हृदयघातबाट प्रशासन सहायकको मृत्यु

पुस २१, २०८१

तुलाराम पाण्डे

Administration Assistant dies of heart attack

कालिकोट — हृदयघातबाट महाबै गाउँपालिका-३ का प्रशासन सहायक केशरबहादुर सिंहको मृत्यु भएको छ । महाबै-४ डिल्लीकोट नाईकस्थित घरमा बिहान सवा ११ बजे हृदयघातबाट सिंहको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर शाहीले बताए ।

'खाना खाएर खोकीको औषधि खानु भएको थियो,' घटनाबारे वडाध्यक्ष शाहीले भने, 'एक्कासी मुटु दुख्यो भनेर पल्टिँनेबित्तिकै मृत्यु भयो ।'

२०५८ देखि साबिकको ओदानकु गाविस सचिव हुँदै ३ महिना अघिसम्म वडा नं ३ को वडासचिव रहेका ३७ वर्षीय सिंह लोकसेवाबाट स्थायी वडा सचिव आएपछि प्रशासन सहायकको रूपमा सोही वडामा काम गर्दै आएका थिए ।

महाबै गाउँपालिकाको अनुभवी कर्मचारीको मृत्युले गाउँ शोकाकूल भएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । उनको आजै पोस्टमार्टमको तयारी भइरहेको छ । सिंहका पत्नी, १ छोरा र दुई छोरी छन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully