जुम्ला — जुम्लाका चार वटा वडा बालविवाहमुक्त वडाका रुपमा घोषणा भएका छन् । जिल्लाको आठ स्थानीय तहका ६० मध्ये ४ वडा बालविवाहमुक्त घोषित भएका हुन् । पातारासी ४, तिला ६, हिमा १ र कनकासुन्दरी गाउँपालिका ५ बालविवाहमुक्त वडाका रुपमा गनिएका छन् ।
ती वडामा बालविवाहजन्य कुनै पनि क्रियाकलाप नगर्ने प्रतिबद्धता गरिएको छ ।
शनिबार कनकासुन्दरी–५ लाई बालविवाहमुक्त वडाका रुपमा घोषणा गरिएको उपाध्यक्ष प्रेमकली बुढाले बताइन् । यो बालविवाहमुक्त घोषणा हुने जुम्लाको चौथो वडा हो । ‘बिहेवारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्वता, बालविवाहमुक्त कनकासुन्दरी’ भन्ने नाराका साथ बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
वडासचिव हिमाली भण्डारीले वडाले बालविवाहमुक्त गर्न १५ वटा सूचक पूरा गरेको बताइन् । उनका अनुसार वडामा रहेका १ हजार ३ सय ९० जनाले बालविवाह नगर्ने प्रतिबद्धता जनाएपछि बालविवाहमुक्त वडा घोषणा गर्न सम्भव भएको हो । पाँच वटा बस्ती रहेको उक्त वडामा सबै सूचक पूरा भएको र बालविवाह शून्यमा भएको एकिन भएपछि घोषणा गरिएको हो । वडा हुँदै पालिका नै बालविवाहमुक्त गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष दामोदर आर्चायले बताए ।
‘दलित तथा विपन्न समुदायमा बालबिवाह बढ्दो अवस्थामा छ,’ उनले भने,‘लक्षित समुदाय पहिचान गरी उनीहरुलाई उत्पादनसँग जोड्ने खालका कार्यक्रम ल्याउने तयारी भइरहेको छ । पालिकाले चेतनामूलक कार्यक्रम पनि जोड दिने छ ।’ पालिकाले बालविवाहविरुद्धको रणनीतिसमेत बनाइसकेको छ । वडाअध्यक्ष विष्णुबहादुर बडुवालले पालिकाकै पहिलो वडाको रूपमा बालविवाहमुक्त घोषणा गर्न सफल भएको बताए । आगामी दिनमा व्यवहारमा कार्यान्वयन गर्दै बालविवाह गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुने समेत वडाले चेतावनी दिएको छ ।
नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यअनुसार गैरसरकारी संस्थाहरुको सहयोग र समन्वयमा पालिकाहरुले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् । औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा भए पनि कार्यान्वयनमा भने चुनौती छ ।
