सल्यान — भूकम्प प्रभावित जिल्लाको दार्मा गाउँपालिकामा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी बढेका छन् । एक सातायता बढेको चिसोका कारण यस्ता बिरामी बढेका हुन् ।
भाइरल ज्वरो, रुघाखोकी र निमोनियाबाट बालबालिका , बुढाबुढी मात्र नभई वयस्क समेत प्रभावित भएका छन् । पालिकाका सबै स्वास्थ्य संस्थामा अहिले बिरामीको घुइँचो लाग्न थालेको छ । अलि बढी बिरामी भएकाहरू त पालिकाबाहिरका अस्पतालसमेत धाउन थालेका छन् ।
भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेपछि अहिले पालिकाका घरैपिच्छे बिरामी भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । ज्वरो र रुघाखोकी सरुवा रोग भएकाले एक जनालाई देखिएको घरका दुई/तीन जना समेत प्रभावित हुन थालेका उनले जानकारी गराए ।
गत वर्ष कात्तिक १७ गते गएको भूकम्पले पालिकामा ४ हजार ६० घर क्षति भएका र क्षति भएका मध्ये अहिले पनि ३/४ सय टहरोमा बस्न बाध्य भएका, आर्थिक अवस्था मजबुत नभएकाले सबैले न्यानो कपडाको व्यवस्था गर्न नसकेका र चिसोमा तातो सुप खानु पर्छ भन्नेबारेमा थाहा नभएका कारण पालिकावासी प्रभावित भएको उनको भनाइ छ ।
रुघाखोकी र ज्वरोका बिरामी बढेपछि स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढेको ढाकाडाम स्वास्थ्य चौकीका इन्चार्ज तथा स्वास्थ्यकर्मी दीपक चन्दले बताए । पहिला दैनिक १५/१६ जना बिरामी आउने स्वास्थ्य संस्थामा अहिले दैनिक ३० जनासम्म पुग्ने गरेको र त्यसमा सबैभन्दा बढी रुघाखोकी, ज्वरो, निमोनिया र दमका बिरामी हुने गरेको उनले जानकारी गराए । उपचारका लागि दैनिक धेरै बिरामी आउने गरे पनि जटिल समस्या भने नदेखिएको र कडा निमोनिया भएकालाई जिल्ला अस्पताल सल्यान एवं मिसन अस्पताल चौरजहारी पठाउने गरेको उनले बताए ।
भल्चौर स्वास्थ्य चौकीका इन्चार्ज यज्ञबहादुर बुढाथोकीले भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे पनि महामारीको रूप भने नलिएको बताए । दिन प्रतिदिन बढ्दै गएको चिसो र समयअनुसार लगाउने कपडा, खानपिनको व्यवस्था गर्न नसकेकै कारण बालबालिका वृद्धवृद्धामा ज्वरो, रुघाखोकी, दमको समस्या बढी देखिएको उनले जानकारी गराए । ‘गाउँघरमा काम नगरी खान–लाउन पुग्दैन । बिहान उठ्ने बित्तिकै चिसो नभनी घाँस दाउरा, मेलापात गर्नुपर्छ,’ उनले भने, ‘त्यही भएर बच्चादेखि बुढापाकासम्म विभिन्न रोगको सिकार हुँदै आएका छन् ।’
जिल्लाका अन्य पालिकामा भने छिटफुट दुई/चार जनामा रुघाखोकीको समस्या देखिए पनि चिसोकै कारण ज्वरो र निमोनियाको समस्या भने नदेखिएको पालिकाका स्वास्थ्य प्रमुखहरूले बताएका छन ।
