आठ वर्षपछि बन्यो गाराघाट पुल

आश्विन ६, २०८१

महेश केसी

Garaghat bridge was built after eight years

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१ र बाँफिकोट गाउँपालिका–१० जोड्ने सानीभेरीमाथिको पुल सञ्चालनमा आएको छ । निर्माण सुरु गरेको आठ वर्षपछि पुल निर्माण पूरा भएर सञ्चालनमा आएको हो ।

पुलको आइतबार प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री जनार्दन शर्माले उद्घाटन गरे । राप्ती लोकमार्गको थपिएको प्रस्तावित निर्माणधीन खण्ड सोलाबाङ–साजेबगर अन्तर्गत पर्ने यो पुल निर्माणका लागि २०७३ असार ३१ गते ठेक्का लागेको थियो । 

पुलको डिजाइन नै फेरबदल गर्नुपर्ने अवस्थाका कारण निर्माणमा ढिलाइ भएको चौरजहारी सडक डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर तेजस्वी शर्माले बताए ।

 ‘सुरुमा ‘पायल फाउन्डेशन’ डिजाइनमा काम सुरु गरियो । पछि त्यो सम्भव नदेखिएपछि डिजाइन नै परिवर्तण गरेर ‘ओपन फाउन्डेशन’ डिजाइनमा पुल बनाइयो,’ पुल निर्माणमा यति लामो समय लाग्नुको कारणबारे स्पष्ट पार्दै ईन्जिनियर शमाले भने, ‘यसकारण पुल बन्न समय लाग्यो । साथै बीचमा कोभिडका कारण पनि केही वर्ष काम रोकियो ।'

Garaghat bridge was built after eight years

कुल ९ करोड ६१ लाख ५ हजार १ सय १९ रुपैयाँ लागतमा नागार्जुन कन्ट्रक्सन कम्पनी प्रालिले पुल निर्माण गरेको हो ।चौरजहारी सडक डिभिजनका ईन्जिनियर अविनाश अर्यालका अनुसार यो पुल प्रि–स्टेट मोडलमा बनेको र यसको लम्बाई ८० मिटर रहेको छ । साथै यो पुलमा दुईवटा स्पान रहेका छन् । 

यो पुल बनेसँगै अब राप्ती लोकमार्गको प्रस्तावित थप ७५ किलोमिटर सडक हुँदै यात्रा गर्न सहज हुनेछ । आठबीसकोट, बाफिकोट तथा डोल्पा र रुकुम पूर्वतर्फको आवतजावत पनि सहज हुनेछ । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully