अत्यधिक चिसोले हिमाली बस्ती सुनसान

हिमपातले आउजाउ बन्द, कर्णालीमा तेस्रोपल्ट हिमपात

पुस १४, २०८१

कृष्णप्रसाद गौतम

The Himalayan settlement is deserted due to extreme cold

सुर्खेत — मुगुको मुगुमकार्मारोङ गाउँपालिका-१ मुगुगाउँका टासी लामा कात्तिक दोस्रो साता नै ८ जनाको परिवारसहित सुर्खेत झरे । उनी बर्सेनि हिमपात सुरु हुनुअघि नै झण्डै ५ महिनाका लागि सुर्खेत झर्छन् । ‘बाक्लो हिउँले गाउँमा बस्नै सकिदैन,’ तामाङले भन्छन्, ‘हिउँदभरि औलमा बस्छौं, चैत–बैशाखमाहिउँ बिलाएपछि मात्र गाउँ फर्कन्छौं ।’ शनिबार उनको गाउँमा झण्डै ३ फिट हिउँ जमेको थियो ।

हुम्लाको नाम्खागाउँपालिका-६ लिमीका छिरिङ तामाङ पनि ६ जनाको परिवारसहित मंसिर पहिलो साता नै सुर्खेत आए । उनी हिउँदयाममा सुर्खेत र नेपालगन्जमा राडीपाखी र भेडाका ऊनको व्यापार गर्छन् ।

‘शुक्रबार साँझदेखि लगातार हिउँ परिरहेको जानकारी आयो,’ गुम्बाका पुजारीमार्फत गाउँको हालखबर बुझ्दै आएका उनले भने, ‘अबनारा र न्यालु लेकको हिउँ नबिलाउँदासम्म गाउँ फर्कदैनौँ ।’ झण्डै ५ हजार मिटर उचाइका २ वटा लेकमा बाक्लो हिउँ जमेपछि गाउँ जाने बाटो नै बन्द भएको उनले बताए ।

हुम्ला र मुगुमा यो वर्ष तीनपल्ट हिमपात भइसकेको छ । अहिले मुगुगाउँ र लिमीमा गुम्बाका पुजारी मात्र छन् । स्थानीयले थातथलो छोडेपछि मुगुस्थित मुगमकार्मारोङका चितै, डोल्फू, किम्री, ताखा, खारीलगायत गाउँहरु सुनसान छन् ।

बर्सेनि हिमपात सुरु नहुँदै स्थानीयहरु बेँसीतिर बसाइँ सरेपछि झण्डै ६ महिनाका लागि नाम्खा गाउँपालिका नै सुनसान हुने गरेको छ । जसका कारण विकास निर्माणका काम ठप्प छन् भने विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र प्रहरी चौकी पनि चिसोका कारण बिस्थापित भइसकेका छन् ।

स्थानीयले झण्डै ६ महिना गाउँ छोड्ने भएकाले विकास निर्माण र सार्वजनिक सेवाप्रवाहका काम ठप्प भएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘६ महिना विकासका काम नहुँदा पालिकाको पुरै बजेट जेठ/असारमा सकाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘बजेट छुट्याएको सबैजसो योजनामा रकम फ्रिज गइरहेको छ ।'

गाउँपालिकाले यो वर्ष करिब ३२ करोड बजेट छुट्याएको छ । विगत ३ वर्षमा झण्डै १२ करोड रकम फ्रिज भएको गाउँपालिकाको तथ्यांक छ । गाउँपालिकामा यो वर्ष करिब डेढ सय योजनामा रकम छुट्याइएको भए पनि अहिलेसम्म विकास खर्च एक रुपैयाँ पनि खर्च भएको छैन ।

The Himalayan settlement is deserted due to extreme cold

हिमपात भएपछि नेपाल-चीन सीमास्थित हिल्सा नाका पनि बन्द भएको छ । हिल्सामा अहिले झण्डै ३ फिट हिउँ जमेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । उनकाअनुसार अहिले हिल्सामा केही होटल कुरुवामात्र छन् । हिल्सामा पर्यटकीय महत्वका झण्डै ३५ होटल भए पनि हिमपातअघि नै होटल सञ्चालकहरु वेंसी झरिसकेका छन् ।

हिल्सामा अहिले सशस्त्र प्रहरी बिओपी र नेपाल प्रहरीको प्रहरी चौकीका सुरक्षाकर्मीले सीमाक्षेत्रको सुरक्षा गरिरहेका छन् । ‘माथिल्लो भेगका केही विद्यालयहरु पनि बन्द छन् भने गाउँहरु मानवविहीन छन्,’ उनले भने, ‘शनिबार साॅझसम्म हिमपात जारी छ, यहाॅ (सदरमुकाम) आसपासका क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ, हिमपातले जनजीवन कष्टकर बने पनि किसानहरु बाली सप्रने भन्दै खुसी भएका छन् ।’

उनकाअनुसार हिमपातका कारण शनिबारदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाइ सेवा अवरुद्ध भएको छ । स्थानीयहरु आगो तापेर घरभित्रै बसिरहेको उनले जानकारी दिए । अवस्था सामान्य हुन कम्तीमा एक हप्ता लाग्ने उनको भनाइ छ ।

हिमाली बस्तीका बासिन्दाले हिमपातलाई ‘सुविकाल’को रुपमा लिने गरेका छन् । ‘यो वर्ष छिट्टै जग्गाजमीनलाई पुग्नेगरी हिउँ पर्‍यो,’ हुम्लास्थित सिमकोट गाउँपालिका-७ का प्रेमबहादुर रोकायाले भने, ‘हिउँले जेठासी बालीगहुँ, जौंदेखि कात्तिके बाली कोदो कागुनो, चिनो, पाखेधानसम्मलाई फाइदा पुर्‍याउने देखियो ।’

The Himalayan settlement is deserted due to extreme cold

बाक्लो हिउँ परेको वर्ष खोला र मुहानमापानी बढ्ने भएकाले सुविकाल हुने उनी बताउँछन् । उनले पर्याप्त हिमपात भए वर्षभरि नै पानीका मुहान नसुक्ने उनले बताए । उनका अनुसार हिमपात र पर्याप्त वर्षा भएको वर्ष अन्नबालीमा लाग्ने रोग किरा नास हुने विश्वास छ । उनकाअनुसार हिउँ नपरेको वर्ष अधिकांश बस्तीमा उत्पादन नहुँदा बाहिरको चामलको भर पर्नुपर्ने बाध्यता छ ।

कर्णालीको पर्यटकीय गन्तव्य राराताल र फोक्सुण्डो तालमा पनि तेस्रोपल्ट हिमपात भएको छ । ‘रुखको पालुवा पलाउने र फूलफूल्ने समयमा हिमपात हुनु सुखद हो, हिमपातका कारण रारा क्षेत्र मनमोहक देखिएको छ, अब रारामा हिउँ खेल्न आउने पर्यटक बढ्ने आशा छ,’ रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले भने, ‘हिमपातपछि आसपासका क्षेत्रमा स्याउ र अन्नबालीको उत्पादन बढ्ने अपेक्षा छ ।’

शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले हिमपातले फोक्सुण्डोको सौन्दर्यता बढाएको र थप पर्यटकको पर्खाइमा रहेको बताए । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully