सुर्खेत — सुर्खेतबाट संघीय राजधानी काठमाडौंसम्मको ६ सय किमि दूरीका लागि सार्वजनिक सवारीसाधनको एकतर्फी भाडा २ हजार ५ सय रुपैयाँ तोकिएको छ । तर सुर्खेतबाट हुम्ला जान ३ सय ३४ किमि यात्रा गर्दा भाडा मात्रै साढे ६ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।
सुर्खेत–हुम्लाका लागि ३ खण्डमा यातायातका साधन सञ्चालन भइरहेका छन् । कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला)अन्तर्गत कालीकोटको खुलालुबाट कर्णाली करिडोरअन्तर्गतको खुलालु–सीमकोट सडक जोडिन्छ । जसको दूरी १ सय ३८ किलोमिटर छ । त्यहाँसम्म ८ वर्षअघि ओटासिल प्रविधिको कालोपत्र गरिएको थियो । तर अधिकांश कालोपत्र उप्किएको छ ।
खुलालुबाट हुम्ला सदरमुकाम सीमकोटसम्मको १ सय ९६ किलोमिटर छ । भर्खरै सडक खोलिएकाले कष्टकर यात्रा गर्नु परिरहेको स्थानीय कमल रोकायाले बताए । ‘कष्टकर र सास्तीपूर्ण यात्रा, त्यसमा पनि महँगो भाडा,’ उनले भने, ‘एक दिन बास बसेर सुर्खेत आउजाउ गर्दा कम्तीमा २० हजार रुपैयाँ छुट्याउनुपर्ने बाध्यता छ ।’
सुर्खेतबाट सिमकोट जाँदा सुर्खेत–खुलालु–सर्केगाडसम्मको सडकमा ठूला गाडी चल्छन् । जसको भाडा ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । त्यसभन्दा माथि भने साना जिप मात्र सञ्चालन भइरहेको स्थानीय मेगराज रोकायले बताए । उनका अनुसार सर्केगाडदेखि खार्पुनाथसम्म करिब ५० किलोमिटर दूरीमा १ हजार ५ सयदेखि २ हजार र खार्पुनाथदेखि सीमकोटसम्म १२ किलोमिटर दूरीमा ७ सयदेखि १ हजार रुपैयाँसम्म भाडा तिर्नुपर्ने बाध्यता छ ।
‘सर्केगाडभन्दा उता बस चले भाडा कम हुने थियो, खार्पुमा पुल बने सुर्खेतदेखि सोझै सीमकोटसम्म यात्रा गर्न पाइन्थ्यो,’ उनले भने, ‘कष्टकर र जोखिमपूर्ण यात्रा गरेर गन्तव्यमा पुग्नु परिरहेको छ, त्यसमा पनि गाडी व्यवसायीको व्यवहार र ठाउँठाउँमा गाडी चढ्नु र झर्नुपर्ने बाध्यताले आजित बनाउँछ ।’ उनका अनुसार ठूला गाडी कहिलेकाँही बाजुराको पिलुचौरबाट माथि जान मान्दैनन् । ठूला गाडी नगए पिलुचौरदेखि सर्केगाडसम्म जिपले २ हजार ५ सय भाडा लिने गरेको उनले गुनासो गरे ।
गत चैत अन्तिम साता सीमकोटसम्म सडकको ट्रयाक खुले पनि खार्पुनाथ गाउँपालिकास्थित चुवाखोलास्थित कर्णाली नदीमा पुल नबन्दा हुम्ला सदरमुकाम अझै राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन । पुल नबन्दा सीमकोटतर्फको १२ किलोमिटर सडक अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । २०७८ असोज १४ गते नदीमा पुल निर्माणका लागि झण्डै ११ करोड बजेटमा स्वच्छन्द/माउन्ट/पुमरी जेभीले सम्झौता गरेको थियो । तर पुल निर्माणको स्टमेट परिवर्तन गर्नुपर्ने देखिएपछि पुल निर्माणको काम अलपत्र परेको कर्णाली करिडोरका निमित्त योजना प्रमुख वीरेन्द्रबहादुर चन्दले बताए ।
बाजुराको पिलुचौरदेखि हुम्लाको सर्केगाडसम्म भने सडक साँघुरो हुँदा ठूला सवारीसाधन नचल्ने गरेका हुन् । ‘डबल क्याप जिपले १० जनासम्म यात्रु कोचाकोच गरेर लैजान्छन्, यात्रु नपुगे गाडी हिँडाउँदैनन्, ठूला गाडी चले जोखिम कम हुन्थ्यो,’ सीमकोट–५ का दुर्गाबहादुर बुढाले भने, ‘सडक गतिलो नहुँदा बिरामी, महिला र वृद्धवृद्धालाई बाहिर जान जहाजको विकल्प छैन ।’
कर्णाली करिडोरअन्तर्गत कालीकोटमा ४०, बाजुरामा ४३ र हुम्लामा १ सय १३ किलोमिटर सडक जोडिएको छ । जिपहरूले टिकट नै नदिएर कोचाकोच गरेर गाडी चढाउने गरेको सीमकोट—३ का गंगाराम विकले बताए । ‘जिपहरूले रिजर्ब सरहकै पैसा लिन्छन्, महँगो भाडाले विपन्न नागरिक मारमा परेका छौं,’ उनले भने, ‘समितिहरूको सिन्डिकेटले बस भाडा पनि महँगो भयो ।’
सुर्खेतदेखि हिँडेका गाडीले ३६ घण्टासम्म लगाउने गरेकाले यात्रा कष्टकर र पट्यारलाग्दो भएको खार्पुनाथ—३ का परमल बुढाले बताए । उनका अनुसार केही गाडीले बीचबाटोमा बास बसाउँछन् भने अधिकांश गाडीमा दिनरात यात्रा गर्नुपर्ने बाध्यता छ । उनले सुर्खेत पुग्दासम्म बाटोमा ३ छाकसम्म खाना खानुपर्ने बताए ।
‘हिउँदमा पनि कठिन भूगोलमा बनाइएको सडकमा कतिबेला दुर्घटना हुने हो भन्ने डरैडरमा यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसमा पनि ठाउँठाउँमा गाडी फेर्नुपर्ने सास्ती उस्तै, झन् व्यवसायीले मनोमानी भाडा असुल्दा हामी ठूलो मारमा छौं ।’
कर्णाली नदीसहित झण्डै ५ खोलामा पुल बने सीमकोटसम्मको यातायात नियमित भइ यात्रा सहज हुने र दैनिक उपभोग्य बस्तुको मूल्य ४ गुणा घट्ने स्थानीय व्यवसायी सुन्दुक लामाले बताए । ‘ठाउँठाउँमा यातायातका साधन फेर्नुपर्दा ढुवानी भाडा महँगो हुन गएको छ,’ उनले भने, ‘बीचबीचमा सामान पल्टी गर्नुपर्ने, भरिया नपाइने, समान चोरी हुनेलगायत समस्याले गाडी पुगे पनि उपभोग्य बस्तुको मूल्य खासै घट्न नसकेको हो ।’
साना गाडीले एकै दिनमा सर्केघाटदेखि सुर्खेत पुर्याउँछन् भने ठूला गाडी बाजुराको पिलु, कालीकोट र दैलेखको सिमाना खिड्कीजुलामा बास बस्ने गरेका छन् । सिमकोटदेखि सुर्खेतसम्म ३६ घण्टासम्म लगाउने गरेका छन् । अहिले कर्णाली नदीमा केही समयका लागि बेलिब्रिज जडान गर्नेबारे छलफल चलिरहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
‘हिउँदमा पनि नदीको बहाब उच्च भएकाले साना सवारी तर्न जोखिम छ,’ उनले भने, ‘त्यसैले पक्की पुल नबन्दासम्म बेलिब्रिज बनाउनेबारे पहल थालिएको छ ।’ हुम्लामा छायानाथरारा, खार्पुनाथ, देउती र कार्तिकस्वामी यातायात प्रालिले यातायातका साधन सञ्चालन गर्दै आइरहेका छन् । ती प्रालिमार्फत झण्डै २५ गाडी सञ्चालन भइरहेका छन् ।
सडकको रुट परमिट नभएकाले सुर्खेत—खुलालु—हुम्लासम्मको भाडादर नियमन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । ‘पहिले गाडीमा सिन्डिकेट थियो, अहिले हाम्रै पहलमा सिन्डिकेट हटेको छ,’ उनले भने, ‘खण्ड खण्डमा यातायात चल्दा पनि भाडामा समस्या भयो ।
