वीरेन्द्रनगर — जुम्लाको चन्दननाथ नगरपालिका–९ का कृषक रतन रावत स्याउ, तरकारीसँगै धान खेती पनि गर्दै आएका छन् । सुरुमा धान खेती मात्र गर्दै आएका उनले स्याउ, तरकारी खेती धेरैपछिबाट सुरु गरेका हुन् । उनले अहिले धान खेतीलाई कम र स्याउ र तरकारी खेतीलाई बढाउँदै लगेका छन् । ४ वर्षअघिसम्म १० कट्ठा जमिनमा धान खेती गर्दै आएका उनले अहिले घटाएर ६ कट्ठामा झारेका छन् ।
‘पहिले सबै खेतमा धान लगाउँदै आएको थिएँ । अहिले स्याउ बगैंचालाई विस्तार गरेपछि स्याउको नर्सरीका लागि धान लगाउँदै आएको खेत प्रयोग गरियो,’ उनले भने । उनले खेत थप पनि गरेका छन् । तर थपेको खेत धानका लागि नभएर स्याउ र अन्य तरकारी खेतीका लागि हो ।
यसरी धान खेतीलाई घटाउँदै अन्य खेती गर्ने रतन मात्र एक्ला हैनन् । उनकै गाउँका अर्का कृषक खड्क बुढाले पनि केही वर्षअघिभन्दा अहिले धान खेती गर्ने जमिन घटाएका छन् । पहिलेको तुलनामा अहिले ठ्याक्कै आधा धान खेती गर्ने जमिन घटाएको उनी बताउँछन् । ३ वर्षअघिसम्म ३० बोरा बढी धान उत्पादन गर्ने उनी अहिले घटेर १५ बोरा मात्र उत्पादन भइरहेको बताउँछन् । स्याउ, स्याउको बेर्ना र तरकारीबाट आम्दानी धेरै हुन थालेपछि धान खेती गर्ने जमिन घटाएको उनले सुनाए । पहिले धान खेती किसानहरू अहिले स्याउ र तरकारी खेतीतर्फ लागेको उनले बताए ।
स्याउको बजार राम्रो भएपछि स्याउ खेतीलाइ विस्तार गरेको रतनको भनाइ छ । धान खेती घटाउने उद्देश्य नभए पनि स्याउबाट राम्रो आम्दानी हुने भएपछि स्याउ बढी र धान कम लगाउने गरेको उनले बताए । २/४ वर्षयता धानमा विभिन्न रोग देखिएर उत्पादन घट्दै गएपछि किसानहरूले धान खेती घटाउँदै गएका उनको भनाइ छ । ‘पछिल्लो समय तरकारी खेतीतर्फ कृषकहरू आकर्षित भएका छन्,’ उनले भने, ‘तरकारी लगाएपछि आफूलाई पनि खान मिल्ने र आम्दानी पनि धानले भन्दा धेरै गर्न थालेपछि तरकारी खेतीतर्फ लागेका हुन् । तरकारीको बीउ उत्पादनमा पनि किसानको जोड छ । स्याउ खेतीमा पनि किसानहरू लागिरहेका छन् ।’
पछिल्लो समय कर्णालीमा धान उत्पादन घट्दै गएको तथ्यांकले पनि प्रमाणित गर्छ । गत वर्षभन्दा यो वर्ष कर्णालीमा कम धान उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार ७ सय ६३ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकामा १ लाख २३ हजार ७ सय ९५ मेट्रिक धान उत्पादन भएको छ । गत वर्ष १ लाख २४ हजार ९ सय ६९ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष १ हजार १ सय ७४ मेट्रिक टन कम धान उत्पादन भएको छ ।
कर्णालीका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिममा बढी धान उत्पादन हुन्छ । त्यसपछि धान उत्पादन हुने जिल्लामा जाजरकोट, जुम्ला, कालिकोट छन् । यहाँका हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु धेरै कम मात्र धान उत्पादन हुन्छ । यस वर्ष सुर्खेत जिल्लामा सबैभन्दा बढी धान उत्पादन भएको छ ।
सुर्खेतमा ५२ हजार ९ सय ४ मेट्रिक टन धान उत्पादन भयो । दैलेखमा २५ हजार १ सय २०, सल्यानमा २३ हजार ६ सय ३० मेट्रिक टन धान उत्पादन भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यस वर्ष सबैभन्दा कम धान उत्पादन हुने जिल्ला डोल्पा हो । डोल्पामा ३ सय ५० मेट्रिक टन मात्र धान उत्पादन भएको छ । त्यसपछि मुगुमा ९ सय ७५ मेट्रिक टन धान उत्पादन भयो ।
विगत ५ वर्षको तथ्यांक हेर्न हो भने कर्णालीमा लगातार धानको उत्पादन घट्दै गएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ लाख ५१ हजार ८ सय ५ मेट्रिक टन धान उत्पादन भएकामा आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ३७ हजार १ सय ६५ मेट्रिक टन उत्पादन भयो । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा १ लाख २५ हजार १ सय ४३ मेट्रिक टन उत्पादन भयो भने आर्थिक वर्ष २०७९/०८० मा भने ३ हजार मेट्रिक टन धान उत्पादन बढेको थियो । २०८०/०८१ मा फेरि घटेर १ लाख २४ हजार ९ सय ६९ मेट्रिक टन मात्र उत्पादन भयो ।
कर्णालीमा २ लाख ९९ हजार ३ सय ३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य भएकामा २ लाख १६ हजार ८ सय ८० हेक्टर क्षेत्रफलको जमिनमा मात्र खेती गर्ने गरिएको छ । ४५ हजार ४ सय ६८ हेक्टर क्षेत्रफल जमिनमा मात्र धान खेती गर्ने गरिएको छ ।
सुर्खेतमा सबैभन्दा बढी १२ हजार ६ सय ७९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यस्तै दैलेखमा ८ हजार ३ सय १३, सल्यानमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यस्तै रुकुम पश्चिममा ३ हजार ४८ हेक्टर क्षेत्रफलमा, कालिकोटमा ३ हजार ८१ हेक्टर क्षेत्रफलमा र जाजरकोटमा ३ हजार ६३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
केही वर्षयता धानको उत्पादन घटिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी पूर्णबहादुर थापा बताउँछन् । उनका अनुसार उत्पादन देखिने गरी घटेको छ । क्षेत्रफल पनि घट्दै गएको पाइएको उनले बताए । उनका अनुसार सुर्खेत, दैलेख, जाजरकोट, सल्यान जिल्लामा धान खेती हुने क्षेत्रफल पनि घटेको छ । ‘धान खेती हुने भनेको पहाडीभन्दा फाँटहरूमा हो,’ उनले भने, ‘अहिलले फाँटहरूका बस्ती विस्तार हुने क्रम बढेको छ । सडक निर्माण पनि भए । त्यसैले धानको उत्पादनसँगै क्षेत्रफल पनि घटेको छ ।’
सिँचाइ अभावले गर्दा पनि धानको उत्पादन घटेको उनले बताए । पहाडी जिल्लामा वर्षातले सिँचाइको लागि बनाइएका कुलोहरू भत्किन्छन् । उनले भने, ‘सिजनमा पानी नपर्नु पनि समस्या हो । समयमा पानी परेन भने धानको बीउ राख्ने समय नै तलमाथि हुन्छ । यसले रोप्ने समय तलमाथि हुन्छ । ढिलो रोपाइँ भयो भने पनि उत्पादनमा असर पर्छ । यससँगै धान खेतीका लागि दक्ष जनशक्ति चाहिन्छ । यो जनशक्तिको अभाव हामीले झेलिरहेका छौं ।’
कर्णालीमा कुल खेतीयोग्य जमिनको ३५ दशमलव २१ प्रतिशत भूभागमा मात्र सिँचाइ सुविधा छ । कुल खेतीयोग्य जमिनमध्ये ३८ हजार ३ सय ३८ हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा पुग्छ भने ३० हजार ३ सय २ हेक्टर क्षेत्रफलमा आशिंक सिँचाइ हुने गरेको छ ।
बीउ पनि पर्याप्त मात्रामा नपाइने समस्या रहेको उनी बताउँछन् । हाइब्रिड भनेर ल्याउने धानले गर्दा नयाँ–नयाँ रोगहरू भित्रिनु पनि धान उत्पादन घट्नुको एक कारण भएको थापाको भनाइ छ । उनी भन्छन्, ‘हामीकहाँ भइरहेको उन्नत धान, अनुसन्धान केन्द्रबाट उत्पादन गरेकामा कस्तो रोग लाग्छ भन्ने पहिल्यै जानकारी हुन्छ । बाहिरबाट आएको केही मेसै पाइँदैन । उत्पादन धेरै दिएपछि सँगै रोगहरू आउने गरेका छन् । अब यसको रोकथाम र अनुसन्धान गर्न जरुरी छ ।’
धान खेतीलाई भनेर छुट्टै केही नभए पनि कर्णाली सरकारले रैथाले बालीहरू धानको उन्नत बीउ वितरणका कार्यक्रमहरू गरिरहेको जानकारी उनलले दिए । सिँचाइ अभावको क्षेत्र भएको ठाउँमा सिँचाइ सुविधा दिने कार्यक्रम पनि सरकारले गरिरहेको बताए । सरकारको प्रयासका बीच पनि धानको उत्पादन घटिरहेको उनले बताए । धान खेती गर्नेहरू नै घट्न थालेको थापाको भनाइ छ । ‘पहाडबाट बस्ती सरेर सहर पस्दा पहाडमा लगाउन छोडे,’ उनले भने, ‘फाँट भएको सहरी क्षेत्रमा खेती गर्ने ठाउँमा बस्ती विकास भयो । अनि धानको उत्पादन घट्दै गयो । क्षेत्रफलमा पनि असर परेको छ ।’
