भारतमा अलपत्र १३ जना जुम्लावासीको उद्धार

पुस १३, २०८१

डीबी बुढा

Rescue of 13 stranded twins in India

जुम्ला — कामको सिलसिलामा भारत गएका जुम्ला चन्दननाथ नगरपालिका–७ मिचा गाउँका १३ जनाको उद्धार गरिएको छ । आफूहरू भारतमा अलपत्र परेको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि उनीहरूको उद्धार भएको हो । भारतको अरुणाचलमा अलपत्र परेका उनीहरूको शनिबार उद्धार गरिएको हो ।

काम लगाइदिने भन्दै उनीहरूलाई लैजाने व्यक्तिले नै धोका दिएपछि आफूहरू अलपत्र परेको उनीहरूले सामाजिक सञ्जालमा लेखेका थिए । 

जुम्लाकी प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु तामाङले ८० हजार, मिचा गाउँका शैलेन्द्र केसीले ४५ हजार र कर्साङ ठकुरीले १६ हजार रुपैयाँ पठाइदिएपछि उनीहरूको सकुशल उद्धार भएको हो । अहिले उनीहरू नेपाल फर्किने तयारीमा रहेको सांसद तामाङले बताइन् । 

‘एक निर्माण व्यवसायीले दार्जिलिङमा काममा लगाइदिने भन्दै लिएर गएका रहेछन्,’ सांसद लामाले भनिन्, ‘भारतको अरुणाचलमा लगेर अलपत्र छोडेछन् । अनि उनीहरूको बिचल्ली भएको रहेछ ।’ आफूले रकम पठाएपछि उनीहरू नेपाल फर्किन लागेको उनले बताइन् । 

चन्दननाथ–७ का रामचन्द्र नेपालीका अनुसार कलिमान सार्की, हरि कामी, दत्त सार्की, रत्न सार्की, रमेश सार्की लगायत व्यक्ति अलपत्र परेका हुन् । 

अलपत्र परेकाहरू आइतबार मात्रै काँकडभिट्टा आइपुग्ने छन् । अहिले टोलीको साथमा जुम्लाकै महेशजंग शाही छन् । उनले नै अलपत्र परेको रेखदेख गरिरहेका आफन्तहरूले बताएका छन् ।

मिचा गाउँका भीम कसिंगरले अलपत्र नागरिकको उद्धार सुरु भएको बताए । ‘अधिकांश मान्छे चिसो छल्ने भन्दै नेपालगन्ज गएका थिए,’ उनले भने, ‘उनीहरूलाई काममा लगाइदिने भन्दै भारत पुर्‍याएर अलपत्र पारेछन् ।’

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully