छलफलको विषयलाई निर्णय मानेको प्रति वार्ता समितिको असहमति

मंसिर १९, २०८१

डीबी बुढा

Disagreement of the negotiation committee regarding the discussion topic as a decision

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा गठित वार्ता समिति र आन्दोलरत शिक्षक, कर्मचारीबीच भएको छलफलको विषयलाई आन्दोलरत पक्षले निर्णयका रुपमा लिइएको भन्दै असहमति जनाइएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्वारा गठित वार्ता समितिले प्रेस विज्ञप्ति निकाल्दै छलफलकै क्रममा आन्दोलनरत पक्षले दुई बुँदामा लेखेको निर्णयप्रति असहमति जनाउँदै समितिले निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको समेत स्पष्ट पारेको छ । 

'भोलि फेरि बसेर छलफल गर्ने भन्ने उपस्थितिको हस्ताक्षरलाई निर्णयको हस्ताक्षर भनी वार्ताको मूल्य मान्यताविपरीत शिक्षक कर्मचारीहरुले सोसल मिडियामा प्रचारप्रसार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीको पठनपाठनलाई नियमित बनाउन आन्दोलनरत पक्षलाई आधिकारिक तीन सदस्यीय वार्ता कमिटी बनाई वार्ताको मूल्य मान्यता कायम गर्दै उठेका विषयमा वार्तामा आउनसमेत शिक्षक कर्मचारीलाई आग्रह  गरिएको छ । 

आन्दोलनको स्वरुप परिवर्तन गरी कक्षकोठा खोली पठनपाठनको कार्य सुचारु गर्न र प्रतिष्ठानका शिक्षक विद्यार्थीलाई यस कठिनपूर्ण परिस्थितिमा संयमता अपनाइ अपिलसमेत गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदद्वारा शिक्षाध्यक्ष डा. डबलबहादुर धामीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । बुधबार आन्दोलरत कर्मचारी र वार्ता समितिबीच छलफल भएको थियो । 

संवाद र सहमतिको माध्यमबाट आन्दोलनलाई निकास दिई विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न समिति क्रियाशील रहेको समेत जनाएको छ ।

Disagreement of the negotiation committee regarding the discussion topic as a decision

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully