पाकेका सुन्तलामा ध्वाँसे रोग

पुस १४, २०८१

विप्लव महर्जन

Blight disease on ripe oranges

सल्यान — छत्रेश्वरी गाउँपालिका–२ दहखोलाका किसानको बारीमा पाकेका सुन्तलामा ध्वाँसे रोगले क्षति पुर्‍याएको छ । रोग नियन्त्रणको प्रयास नहुँदा झण्डै एक रोपनीका सुन्तलाका बोट तथा पाकेका फलमा रोग देखिएको हो ।

रोगका कारण सुन्तलाका पात सुक्ने र झर्दै गएका छन् भने पाकेका दाना काला भइरहेका छन् । सहजै बिक्री र राम्रो आम्दानी हुन थालेपछि अन्नबाली छाडेर दहखोलाका किसानले ५ सय बढी रोपनी जग्गामा सुन्तला खेती गरेर वर्षमा एक करोड रुपैयाँ बढीको कारोबार गर्दै आएका छन् । रोग नियन्त्रणमा आउने भन्दा फैलिँदै गएको र पाकेका सुन्तला खरिदकर्ताले लिन नमानेपछि किसान चिन्तित भएका छन् ।

गत असोज पहिलो सातातिर देखिएको ध्वाँसे रोगका कारण आफ्ना तीनवटा बगैंचाका ३ सय सुन्तलाका बोट प्रभावित भएको स्थानीय टोपेन्द्र डाँगीले बताए । रोगले पाकेका फल र बोटका पात सुक्दै गएको उनले बताए । ‘बगैंचामा सुन्तला पाकेर पहेंलपुर भएपछि दैनिक एक/दुई जना बाहिरका खरिदकर्ता आएर ६० रुपैयाँ किलो सुन्तला लगिरहेका छन् । ध्वाँसे रोग लागेको सुन्तला कसैले लिन चाहेका छैनन् । धेरै सुन्तला त्यत्तिकै खेर गएका छन्,’ उनले भने । खरिदकर्ताले लिन नमानेपछि झन्डै ४ लाख घाटा भएको उनको भनाइ छ ।

१५ रोपनी जग्गामा लगाएको ३ सय सुन्तलामध्ये एक सयभन्दा बढी बोट ध्वाँसे रोगले सखाप बनाउन थालेको दहखोलाकै आतिराम विकले बताए । विषादी प्रयोग गरे पनि रोगले बोट नै मर्न थालेको उनले बताए । ‘बोटमा सुन्तला पहेंलै भएको देखिन्छ । पहेंलो बाहिरबाट कालै छायाँ बसेको सुन्तला चाम्रिंदै गएको छ । पानीले पखाल्दा समेत कालो गएन,’ उनले भने, ‘गत वर्षसम्म २ लाख बढीको बिक्री गरेको थिएँ । यसपालि रोगका कारण त्यत्तिकै खेर गयो ।’

अर्का किसान चित्रबहादुर केसीले गत वर्षदेखि आफ्नो बगैंचामा भएको सुन्तलामा ध्वाँसे रोग देखिएको र विषादी तथा औषधि प्रयोग गरे पनि पूर्ण रूपमा निर्मूल नभएको बताए । अहिले पनि ३०/३५ बोट ध्वाँसे रोगबाट प्रभावित भएको र रोगका कारण खरिदकर्ताले किन्न नमानेको उनले बताए । ‘खाद्यबाली लगाएर वर्षभरि खान नपुग्ने भएपछि सुन्तला खेतीमा लागेको थिएँ । बगैंचामा भएका ३ सय बढी बोटबाट ४/५ लाख आम्दानी हुने गर्थ्यो,’ उनले भने, ‘यसपालि त गोडमेल गर्दा लागेको खर्चसमेत उठाउन गाह्रो भयो । २ लाख बढी घाटा भएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।’

सुन्तला खेती गरेर सजिलै घर खर्च चलाउँदै आएकी स्थानीय सीता केसीले ध्वाँसे रोग फैलिँदै गएका कारण व्यवसाय नै धरापमा पर्ने देखिएको बताइन् । कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले वर्षातको समयमा दहखोलामा ध्वाँसे रोग देखिएपछि नियन्त्रणका लागि किसानलाई विषादी, चुन उपलब्ध गराए पनि किसानले बेवास्ता गर्दा पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको बताए । रोग निदानका लागि समयमै विषादी प्रयोग गर्न उनले किसानलाई आग्रह गरेका छन् ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully