वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको सत्ता समीकरणमा सकस भएको छ । कर्णालीमा माओवादी र एमाले मिलेर सरकारमा सहभागी थिए । अहिले कर्णालीमा एमाले ३ मन्त्रीसहित सरकारमा छ । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल सरकारमा छन् ।
यसअघि सरकार गठन हुँदा एमाले र माओवादीबीच अढाई/अढाई वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने सहमती भएको थियो । तर केन्द्रमा सत्ता समिकरण परिवर्तन भएपछि कर्णालीमा सत्ता समीकरणको विषय पेचिलो भएको हो । मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक लिएको विश्वासको मत एमालेले दिएको छ । शर्मालाई कांग्रेसले पनि विश्वासको मत दियो । १ जना राप्रपाकी सांसद सन्तोषी शाहीले मात्र मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर प्रतिपक्षमा बसिन् । पहिलो पटक मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको कांग्रेसले दोस्रो पटक विश्वासको मत दिएको हो । राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिनुपरेको थियो ।
शुक्रबार विश्वासको मत लिनुभन्दा अगाडि बसेको माओवादी केन्द्रको बैठकमा एमालेसँग विश्वासको मत माग्ने तर सहकार्य गरेर अगाडि बढ्न नसकिने छलफल भएको थियो । अहिले मुख्मन्त्री शर्मालेनै सरकारलाई निकास दिनुपर्ने जिम्मेवारी आएको छ । अहिलेसम्म एमालेका मन्त्रीहरूलाई सरकार छोड्न मुख्यमन्त्री शर्माले भनेका छैनन् । ३ दलको सरकार बनाएर एकजुट भएर अघि बढ्ने मनशायमा पनि माओवादी छ । यसमा एमाले पनि लचक देखिन्छ । तर कांग्रेस भने मान्ने पक्षमा देखिँदैन । सरकारको विषयमा एमाले र कांग्रेस दुवै दल माओवादीमा निर्भर देखिएका छन् । मुख्यमन्त्री शर्माले अहिलेसम्म प्रस्ट निर्णय भने गर्न सकेका छैनन् ।
कांग्रेस पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा अलमलमै छ । अहिलेसम्म कांग्रेस एमाले सरकारबाट बाहिरिएपछि मात्र माओवादीमा सहकार्य गर्ने मनशायमा देखिन्छ । माथिको सत्ता समीकरणअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसका सांसद धनश्याम भण्डारीले बताए । उनले भने, ‘अहिलेसम्म एमाले सरकारमै छ । हामीले गठबन्धनअनुसार विश्वासको मत दियौं । सरकारमा के गर्ने भन्ने माओवादीको हातमा छ ।
अहिलेसम्म सरकारमा जाने नजाने कुरा खासै भएको छैन । माओवादीले अब एमालेलाई सँगै राख्छ कि कांग्रेसलाई भन्ने कुरा हो ।’
एमाले सरकारबाट आफैं बाहिरिने पक्षमा छैन । सरकारबाट बाहिरिनेबारे केही छलफलै नभएको एमालेबाट सरकारमा रहेका सामाजिक विकासमन्त्री टेकराज पछाईले बताए । बाहिरिने भनेको भने हामी विश्वकासको मतै दिँदैन थियौं । उनले भने, ‘मुख्यमन्त्रीज्यूले सरकारमै रहेर सँगै काम गर्ने , सबै दल मिलेर सरकार चलाउनुपर्छ भन्नुभएको छ । त्यसैले बाहिरने भन्ने कुरा छैन ।’ मुख्यमन्त्री राजकुमार शर्माले सरकारबारे छलफलमै रहेको बताए । ‘अहिलेसम्म एमाले सरकारमा छ । आवश्यकताको हिसाबले मिलेर जानुपर्ने देखिन्छ’ उनले भने ।
