संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नपाउँदा संविधानविरोधीले टिप्पणी गर्न थाले : मुख्यमन्त्री कँडेल

मंसिर २४, २०८१

तृप्ति शाही

When the structure directed by the constitution was not completed, the anti-constitutionalists started commenting: Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाइ गर्दा संघीयताप्रति नै टीका-टिप्पणी गर्ने अवस्था आएको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा सोमबारबाट सुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान लागू भएको १० वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधानविरोधीले टिप्पणी गर्ने बाटो खुलेको धारणा राखेका हुन् ।

संविधानले परिकल्पना गरेका संरचनालाई अलमल नगरी कानुन निर्माण गरेमा शान्ति सुरक्षा र विकास निर्माणले थप गति लिने पनि उनको भनाइ थियो ।

संविधानतः प्रदेशलाई प्राप्त शान्ति सुरक्षा कायम गर्न  प्रहरी समायोजनको विषयलाई  अन्योलपूर्ण नराखी छिटो टुंगोमा पुर्‍याउन पनि मुख्यमन्त्री कँडेलले आग्रह गरे ।  'गृहमन्त्रीज्यूलाई यो विषयमा राम्रोसँग जानकारी छ,' उनले भने, 'जे गर्ने हो छिटो टुंगो लगाउनेतिर ध्यान दिनुहोला ।'

गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित गोष्ठीमा गृहमन्त्री रमेश लेखकले संघीयता अनुसारको कानुन बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सरकारको निरन्तर अस्थिरताले मुलुकमा विकास, शान्ति सुरक्षा र  आर्थिक समृद्धिमा बाधा  पुगेकाले संविधानको रक्षा गरी मुलुकमा स्थिरता दिन दुई ठूला दल मिलेर सरकार बनाएको उनले बताए । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully