिर्जनशिलता लगायतका सत्रहरु सञ्चालन हुने आयोजकले जनाएका छन् । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully