कपुरकोटका विद्यालयमा अतिथि कक्षा संचालन

पुस ९, २०८१

विप्लव महर्जन

Conducting guest classes in schools in Kapurkot

सल्यान — कपुरकोट गाउँपालिकामा संचालित माध्यमिक तहका विद्यालयहरूमा अतिथि कक्षा संचालन गरिएको छ । किताबी ज्ञानका अतिरिक्त विद्यार्थीले बाह्य कुरा पनि सहज ढंगले थाहा पाऊन् भनी यहाँका नेरामावि किमुचौर, जीवनज्योति मावि रिम, कालिका मावि कपुरकोट, भवानी मावि सिनबाङ र वीरेन्द्र मावि गर्पामा अतिथि कक्षा संचालन गरिएको हो ।

सामान्य प्रशासन तथा निजामती सेवा, प्रहरी, स्वास्थ्य, कृषि, पशु, कानुन, स्वास्थ्य सेवा लगायत कुराको जानकारी होस् भनेर अतिथि कक्षा संचालन गरिएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले बताए । अतिथिहरूले विद्यालयमा डेढ घन्टा क्लास लिने गरेका छन् ।

अहिलेसम्म २४ जना विषयविज्ञहरूले निजामती, सुरक्षा, कानुनी अधिकार, बालअधिकार, वनस्पति, अदुवावाली उत्पादन, कृषि, कार्यालयमा दिने सेवा, प्राविधिक सेवासम्बन्धी कक्षा लिइसकेको कपुरकोट गाउँपालिकका शिक्षा शाखा प्रमुख रमेश आचार्यले बताए । 

‘मोबाइलको बढ्दो प्रयोगले विद्यार्थीमा पढ्नु पर्छ भन्ने सोच घट्दै गएका बेला अतिथि कक्षाले विद्यार्थीको सोचमा परिवर्तन ल्याएको छ,’ उनले भने, ‘गत वर्षसम्म १२ पास गरेर विदेश जाने हो भन्ने विद्यार्थीहरू अहिले भविष्यमा कुन विषयमा अध्ययन गरेर लोकसेवाको तयारी गर्ने भन्नेबारेमा रुचि बढाउन थालेका छन् ।’

नेरामावि किमुचौरका प्रधानाध्यापक दामोदर शर्माले पालिकाले विद्यालयमा संचालन गरेको अतिथि कक्षा प्रभावकारी बन्दै गएको बताए । ‘विद्यार्थीले धेरै कुरा सिक्न पाएका छन्,’ उनले भने, ‘विषयविज्ञले कक्षा लिन थालेपछि विद्यार्थीले आफनो रुचिअनुसारको क्षेत्र छान्न थालेका छन् ।’

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully