कर्णालीको जडीबुटीलगायत अर्गानिक उत्पादनलाई लुम्बिनीको बजारसम्म पुर्याइने, लुम्बिनीको खाद्यानलाई कर्णालीसम्म ल्याउने
वीरेन्द्रनगर — प्रदेशको विकास र समृद्विको लागि कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच सहमति भएको छ । शुक्रबार एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच १९ बुँदे साझा प्रतिबद्धतामा सहमति भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीमा भएको सहमतिमा प्रदेशबाट तर्जुमा हुने र भएका कानुनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरूपता कायम गर्ने कुरा समेटिएको छ । यस्तै प्रदेश कानुनबमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरूपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट संकलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने,राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने सहमति गरिएको छ ।
दुई मुख्यमन्त्रीबीच भएको सहमतिमा अन्तर–प्रदेश आबद्ध भएका जमुनाह–हिल्सा सडक,सुर्खेत–तेलपानी–भुरीगाउँ सडक,राप्ती लोकमार्ग निर्माण,कोहलपुर–सुर्खेत सडक विस्तार, कोहलपुर–बबई तथा बबई–छिन्चु सुरूङमार्ग सम्भाव्यता अध्ययन सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने साझा प्रतिबद्वता गरिएको छ । लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने,भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, कोहलपुर–सुर्खेत १३२ के.भी.ए. प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने, दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने,विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढङ्गबाट कार्य गर्ने कुरा पनि दुई प्रदेशबीच भएको साझा प्रतिबद्धतामा समेटिएको छ ।
लागूऔषध ओसारपसार प्रभावकारी रूपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने,लुम्बिनीमा आउने धार्मिक पर्यटकहरूलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने, दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने,दुवै प्रदेशको सिमानामा रहेका नदीनालाहरूमा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी तथा सिंचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने,प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारहरूको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने,बर्दिया जिल्लाको बाँसगढी नगरपालिका-१ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका-५ को साँध सिमानाको विवाद प्रचलित कानुन र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने कुरा पनि साझा प्रतिबद्धतामा भनिएको छ ।
दुवै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रूपमा निर्धारण गर्ने र सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षणलगायतका कार्यक्रम सञ्चालन गर्ने,कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्मको पहुँच एवं लुम्बिनी प्रदेशको खाद्यान्न लगायतका कृषि उत्पादनको प्रवर्द्धन गर्दै कर्णाली प्रदेशका बजार केन्द्रहरूसम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने,दुवै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवर्द्धनको लागि सूचना प्रविधिको माध्यमबाट सेवाप्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने,दुवै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवर्द्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिँदै आगामी बैठक लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने सहमति पनि दुई प्रदेशबीच भएको छ ।
सहमतिपछि साझा गरिएका कुराहरूमा एकसाथ अघि बढ्ने कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले बताए । प्रदेशका आफ्ना र साझा दुवै कुरा भएकाले साझा सवाललाई मिलेर र आफ्नो प्रदेशका विषयवस्तुलाई आफ्नो तरिकाले अघि बढाउने बताए । साझा सवाललाई दुवै सरकारले बजेटमा समेटेर काम गर्ने योजना रहेको उनले सुनाए । लुम्बिनीका मुख्यमन्त्री आचार्यले साझा गरिएका बुँदा कार्यान्वयन गर्नकै लागि भएका बताए ।
