जुम्ला — अर्गानिक जडीबुटीबाट बनेको हिमाली जडीबुटी चिया आन्तरिक तथा बाहृय पर्यटकको रोजाइमा पर्न थालेको छ । मुगुको रारा घुमेर जुम्लाको चन्दननाथ मन्दिरको दर्शन गर्न आउने अधिकांश पर्यटकहरूले हिमाली जडीबुटी चियाको पाकेट खरिद गरेर लैजाने गरेको चन्दननाथ मिनी मार्केट जुम्लाका लेखा प्रमुख राजु बोहोराले जानकारी दिए ।
‘यो चियामा औषधीय गुणपनि भएको र स्वादिलो पनि हुने भएकोले पर्यटकहरूले लैजाने गर्छन्,' उनले भने । अधिकांश पर्यटकहरूले फोन गरेर अर्डर समेत टिपाउने गर्छन् । उनीहरूको ठेगानामा पुग्ने गरेर चिया पठाउने काम भइरहेको लेखा प्रमुख बोहोरा बताउँछन् ।
मिनि मार्केटले मात्रै वर्षमा ५ देखि ८ लाख रुपैयाँसम्मको हिमाली जडीबुटी चिया बेच्ने गरेको छ । यो चियामा तुमालो, अत्तिस, बायोजडी, गुच्ची च्याउ, गन्धाइनो, लौठ सल्ला, पदमचाल, सिलाजीत, सुनकाउली र यार्सागुम्बा मिसाइएको छ । गुठिचौर गाउँपालिका-५ स्थित देपालगाउँमा बन्ने यो चियाको बजार बढ्दै गएको छ ।
'चियाको माग बढिरहेको छ । उद्योगले उत्पादन गरिरहेको छ,' उनले भने, ‘जडीबुटी चिया सेवन गर्दा हुने फाइदाको बारेमा बुझाउन नसक्दा समस्या देखिएको छ ।’ जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरूमा जडीबुटी चियाको प्रयोग भइरहेको छ ।
देपालगाउँमा शान्ति हिमाली अर्गानिक चिया मसला उद्योग स्थापना गरेर चियाको उत्पादन, प्रशोधन र प्याकेजिङको काम भइरहेको छ । उद्योगले वर्षमा १० लाख रुपैयाँ भन्दा बढीको चिया उत्पादन गर्दै आएको उद्योग सञ्चालक बिर्खबहादुर नेपालीले जानकारी दिए । उनले भने, ‘बजारमा चियाको माग अधिक छ । तर पुर्याउन सकिएको छैन ।’
बिर्खबहादुरले सदरमुकामका कोशेली घरहरूमा प्रतिपाकेट १ सय रुपैयाँमा चिया उपलब्ध गराइरहेका छन् । कोशेली घरहरूले एक सय ५० मा बेच्छन् । असोज,कात्तिक र मंसिर महिनामा हिमाली जडीबुटी चियाको माग धेरै आउने गरेको उनको भनाइ छ ।
चन्दननाथ मिनी मार्केटका लेखा प्रमुख बोहोराले दुई लाख रुपैयाँभन्दा बढीको हिमाली जडीबुटी चिया जिल्लाबाहिर पठाउने गरेको बताए । एक पटक जुम्ला पुगेर जडीबुटी चिया किनेर लगेकाहरूले नै मगाउने गरेका छन् । उनका अनुसार सुर्खेत, नेपालगञ्ज, काठमाडौं, चितवन, बुटवलसम्म यो चिया पठाउने गरिएको छ ।
उद्योग सञ्चालक बिर्खबहादुरले चिया बनाउनकै लागि जडीबुटी बगैंचा समेत बनाएका छन् । उनले भने, ‘हिमाली जडीबुटी चिया स्वास्थ्यका लागि पनि उत्तम छ । जडीबुटीको मिसावट भएकोले औषधीय तत्व पनि मिल्छ ।’
हिमाली जडीबुटी चियाको सेवनले ग्याष्ट्रिक, दम, रूघाखोकी, घाँटी दुख्ने, गोला अपच, कब्जियत, वाथ, युरिक एसिड, जिउ दुख्ने, नसा दुख्ने र जोर्नी दुख्ने तथा ब्लड प्रेसर रोगलाई कम गर्नुका साथै आँखालाई तेजिलो बनाउने विज्ञहरूको भनाइ छ ।
जुम्लाका पाटनहरूमा सबै जडीबुटीहरू पाइने भएकोले हरेक पालिकामा हिमाली जडीबुटी चिया उद्योग स्थापनामा जोड दिनुपर्ने व्यवसायीहरूको माग छ ।
