सल्यानमा ३१ वडाका २१ हजार परिवार बिजुलीको पहुँचबाहिर  

भाद्र १०, २०८१

विप्लव महर्जन

21 thousand families of 31 wards in Salyan are out of reach of electricity

सल्यान — कालीमाटी गाउँपालिका–६ र ७ मा विद्युत प्राधिकरणले २०७५ र २०७७ मा ६ करोड खर्च गरी विद्युत लाइन विस्तार गर्‍यो । लाइन विस्तार भएको तीन वर्ष बितिसक्दा पनि स्थानीयले अहिलेसम्म बिजुली बाल्न पाएका छैनन् । पूरै वडाका बासिन्दा अहिले पनि बत्तीका लागि सौर्य टुकी र सोलारको भर पर्दै आएका छन् ।

यस्तै बन्गाड कुपिण्डे नगरपालिका–११ का विभिन्न बस्तीमा लाइन विस्तार हुन नसक्दा बालुवासंग्रही र रैकरबासीबाहेक वडाका अन्य बस्तीमा अहिलेसम्म बत्ती बाल्न पाएका छैनन् । 

तीन नगरपालिका र सात गाउँपालिका गरी १० स्थानीय तह रहेको सल्यानमा ८३ वडा छन् । जिल्लामा प्राधिकरणको कार्यालय संचालन गरेर बिजुली बाल्न थालेको ३७ वर्ष भयो । प्राधिकरणले प्रत्येक वर्ष विद्युतीकरणको काम गर्दै आए पनि ५४ हजार घरधुरी रहेको सल्यानका ३१ वडाका २१ हजार ५ सय परिवार बिजुलीको पहुँच बाहिर छन् । पर्याप्त बजेट अभाव, भौगोलिक विकटता र नियमित गतिमा काम हुन नसक्दा २१ हजार परिवार अध्यारोमा बस्न बाध्य भएका हुन् । 

प्राधिकरण सल्यान कार्यालयका अनुसार शारदा नगरपालिकाका ८८ सय ९८ घरधुरी मध्ये वडा १०, ११, १३ का ५ सय ११,  ७४ सय ९८ घरधुरी रहेको बाग्चौर नगरपालिकाको वडा ३, ७, ८, ९ का २८ सय ५, ७४ सय २८ घरधुरी रहेको बन्गाड कुपिण्डे नगरपालिका वडा ७, ८, ९, १०, ११, १२ का ४८ सय ७७, ४९ सय ७२  घरधुरी रहेको कालिमाटीमा वडा  १, ५, ६, ७ का ३३ सय ६३,  २८ सय ९८ घरधुरी रहेको सिद्धकुमाखको वडा १, ३, ४ का १२ सय ७५,  ४२ सय ६४ घरधुरी रहेको दार्माका ३, ४, ५ मा ३१ सय १४,  ५४ सय ९१ घरधुरी रहेको कुमाखको वडा ४, ५, ७ का ३४ सय ८९, ५१ सय ३९ घरधुरी रहेको छत्रेश्वरी वडा १, ४ का ७ सय २८, ४१ सय १० घरधुरी रहेको त्रिबेणी वडा ४, ५, ६ का ७ सय १६ र ३९ सय ७४ घरधुरी रहेको कपुरकोट गाउँपालिकामा ९ सय ३५ परिवार बिजुली बत्तीको पहुँच बाहिर छन् ।  

तीन वर्षअघि लाइन विस्तारको काम गरे पनि सबस्टेसन नजिक नभएकाले अहिलेसम्म कालिमाटी गाउँपालिका–७ का ६ सय बढी परिवारले विजलुी बाल्न नपाएको वडाध्यक्ष मित्रलाल रिजालले बताए । बिजुलीको लाइन जोड्न नपाउदा अहिले पनि स्थानीय सौर्य टुकी तथा लालटिन प्रयोग गर्न बाध्य रहेको उनले बताए । बारम्बारको मागपछि अहिले कालिमाटी–४ मा सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढाए पनि तत्काल सम्पन्न हुने सम्भावना नदेखिएकाले स्थानीयले बिजुलीका लागि अझै केही वर्ष कुर्नुपर्ने अवस्था देखिएको उनले बताए ।  

बन्गाड कुपिण्डे नगरपालिका–११ बालुवा संग्रही र रैकरमा केही वर्षदेखि बत्ती बले पनि वडाका अन्य बस्तीबासीले बत्ती बाल्न नपाएको वडाध्यक्ष वीरबहादुर बुढामगरले बताए । वडामा हजार घरपरिवार रहेकामा ७ सय भन्दा बढी परिवार बिजुलीको पहुँच बाहिर रहेका उनले बताए । ‘बत्तीको लागि बारम्बार माग राखेका छौ । गत वर्ष बजेट परेर ठेक्का गरिएको छ भन्ने त सुनियो तर ठेकेदारले काम गरेको देखिएको छैन,’ उनले भने  । २०८२ मा सल्यानलाई पूर्ण विद्युतीकरण गरिसक्ने भने पनि सम्भावना कम देखिएको उनको भनाई छ । 

21 thousand families of 31 wards in Salyan are out of reach of electricity

नजिकैको बस्तीमा बिजुली पुगेको ३/४ वर्ष भैसक्दा पनि आफुहरूले अहिलेसम्म नपाएको कुमाख गाउँपालिका–४ का भुवन रानाले बताए । ‘बत्ती नभएका कारण बालबालिका न त रातीको समयमा राम्रोसँग पढन पाएका छन् न आफूहरूले घरायसी कामकाज र सानोतिनो घरेलु उद्योगधन्दा संचालन गर्न सकिएको छ । मोबाईल चार्ज गर्न समेत छिमेकका बस्तीमा जानुपर्ने अवस्था आउँछ,’ उनले भने । 

सल्यान जिल्लालाई २०८२ असारसम्ममा पूर्ण रुपमा विद्युतीकरण गर्ने भने पनि प्रत्येक वर्ष १० करोडको बजेटले जिल्लाका सबै स्थानमा योजनाको काम गर्न नसकिने भएकाले अहिलेसम्म जिल्लाका २१ हजार परिवारले बत्ती बाल्न नपाएका प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेलले बताए । जिल्लाको कुल जनसंख्या ५४ हजार ६ सय ७२  रहेकोमा अहिलेसम्म ६० प्रतिसत ३२ हजार ८ सय ६८ घरपरिवारले बत्ती बाल्न पाएका उनले बताए ।

‘जिल्लाभरी पूर्ण विद्युतीकरणको लागि ६८ करोड लाग्ने देखिन्छ, सरकारले प्रत्येक वर्ष ९/१० करोड विनियोजन गर्छ । यति थोरै बजेटले सबैले कसरी बत्ती बाल्न पाउनु ?’  कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले पालिकाका पाँच वडाका २ हजार बढी परिवारले अहिले घरमा बत्ती बाल्दै आएको बताए । वडा ४ मा सबस्टेसनको काम सम्पन्न भएपछि सबैले बिजुली सुविधा पाउने उनको भनाई छ । यता कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले प्राधिकरणको २ करोड र पालिकाको ६ करोड लगानीमा लाइन विस्तारको काम भैरहेकाले दुई वर्षभित्रै पालिकालाई पूर्ण विद्युतीकरण गर्ने बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully