मानव अधिकार समावेशी समाज निर्माणको आधार : मुख्यमन्त्री कँडेल

मंसिर २५, २०८१

तृप्ति शाही

The basis of building a society inclusive of human rights: Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानव अधिकार समावेशी समाज निर्माणको आधारशिला भएको बताएका छन्। ७६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मंगलबार सुर्खेतमा आयोजित कार्यक्रममा उनले मानव अधिकार भनेको केवल कानूनको विषय मात्र नभएर समाज निर्माणको आधारशिला भएको बताए ।

मानवअधिकारलाई सबै व्यक्तिको जन्मसिद्ध रूपमा प्राप्त आधारभूत अधिकार र स्वतन्त्रताको रुपमा लिइने हुँदा यसले असल र उन्नत समाज निर्माणमा सघाउ पुग्ने उनको भनाई छ ।  मुख्यमन्त्री कँडेलले  भूगोलको जटिलता, अविकसित संरचना, गरिबी, र शिक्षा तथा स्वास्थ्यको पहुँचमा रहेका चुनौतीहरूले कतिपय क्षेत्रमा मानव अधिकारको प्रत्याभूत हुन नसकेको बताए ।

मानव अधिकार सबैको लागि भए पनि वास्तविक अर्थमा मानव अधिकार आवाजविहीन, शोषित, सीमान्तकृत र  पछाडि पारेका वर्गहरूका लागि विशेष आवश्यकता भएको  उल्लेख गर्दे यस्ता वर्गका व्यक्तिहरूले आफ्नो हक निर्वाध उपभोग गर्न सक्ने वातावरण र पूर्वाधारको विकास गर्न राज्यसहित सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताए ।

सरकारको एक्लो प्रयासले मात्र मानवअधिकार संरक्षणमा पर्याप्त हुँदैन। उनले भने ,'प्रत्येक नागरिकले आफ्नो कर्तव्य पालन गर्दै मानवअधिकारको सम्मान गर्नुपर्ने हुन्छ ।आफनो अधिकार उपभोग गर्दा अरुको अधिकार हनन हुने कुरामा हेक्का राख्नुपर्छ । अधिकारसँगै दायित्वको विषयमा पनि नागरिकलाई सचेत गराउनुपर्ने हुन्छ । '

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully