कर्णालीमा शुक्रबारदेखि दुई दिने युवा महोत्सव 

माघ ९, २०८१

तृप्ति शाही

A two-day youth festival in Karnali from Friday

वीरेन्द्रनगर — कर्णालीमा यही शुक्रबार दुई दिने युवा महोत्सव सुरु हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिटी हलमा माघ ११ र १२ गते युवा महोत्सव (यूथ फेस्टिभल) हुने भएको हो ।

युवाहरुमा आशा जागृत गराउने उद्देश्यले महोत्सव गर्न लागेको महोत्सवका संयोजक हिमाल विष्टले बताए । 

कार्यक्रमका प्रमुख सल्लाहकार भूपेन्द्रजंग शाहीले फेस्टिभलले कर्णालीका युवाहरुको सशक्तीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार महोत्सव स्थानीय, कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, युवा नवप्रवर्तन र कला सीप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति लगायतका विभिन्न विषयमा केन्द्रित रहने छ । 

युवाका विचार, सम्भावना र युवालाई सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गर्न लागिएको शाहीको भनाइ छ । 

कार्यक्रममा कर्णाली प्रदेशदेखि देशलाई विशिष्ट योगदान गरेका युवा व्यक्तित्व, सामाजिक व्यक्तित्वलगायत स्थानीय कर्णालीका प्रतिभाशाली युवाहरूको उपस्थिति रहने छ ।

परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा ५ हजार युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully