कर्णाली र भेरी करिडोर प्रदेश सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री कँडेल

जेष्ठ १४, २०८१

तृप्ति शाही

Karnali and Bheri Corridor is the main priority of the state government: Chief Minister Kandel

वीरेन्द्रनगर — राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार नै सडक बन्न पुगेको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सोमबार आगामी वर्षको बजेट तर्जुमाका लागि गरेको कार्यक्रममा उनले भौगोलिक रुपमा विकट मानिएको कर्णालीमा निर्माणाधीन कर्णाली र भेरी करिडोरहरु कर्णाली प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको बताए ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको मातहतमा रहेका  सबै जिल्लाका कार्यालय प्रमुख तथा अधिकारीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले होटलबाट योजना वितरण भन्ने समाचार यो पटक सुन्न नपरोस् भन्दै सचेत गराए । कर्णालीका जनताले अझैपनि सहज र ढुक्कसंग यात्रा गर्न नपाएको भन्दै अब त्यस्ता खालका समस्यबाट पार लाग्नुपर्ने बताए ।

सडक तथा पुल निर्माणको जिम्मेवारी लिएका सबै निर्माण व्यवसायीको आचरण खराव नभएको बताउँदै उनले सरकारले बजेट निर्माण गर्दा ध्यान नदिएका कारण भारी मात्रामा विकास निर्माणका कामहरु अलपत्र परेको जिकिर गरे।

अहिले बजेट सुनिश्चित भएका योजनाहरुमा निर्माण व्यवसायी र कार्यालय प्रमुखले सहकार्य गरेर हरेक काममा निकास निकाली जनचाहना अनुसार अगाडी बढन निर्देशन दिए ।जनताले निवेदन बोकेर मन्त्रालयमा धाउने परिस्थितिको अन्त्य गर्न समेत उनले निर्देशन दिए । 

बजेट कम खर्च गरी बचाएर कर्णालीको विकास नहुने भन्दै भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले अब कार्यालय प्रमुखले जिल्लामा गएर सर्वदलिय सर्वपक्षीय छलफल गरी जनताले बुझ्ने गरी योनजनाबारे जानकारी गराउनुपर्ने आवश्यकता रहेको बताए । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully