भूकम्पले भत्काएका भवन नबन्दा विद्यार्थी जाडोमा कठ्यांग्रिँदै, चौरमा पढ्दै

मंसिर २५, २०८१

डीबी बुढा

As the buildings destroyed by the earthquake are not rebuilt, the students are struggling in the winter, studying in the square

जुम्ला — गत वर्षको कात्तिक महिनामा गएको भूकम्पले भत्किएको भवन निर्माण नहुँदा तातोपानी–५ स्थित दुर्गा माध्यमिक विद्यालय लाम्राका विद्यार्थी प्रभावित भएका छन् । उनीहरूलाई कक्षाकोठा अभावका कारण चौरमा बसालेर पढाउन बाध्य भएको विद्यालयले जनाएको छ ।

अहिले भूकम्पले भत्किएका र चर्किएका भवन देख्दा विद्यार्थीहरू डराउनुपर्ने अवस्था देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदीप्रसाद न्यौपानेले बताए । ‘विपद् प्राधिकरणमा भूकम्पले पुर्‍याएको क्षतिको बारेमा कागजात पेस गरेका छौं तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन,’ उनले भने, ‘जसले गर्दा यहाँ अध्ययनरत १ सय ५० भन्दा बढी विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य छन् ।’

उनले अहिले कक्षा ५, ६, ७ र ८ का विद्यार्थी कक्षाकोठा अभावमा चौरमा बसेर पढिरहेको पनि बताए । ‘जस्तापाताले छाएका भवन हेर्दा टन्न छन् । तर भूकम्पले चर्किएको र भत्किएकाले बस्नलायक छैनन्,’ अध्यक्ष न्यौपानेले भने, ‘भवन हेरेर हुँदो रहेनछ । सुरक्षित भवन र निर्धक्क पठनपाठनले मात्र गुणस्तरीय शिक्षा दिन सकिने रहेछ ।’

गत वर्ष सामाजिक विकास कार्यालयको सहयोगमा ४ कोठे भवन निर्माण सुरु भएको थियो, जुन अहिलेसम्म पनि निर्माणाधीन अवस्थामा रहेकाले विद्यार्थीलाई राखेर पढाउन सकिएको छैन । यस वर्ष सहरी विकास मन्त्रालयअन्तर्गत दुईकोठे भवनका लागि बजेट आइपुगेको छ । As the buildings destroyed by the earthquake are not rebuilt, the students are struggling in the winter, studying in the square

भूकम्पले भत्काएका भवन पुनः निर्माणका लागि प्राधिकरणले अहिलेसम्म बजेटको व्यवस्था गर्न सकेको छैन । प्रधानाध्यापक प्रेमबहादुर शाहीले भूकम्पले भत्काएको भवन निर्माणका लागि कागजात सबै पठाइसकेको बताए । ‘अहिलेसम्म बजेट आइपुगेको छैन,’ उनले भने, ‘कहिले बजेट आएर भत्किएको भवन हटाउने वा बनाउने हो, त्यो पनि यकिन छैन ।’

अहिले शिक्षक, अभिभावक र विद्यार्थीले भवन निर्माण गरेर सुरक्षित रूपमा पठनपाठन गर्न पाउने विद्यार्थीको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

दुर्गा माध्यमिक विद्यालय लाम्रामा बाल विकासदेखि कक्षा १२ सम्मको अध्ययन हुन्छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully