भूकम्पको १४ महिनापछि पुनर्निर्माणको कामले लियो गति 

पुस २, २०८१

विप्लव महर्जन

14 months after the earthquake, the reconstruction work has gained momentum

सल्यान — भूकम्पले क्षति पुर्‍याएको १४ महिनापछि सल्यानको दार्मा गाउँपालिकामा क्षति पुगेका संरचना निर्माणको कामले गति लिएको छ । जाजरकोटलाई केन्द्र बनाएर गत वर्ष कात्तिक १७ गते शुक्रबार राति गएको भूकम्प गएको थियो ।

यो भूकम्पबाट दार्मा गाउँपालिकामा ४ हजार ८० सर्वसाधारणको घरमा क्षति पुगेको थियो । त्यस्तै ३६ विद्यालय, ९ स्वास्थ्य संस्था, दुई वडा कार्यालय, १२ खानेपानी, सिँचाइ र सडक गरी ५९ सार्वजनिक संरचनामा आंशिक क्षति पुगेको छ । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर वलीले सरकारले पर्याप्त बजेट विनियोजन नभएकाले अहिलेसम्म क्षति भएका १६ सार्वजनिक संरचना मात्रै पुनर्निर्माणको काम भइरहेको र दुई प्रक्रियामा रहेको बताए । पछिल्लो पटक बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम, संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय जाजरकोट र पूर्वाधार विकास कार्यालय सल्यानको सक्रियतामा अहिले धमाधम क्षतिग्रस्त संरचना निर्माण भइरहेको छ ।  

विश्व खाद्य कार्यक्रमले पूर्ण लाभ परियोजना सञ्चालन गरी विनियोजन गरेको झन्डै ८ करोड बजेटबाट चार सिँचाइ कुलो, पाँच खानेपानी, दुई सडक, एक विद्यालय, एक वडा कार्यालय, एक पदमार्ग गरी १४ योजना निर्माण भइरहेका छन् ।

14 months after the earthquake, the reconstruction work has gained momentumत्यस्तै संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय जाजरकोटले ३ करोड विनियोजन गरेर वडा नम्बर-१ दार्माकोट ‍स्थित स्वास्थ्यचौकी, वडा नम्बर-५ काँगुनोहाल्नस्थित स्वास्थ्य इकाई केन्द्र भवन निर्माण गरिरहेको छ । पूर्वाधार विकास कार्यालय सल्यानले भने भूकम्प प्रभावित संरचना निर्माणका लागि आएको ३ करोड बजेट मध्ये १ करोड ५० लाखबाट अन्धनासक आधारभूत विद्यालय ढाकाडाम र कालिका आधारभूत विद्यालय निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । 

14 months after the earthquake, the reconstruction work has gained momentumदार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले विश्व खाद्य कार्यक्रमले श्रममा आधारित, रोजगारी सिर्जना गर्न सक्ने र क्षतिग्रस्त संरचनालाई प्राथमिकतामा राखेर भूकम्पबाट क्षतिग्रस्त संरचना निर्मााणको काम गरिरहेको बताए । उनले उक्त परियोजनाबाट चार सिँचाइ कुलो, पाँच खानेपानी, दुई सडक, एक पर्यटकीय पदमार्ग, एक विद्यालय भवन र एक वडा कार्यालय निर्माणको काम गरिरहेको बताए । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully