सल्यान — जिल्लाको कालिमाटी गाउँपालिका १ चोत्रेकी २३ वर्षीया रेवती रावत तीन साताअघि नागरिकताको सिफारिस लिन घरबाट बिहानै ६ बजे वडा कार्यालय हिँडिन् । एक जना साथी लिएर घरबाट बिहानै हिडेकी उनलाई पोखरी भन्ने ठाँउमा रहेको वडा कार्यालय पुग्न ५ घण्टाभन्दा बढी समय लाग्यो ।
हिँडाइको चापले लखतरान परेकी उनले वडा कार्यालयमा एक घण्टाभन्दा बढी समय आराम गर्नुपर्यो । समयमै गाडी नपाउँदा त्यहि दिन उनी नागरिकता बनाउन खलंगास्थित जिल्ला प्रशासन कार्यालय आउन सकिनन् । उनले पोखरीस्थित आफन्तकै घरमा बास बस्नुपर्यो ।
एक महिनाअघि बच्चाको जन्मदर्ता गराउन चोत्रेस्थित घरबाट हिँडेकी २१ वर्षीया निर्मला बस्नेतले एक महिनाअघि निक्कै भोग्नुपर्यो । सचिव र अध्यक्ष दुवै नभएकाले पहिलो दिन उनले त्यत्तिकै घर फर्कनुपर्यो । उनले भनिन्, ‘एक दिनमै हुने कामका लागि मैले दुई पटक दुःख पाउनुपर्यो । बच्चा बोकेर उकालो–ओरालो लामो समय हिँड्नुपर्दा धेरै गाह्रो भयो । खुट्टा सुन्निएर दुई दिन कतै जान सकिनँ र केही काम गर्न सकिनँ । दुखाइ र सुन्निन कम हुने औषधि खानुपर्यो ।’
गत साता सडक योजनाको सिफारिसका लागि घरबाट हिँडेका ५० वर्षीय चन्दबहादुर ओलीले भने, ‘पल्लो डाँडामा बस्ती, वल्लो डाँडामा वडा कार्यालय छ । सबैलाई पायक पर्ने स्थानमा वडा कार्यालय राख्न आग्रह गर्दा कसैले सुनेनन् । सामान्य सेवाका लागि धेरै सास्ती छ । हिँड्न धेरै समय लाग्ने भएकाले कति सेवाबाट वञ्चित हुने गरेका छन् ।’
यी तीनमात्र नभई कालिमाटी गाउँपालिका १ चोत्रे र हिङ्गवरेका स्थानीयहरू नागरिकतादेखि अन्य सिफारिसका लागि वडा कार्यालय पुग्न ५ घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यताले समस्यामा परेका छन् । सामान्य सेवाका लागि स्थानीयले धेरै कष्ट उठाउँदै आएका छन् । भौगोलिक विकटताका साथै सम्बन्धित निकायले सबैलाई पायक पर्ने स्थानमा वडा कार्यालय राख्न नसक्दा चोत्रे र हिङ्गवरेका स्थानीय नागरिकतालगायत सिफारिसका लागि विभिन्न समस्या भोग्न बाध्य भएका हुन् ।
नागरिकताको सिफारिसदेखि लिएर बच्चाको जन्मदर्ता लगायत सेवाका लागि लामो समय हिँडेर वडा कार्यालय पुग्नुपर्ने बाध्यताले गर्दा कतिले आफ्ना बालबालिकाको समयमै जन्मदर्ता नगराएको र नागरिकता नबनाएको चोत्रेका स्थानीय कृष्ण खत्रीले बताए ।
भौगोलिक विकटताका कारण वडा नं. ३ मा चोत्रे र हिङ्गवरेलाई गाभ्न र वडाको शाखा कार्यालयको व्यवस्था गर्न माग राख्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा शारीरिक अशक्तता भएका र ज्येष्ठ नागरिक सामान्य कामका लागि पनि वडा कार्यालय पुग्दा बिरामी भई केही दिन थलिने गरेको उनले जानकारी दिए । ‘नागरिकतालगायत कुनै पनि सिफारिस तथा अन्य सेवाका लागि घरबाट बिहानै खाना नखाई हिँड्नुपर्छ । वडा कार्यालय पुग्दा दिउँसो १२–१ बज्छ,’ उनले भने, ‘न त खाना खान पाइन्छ, न भनेको समयमा काम हुन्छ । कहिलेकाहीँ न भोकै फर्कनुपर्ने हुन्छ ।’
शारीरिक अपांगता भएकाहरू आफैं हिंड्न नसक्ने र बोकेर लैजानुपर्ने हुँदा झनै गाह्रो हुने गरेको र एक जनाका कामका लागि तीन/चार जना साथमा लिएर जानुपर्दा अनावश्यक खर्च हुने स्थानीय चन्द्रबहादुर खत्रीले बताए ।
बस्तीदेखि वडा कार्यालय धेरै टाढा भएकाले कार्यालयबाट पाउने सेवाबाट स्थानीय वञ्चित हुने गरेको उनले जानकारी दिए । ‘चोत्रे र हिङ्गवरे नजिकै स्वास्थ्यसंस्था नभएकाले सामान्य उपचारका लागि वडा कार्यालय भएकै स्थानमा रहेको स्वास्थ्यचौकीमा जान कठिनाइ हुने भएकाले अहिले सबै स्थानीय दाङको पुरन्धारास्थित स्वास्थ्यसंस्थामा जाने गरेका छन् । चोत्रैमा ६२ र हिङ्गवरेमा ४५ गरी पहिला १ सय ७ परिवार बसोबास गर्दै आएकोमा सरकारीलगायत विभिन्न किसिमको सेवा लिन कठिनाइ भएपछि धेरैले बसाइँसराइ गरिसकेका छन् । दुई बस्तीमा अहिले ७३ परिवारमात्र बसोबास गर्दै आएका छन्,’ उनले भने ।
