लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

जेष्ठ २, २०८१

विप्लव महर्जन

The work of lift drinking water scheme is slow, the locals suffer

सल्यान — शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।

समयमै योजनाको काम सम्पन्न हुन नसक्दा खानेपानीका लागि माल्नेटाका महिलाको सास्ती हट्न सकेको छैन । एक गाग्री पानीका लागि बस्तीदेखि झन्डै आधा घन्टा तलको मुहानमा गएर पानी ल्याउन बाध्य भएका छन् ।

२०७६ असारदेखि निर्माण सुरु भएको बृहत लिफ्ट खानेपानी योजनाको काम निर्माण कम्पनीले अहिलेसम्म करिब ९० प्रतिशत मात्र गरेको छ । सम्पन्न गर्ने अबधि दुई वर्षको रहेकोमा दुई वर्ष ढिला भैसक्दा पनि काम पूरा नहुँदा बस्तीका बासिन्दा निराश छन् ।

शारदा–१४ र १५ माल्नेटाका ७ सय ५० परिवारलाई घरघरमै पानी पुर्‍याउने उद्देश्यका साथ योजना निर्माण सुरु गरिएको थियो । योजना संचालनका लागि बिश्व बैंकले ११ करोड अनुदान दिएको थियो भने ७ सय ५० स्थानीयले प्रतिघर ४ हजार ५ सय रुपैयाँका दरले ३३ लाख ७५ हजार उठाएका थिए ।

योजनाको काममा भएको ढिलाईले गर्दा आफुहरुले विगतदेखि खानेपानीको लागि सास्ती भोग्दै आएको ४३ वर्षीया चन्द्रिका बुढाथोकीले बताइन् । २०४४ मा एशियाली विकास बैंकबाट संचालित खानेपानी योजना जीर्ण भएर धारामा पानी आउन छाडेपछि झन्डै दुई दशकदेखि माल्नेटा बस्तीमा बाह्रै महिना खानेपानीको हाहाकार हुँदै आएको उनले बताइन् ।

‘बस्ती आसपासका मुहान सुकेपछि एक गाग्री पानीका लागि एक घन्टा हिँड्नु पर्छ’ उनले भनिन्, ‘बिहानै नगए मुहानमा पानी भर्न पाइदैन । अनिदै उठेर आँखा मिच्दै टर्च बालेर मुहान जानुपर्ने बाध्यता छ । एक पटकमा एक गाग्री भन्दा बढि पानी ल्याउन नपाइने भएकाले बारम्बार कुवामा धाउनु पर्छ । पानीको लागि लामो समय कुर्नु पर्ने हुन्छ’ ।

विगतदेखि बाह्रै महिना खानेपानीको समस्या भएको माल्नेटामा आसपासमा भएका मुहान पनि सुक्दै गएकाले कपडा धुन तथा नुहाउन शारदा नदी झर्नुपर्ने बाध्यता रहेको निर्मला घर्तीले बताइन् ।

‘बढ्दो गर्मीसँगै मुहानमा पानीको मात्रा कम भएपछि एक जनाले एक पटकमा एक गाग्री मात्र पानी ल्याउन पाईन्छ । त्यो पानी खाना पकाउने की, अन्य कामको लागि प्रयोग गर्ने समस्या भएको छ,’ उनले भनिन् ‘अहिले घरमा एक जनाको काम पानी भर्ने मात्र छ । पाहुनालाई पानीकै समस्याका कारण लामो समयसम्म घरमा बसाल्न सक्ने अवस्था छैन ।’

स्थानीय ज्ञानदेव घर्तीले बारम्बार ताकेता गर्दै आए पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै आएको बताए । ‘निर्माण कम्पनीले बस्तीमा पाइपलाइन गत वर्ष नै विस्तार गरिसकेको थियो । शारदा नदीबाट पानी तान्नका लागि बोरिङको काम सम्पन्न गरिसकेको छ । योजनाको म्याद थप गरे पनि पर्याप्त जनशक्ति लगाउन सकेको छैन,’ उनले भने ‘निर्माण कम्पनीको यो तालले यस वर्ष पनि स्थानीयले घरघरमा पानी खान पाउने छाँटकाँट देखिदैन ।’

योजनाको काममा भएको ढिलाई र अर्कोतिर मुहानमा पानी स्रोत घटे पनि अहिले सबैलाई पानी पुर्‍याउन एक पटकमा एक जनाले एक गाग्री मात्र पानी ल्याउने नियम लागु गरेको उनको भनाई छ । खानेपानीकै समस्याका कारण बस्तीका धेरैले बसाईसराई गरिसकेको उनको भनाई छ ।

योजना संचालन समितिका अध्यक्ष रहेका यादवप्रसाद उपाध्यायले रफ्तारले काम गरे तीन महिना भित्रैमा बस्तीमा खानेपानी पुर्‍याउन सकिने देखिए पनि निर्माण कम्पनीले काममा तिब्रता दिन नसकेको बताए । समितिबाट आफुहरुले ताकेता गरिरहेको तर विभिन्न कारण देखाएर आलटाल गरिरहेको उनले बताए ।

‘शारदा नदीबाट पानी तान्ने ईन्टेक बनाउन समस्या देखिएपछि निर्माण कम्पनीले केही ढिलाई गरेको थियो । अहिले ईन्टेक बनाइसकेको छ । जनशक्ति बढाएर नियमित काम गरेमा तीन महिनाभित्रै योजना सम्पन्न हुने देखिन्छ तर कामको गति हेर्दा सम्पन्न हुने सम्भाबना कम देखिएको छ,’ उनले भने ।

ईन्टेकको डिजाईनमा समस्या भएकाले काममा ढिलाई भए पनि इन्टेकको काम सम्पन्न भएकाले यो आर्थिक वर्षभित्रै योजना सम्पन्न गर्ने तयारीमा लागेको सगरमाथा ड्रिलिङ्ग निर्माण सेवाका ईन्जिनियर रमेश शर्माले बताए ।  छिटो भन्दा छिटो योजनाको काम सम्पन्न गर्न आवश्यक पर्ने सबैजसो सामग्री जुटाइरहेको उनले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully