काठमाडौँ — जिल्लाका चार वटा स्थानीय तहमध्ये तीन वटा गाउँपालिकामा अस्पताल छैनन् । स्थानीय तह संचालनमा आएको साढे ६ वर्षसम्म पनि तीन पालिकाले अस्पताल संचालन गर्न नसक्दा स्थानीयलाई औषधि उपचारमा असुविधा छ ।
छायाँनाथ रारा नगरपालिकामा एक मात्र १५ शैया क्षमताको अस्पताल छ । सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा अस्पताल छैन । प्राथमिक अस्पताल समेत नहुँदा स्थानीयबासीहरुलाई साधारण स्वास्थ्योपचारका लागि समेत सदरमुकाम वा जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको छ ।
सरकारले प्रत्येक स्थानीय तहमा १० शैयाको अस्पताल बनाउन निर्देशन जारी गरी शिलान्याश गरिएको भएपनि यहाँका स्थानीय तहले अस्तापल सञ्चालनमा ल्याउन सकेका छैनन् । सोरु गाउँपालिकामा तीन वर्षअघि सीप तारापानीमा शिलान्याश गरिएको १० शैयाको अस्पताल अहिलेसम्म पनि निर्माण सम्पन्न भएको छैन ।
अस्पताल निर्माणको लागि संघीय सरकारबाट ११ करोड बजेट बिनियोजन गरी निर्माण कार्य सुरु गरिएको भएपनि अहिलेसम्म काम पूरा हुन सकेको छैन । करिब १८ हजार जनसंख्या र ११ वटा वडा रहेको गाउँपालिकामा अस्पताल नहुँदा बिरामीलाई डाक्टरको मुख देख्न गाह्रो भएको छ । गाउँपालिकामा अस्पताल नहुँदा सामान्य रोगको उपचारका लागि समेत जिल्ला अस्पताल पुग्नु पर्ने बाध्यता रहेको स्थानीय धनरुप बुढा बताए ।
भौगोलिक विकट मानिएको मुगुम कार्मारोङ गाउँपालिकामा पनि अस्पताल बन्न सकेको छैन । उक्त गाउँपालिकामा पनि अस्पताल निर्माणको लागि संघीय सरकारले १० करोड बजेट निकासा दिएको भएपनि अस्पताल निर्माण कार्य अलपत्र छ । ९ वटा वडा र ६ हजार ६ सय जनसंख्या रहेको कार्मारोङले चार वर्षको अवधिसम्म एउटा अस्पताल बिस्तार गर्न नसक्दा बिरामीलाई उपचार गर्न मुस्किल भएको छ ।
गाउँपालिकामा स्वास्थ्य चौकी ५, आधारभूत स्वास्थ्य केन्द्र ४ र दुई वटा सामुदायिक स्वास्थ्य केन्द्र भएपनि अस्पताल नहुँदा जटिल रोगको उपचार गर्न जिल्ला अस्पताल पुग्नु पर्ने बाध्यता छ । खत्याड गाउापालिकामा पनि अहिलेसम्म अस्पताल बन्न सकेको छैन । जटिल रोगको उपचार गर्न त्यहाँका बिरामीहरु बाजुरा कोल्टी, जुम्ला कर्णाली प्रतिष्ठान र जिल्ला अस्पताल गमगढी पुग्न बाध्यता छ ।
