चौरजहारी र राकम कर्णाली नयाँ सहर आयोजना : न्यून बजेट, सुस्त विकास

आयोजना प्रमुख भन्छन् : यो वर्ष ८ करोड रुपैयाँ बजेट आएको छ । यही गतिमा बजेट आउने हो भने अबको २० वर्षमा पनि यो आयोजना सकिन्न

माघ १०, २०८१

कृष्णप्रसाद गौतम

Chaurjahari and Rakam Karnali New City Project: Low budget, slow development

सुर्खेत — चौरजहारी नगरपालिका-३ टाटागाउँका सर्वजीत बटालाको जग्गा २०७८ सालमा नयाँ सहर आयोजनाले रोक्का गर्‍यो । अहिले उनले त्यो जग्गा न प्रयोग गर्न पाएका छन् न बिक्रीवितरण गर्न नै ।

‘सुरुमा हाम्रो जग्गा विकसित घडेरीको रुपमा परिणत हुने भयो भन्दा निकै आशा थियो, न केही काम हुन्छ न फिर्ता नै पाइन्छ,’ उनले भने, ‘आशैआशमा ३ वर्ष बित्यो, अझै कति कुर्ने हो अन्योल छ ।’ उनका छिमेकी चन्द्रबहादुर विकले पनि आफ्नो जग्गामा केही काम नहुँदा आयोजनाप्रति नै आश गर्न छाडेका छन् । जग्गा व्यवस्थापनका नाममा आफूहरुलाई दुःख दिने काम मात्र भएको उनको गुनासो छ ।

२०६८ सालमा सरकारले मध्यपहाडी लोकमार्गअन्तर्गत गर्ने १० बस्तीलाई नयाँ सहरको रुपमा विकास गर्नेगरी रुकुम पश्चिमको चौरजहारी र दैलेखको राकम कर्णालीमा नयाँ सहर आयोजना सुरु गर्‍यो । १ लाख जनसंख्या बसोबास गराउन आवश्यक सम्पूर्ण पूर्वाधारसहित योजनाबद्ध सहरीकरणका लागि आयोजना सुरु गरिए पनि बजेट अभावमा आयोजनाका अधिकांश कार्यक्रम अलपत्र छन् ।

आयोजनाले सडक, ढलनिकास, खानेपानी, विद्युत्, फोहर व्यवस्थापनलगायत पूर्वाधारको विकास गरी स्थानीयलाई झण्डै २० हजार व्यवस्थित घडेरी वितरण गर्नेगरि कार्यक्रम अघि सारेको थियो । ‘यो वर्षका लागि ८ करोड रुपैयाँ आएको छ, जबकी यहाँ ८ करोडले एउटा सामान्य योजना पनि पूरा गर्न सकिन्न,’ चौरजहारी नयाँ सहर आयोजनाका निमित्त प्रमुख शशिन्द्र घिमिरेले भने, ‘यस्तै न्यून बजेट आउने हो भने अबको २० वर्षमा पनि यो आयोजना सकिन्न ।’

उनका अनुसार बजेट नआउँदा चौरजहारी-१,२ र ३ मा निर्माण थालिएको रिङरोडको काम अलपत्र छ । चक्रपथ निर्माणका लागि कम्तीमा ८० करोड चाहिने भए पनि अहिलेसम्म ५ करोड रुपैयाँ मात्र खर्च भएको उनले जानकारी दिए ।

त्यस्तै, बजार क्षेत्रका सडकहरु कालोपत्र गर्ने काम पनि बजेटकै कारण रोकिएका छन् । पार्क निर्माणका लागि अहिलेसम्म १ रुपैयाँ पनि नआएको निमित्त प्रमुख घिमिरेले बताए । ‘२० वर्षमा १० अर्बका योजना निर्माण गर्नेगरि आयोजना सँरु भएको हो, तर १३ वर्षमा १ अर्बका योजना पनि पूरा भएनन्,’ उनले भने, ‘अहिलेसम्म बसपार्क निर्माणबाहेक अरु कुनै योजना पूरा भएनन् ।’

मर्मतसम्मारको अभावमा मुख्य बजार क्षेत्रका सडकबत्ति अलपत्र परेको चौरजहारी-१ का सरोज भण्डारीले बताए । उनका अनुसार अधिकांश बत्ती त चोरी भइसके भने बाँकी बत्ती पनि फोहर जमेर बल्दैनन । आयोजनाले चौरजहारी-१ घारीगाउँ र ३ नम्बर वडाको टाटागाउँमा जग्गा विकास कार्यक्रम अघि सारेको छ ।

घारीगाउँमा कार्यक्रम सुरु भए पनि बजेट अपूग छ भने टाटागाउँमा जग्गा मुल्यांकन र रोक्काको कायमै अलमल भएको निमित्त प्रमुख घिमिरेले बताए । आयोजनाले गत वर्ष झण्डै ३ करोड रुपैयाँमा बसपार्क निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको छ भने अहिलेसम्म ७ किलोमिटर सडक कालोपत्रको काम सकिएको आयोजनाले जनाएको छ ।

यो वर्ष आयोजनाले २ वटा ठेक्का खोल्ने तयारी गरेको छ । घारीगाउँ जग्गा विकास र ल्याण्डफिल साइड निर्माणका लागि टेन्डर खोल्ने तयारी गरिएको हो । ल्याण्डफिल साइडका लागि पहिलो चरणमा ३ करोडको काम भएको थियो भने यो वर्ष झण्डै २ करोडको काम हुनेछ ।

‘यो वर्ष काम हुॅदा पनि ल्याण्डफिल साइडका लागि कम्तीमा ६० लाख रुपैयाँ फेरि अपूग हुन्छ,’ निमित्त प्रमुख घिमिरेले भने, ‘अब कम्तीमा थप १० किलोमिटर सडक चौडा र पिच गर्ने हाम्रो योजना छ, त्यसका लागि रकम माग गरेका छौं ।’ फोहर व्यवस्थापन केन्द्र नबन्दा बजारको फोहर एक महिनासम्म पनि नउठ्ने चौरजहारी-१ की कमला पोखरेलले बताइन् ।

राकम कर्णालीमा पनि बजेट अभाव सडक कालोपत्र, बसपार्क निर्माण, सडक चौडा बनाउने, नाला निर्माण, फोहर व्यवस्थापन केन्द्रलगायत काम अलपत्र परेका छन् । आठबीस नगरपालिका-१, २, ४ नम्बर वडालाई व्यवस्थित सहरको रुपमा विकास गर्न १९ अर्ब ८२ करोड रुपैयाँको आयोजना अघि सारिए पनि अहिलेसम्म २६ करोड २८ लाख रुपैयाँको मात्र काम भएको हो ।

राकममा झण्डै ६ वर्ष जग्गा विवादले काम अलपत्र परेको आठबीस नगरपालिका प्रमुख तर्कबहादुर बडुवालले बताए । ‘राष्ट्रिय योजना भन्नु मात्रै छ, बरु नगरका सानातिना योजना देखिनेगरि निर्माण भएका छन्,’ उनले भने, ‘कम्तीमा बजार क्षेत्रको सडक पिच भए स्थानीयको सास्ती कम हुन्थ्यो ।’

आयोजनाअन्तर्गत जग्गा विकासका लागि बगरखेत र सेरावाडालाई छनोट गरिएको आयोजनाका इन्जिनियर कमलप्रकाश बजगाईले बताए । उनका अनुसार बगरखेतमा १ सयवटा घडेरी निर्माण भएका छन् भने सेरावाडामा डीपीआर सम्पन्न भई जग्गाधनीको लालपुर्जा र नक्सापासको कागजात संकलन भइरहेको छ । ‘सेरावाडामा मुआब्जा विवादले योजनाको काम लामो समय रोकियो, अहिले जग्गाधनीको कागजात संकलन गर्ने काम गरिरहेका छौ, त्यसपछि डीपीआरको काम हुनेछ,’ उनले भने, ‘एक त योजनाका लागि बजेट नै आउदैन, आए पनि पुग्नेगरि कहिल्यै आएन ।’

आयोजनाका लागि यो वर्ष १३ करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए । जसबाट ३ वटा ठेक्का खोली स्वीकृत गरिएको उनले जानकारी दिए । आयोजना कार्यालयका अनुसार वस्ती विकास कार्यक्रमअन्तर्गत ३ करोडको ठेक्का खोलिएकोमा हेन्डिङ/विराज/विजय जेभीको १ करोड ८१ लाखको टेन्डर स्वीकृत भएको छ ।

त्यस्तै, ल्याण्डपुलिङअन्तर्गत बगरखेत जग्गा एकीकरण आयोजनाको लागि १ करोड ८१ लाखमा अमृत/हिमांशु निर्माण सेवा र अधिकारी पार्कदेखि निमाइल सामुदायिक भवन जोड्ने सडक निर्माणका लागि एमएम/सचेत जेभीले २ करोड रुपैयाँमा ठेक्का लिएका छन् ।

अहिलेसम्म सडक सोलार बत्ती, मसानघाटमा प्रतीक्षालय, ५ खानेपानी योजना र सिगौडीको कुमालखाडादेखि निमायलसम्म कच्ची सडकको काम मात्र सकिएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले कम्तीमा १५ किलोमिटर सडक कालोपत्र गर्नुपर्नेमा अहिलेसम्म ३ सय ५ मिटर सडक कालोपत्रेको काम मात्र सकेको छ । आयोजनाको नाममा बजेटको दुरुपयोग मात्र भइरहेको आठबीस नगरपालिका-४ का हेमराज बुढाले बताए ।

‘सडक र नालीमा एक वर्ष काम हुन्छ, अर्को वर्ष भत्किन्छ, अरु योजना पनि जताततै लथालिंग छन्,’ उनले भने, ‘न काम गुणस्तरीय भएको छ न हामीले सुविधा पाएका छौँ, आयोजनाको नाममा ठेकेदार मोटाउने मात्र काम भयो ।’

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully