मुगु — मुगुम कार्मारोङ गाउँपालिकामा प्रथम पटक बौद्ध शिक्षा पढाउन गुम्बा निर्माण गरिएको छ । कार्मारोङ गाउँपालिका–३ चेजाङपुकमा रिम्वोच्चे हिस्से साम्फो र उनकी धर्मपत्नी रिम्वोच्चे खाण्डो पेमा छोईडेलको आर्थिक सहयोगमा निर्मित ओर्गेन ढोदुल लिङ् गुम्बामा आधारभूत तहको बौद्ध शिक्षा पढाउन सुरु गरिएको छ ।
कार्मारोङ भित्रका १७ वटा बस्तीका आदिवासी जनजातिका बालबालिकालाई अब देखि यही गुम्बामा आधारभूत तहको बौद्ध शिक्षा पढाइने गुम्बाका अध्यक्ष खेन्वो कार्मा राप्केले बताए ।
गाउँपालिकाको वडा नं. १ देखि ९ सम्म १७ वटा बस्ती छन् । ती गाउँका बासिन्दाले बौद्ध शिक्षा अध्ययनका लागि भारत, तिब्बत र काठमाडौंका बिभिन्न स्थानमा जानुपर्ने बाध्यता रहेको छ । गाउँमै गुम्बा बनेपछि अब त्यस्तो बाध्यता टर्ने उनले बताए ।
कार्मारोङमा सरकारी सामुदायिक बिद्यालयको संख्या १६ वटा छ । तर बौद्ध शिक्षा अध्ययनको लागि भने एउटा पाठशाला पनि छैन । पाठशाला नहुँदा मुगु, चितै, डोल्फू, पूलु, मह,, माग्री, ताखा, खारी रिउस पुवा, लगायत बस्तीबाट बौद्ध शिक्षा अध्यायनको लागि करिव ८ सय बालबालिका जिल्ला बाहिर गएका छन् ।
'राज्यले निर्माण गर्न नसकेको ओर्गेन ढोदुल लिङ् गुम्बा रेम्वोच्चे गुरुले बनाइदिनुभएको छ,' गाउँपालिका–६ की ईटोल तामाङले भनिन्, 'अब हाम्रा बालबालिका गाउँमै बौद्ध शिक्षा पढ्न पाउने भएका छन् । गुम्बा निर्माणले सिंगो कार्मारोङमा बसोबास गर्ने आदिवासी जनजातिमा खुसी छाएको छ ।'
बौध शिक्षा अध्ययनको लागि बालबालिका जिल्ला बाहिर जानुपर्दा करिव ८ वर्षसम्म परिवारबाट बञ्चित हुने गरेका छन् । जिल्लाबाहिर बौद्ध शिक्षा पढ्न जाँदा कोही नि:शुल्क त कसैलाई ५ लाख भन्दाबढी खर्च लाग्ने गरेको स्थानीयको भनाइ छ ।
