सल्यान — कृषि उपज बजार केन्द्र कपुरकोटले कपुरकोटमा कोसेली घर संचालनमा ल्याएको छ । स्थानीय स्तरमा किसानले उत्पादन गरेका सामग्रीलाई बजार व्यवस्थापन गर्न कृषि उपज बजार केन्द्र कपुरकोटले कोसेली घर संचालनमा ल्याएको हो ।
कोसेली घर स्थापनापछि स्थानीय किसानले उत्पादन गरेका बाँस, निगालोका सामग्री, स्थानीयस्तरमा उत्पादित जुस, अचार, अदुवा केन्डी, खेलौना, काठका सामग्री बिक्री गर्न सहज भएको छ । विगतमा उत्पादित सामग्री बिक्री गर्न दाङ, बर्दिया, नेपालगन्ज, सल्यानको खलंगासम्म पुग्ने किसानलाई अब त्यति टाढा जान नपर्ने भएको छ ।
पालिकाभित्रका किसानले उत्पादन गरेका सामग्री घरमै थन्क्याएर राख्नु पर्ने बाध्यताको अन्त्य गर्नु र स्थानीय किसानलाई व्यवसायमा उन्मुख गराउन कपुरकोट गाउँपालिकाको सहयोगमा कोसेली घर संचालनमा ल्याएको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष तिलकराज शर्माले बताए ।
‘पालिकाभित्रका किसानले उत्पादन गरेका बाँस निगालोका सामग्री, गुराँसको जुस, अचारजस्ता सामग्री प्रचारप्रसारको अभावमा बिक्री गर्न समस्या थियो,’ उनले भने, ‘बिक्री गर्नका लागि किसानहरू बजार खोज्दै हिँड्न बाध्य हुनुपर्थ्यो । अब किसानले उत्पादन गरेका सामग्री सिधै कोसेली घरमा लगेर बिक्री गर्न पाउनेछन् ।’
हातमा सीप भएकालाई व्यवसायतर्फ उन्मुख गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ कपुरकोट बजारमा कोसेली घर संचालनमा ल्याइएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । कोसेली घरको संरक्षणको जिम्मेवारी पालिकाको रहेको उनले जानकारी गराए ।
रिमका किसान पुर्भाणसिंह पुनले कोसेली घर संचालनमा आएपछि उत्पादित सामग्री बिक्री गर्न समस्या नभएको बताए । उत्पादित सामग्री बिक्री गरिदिएबापत केही रकम कोसेली घर संचालनमा बसेका एक कर्मचारीलाई दिने सहमति पनि भएको उनको भनाइ छ ।
