बालविवाह उन्मूलन गर्न सामाजिक चेतना महत्त्वपूर्ण : मुख्यमन्त्री कँडेल

आश्विन ७, २०८१

तृप्ति शाही

Social awareness is important to eradicate child marriage: Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बालविवाह उन्मून गर्न सामाजिक चेतना महत्त्वपूर्ण हुने बताएका छन् ।

बालविवाह न्यूनीकरणमा असल अभ्यासको अनुसरण गर्ने उद्देश्यले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले कानुनले निषेधित गरेर मात्र  बालविवाह उन्मूलन गर्न नसकिने भएकाले समाजमा रहेको अन्धविश्वास र  कुरीति हटाउन सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।

समाजमा रहेको अशिक्षा र पछौटेपनका कारण पनि बालविवाह न्यूनीकरणमा समस्या रहेको चर्चा गर्दै उनले विगतमा भन्दा अहिले बालविवाहमा सुधार आएको भए पनि आगामी दिनमा बालविवाह न्यूनीकरण हुने गरी काम गर्न सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने धारणा राखे ।

रीतिरिवाजका नाममा कतिपय समुदायमा कानुनभन्दा पनि बलिया  परम्परा रहेको भन्दै यस्ता हानिकारक परम्परा हटाउने गरी लाग्न सबैलाई आग्रहसमेत गरे ।

कर्णालीलाई छाउपडी, बालविवाहजस्ता हानिकारक सामाजिक कुरीतिबाट मुक्त गर्न प्रदेश सरकारले आफ्नो वार्षिक नीति  तथा कार्यक्रममा बजेटसमेत विनियोजन गरेको छ । उनले भने, 'त्यस्ता हानिकारक कुरीति उन्मूलनमा लाग्ने  स्थानीय तहलाई सरकारले प्रोत्साहन गर्नेछ ।'

बालविवाहसम्बन्धी प्रदेशभर भइरहेका असल अभ्यासको अनुभव आदान-प्रदानले आगामी दिनमा बालविवाह न्यूनीकरणमा सघाउ पुग्ने पनि उनले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully