मुगुमा हिमपात, किसान उत्साही

माघ २३, २०७७

राजबहादुर शाही

मुगु — हिमपात भएपछि मुगुका किसान उत्साही भएका छन् । खडेरीले चिन्तित भएका उनीहरु हिउँ परेसँगै बाली सप्रने आसमा छन् । 

जिल्लामा बिहीबार दिउँसोबाट मौसममा बदली भई रातिदेखि हिउँ पर्न सुरु गरेको हो । रारा, मुर्मा मुन्दु, ताल्च, माथितुम, सोरुकोट, कालै, शोभा, बाम, खमाले, पापु, चिमाथलगायत बस्तीमा आधा फिटसम्म हिउँ जमेको छ ।

‘खडेरीले जौ–गहुा सुकाइसकेको थियो,’ सोरुकोट गाउँका पदम शाहीले भने, ‘अब हिउँ पर्‍यो सुबिकाल हुने आस पलायो ।’

किसानहरुका अनुसार जति धेरै हिउँ पर्‍यो उति धेरै अन्न उत्पादन हुने गर्छ । स्याउ, ओखर, आरूलगायत फल पनि सप्रन्छन् । पानीका मूल पनि बढ्न गरेका छन् । विकट भेगका किसानलाई यो सिजनमा हिउँ नपरे सुबिकाल आउँदैन । ‘हिउँको प्रतीक्षा गर्दै पुस बित्यो,’ शाहीले भने, ‘माघ बित्न थालेपछि बल्न हिउँ देख्न पाइयो ।’ 

पहिले पुस महिनामै बाक्लो हिमपात हुने गरेकामा पाँच वर्षयता माघ अन्तिमदेखि फागुन–चैतमा हिउँ पर्न थालेको छ । 

जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा यसपटक दोस्रोपटक हिउँ परेको छ । हिउँ परेपछि घुम्न आएका आन्तरिक पर्यटक खुसी भएका छन् । रारामा यस वर्ष दोस्रोपटक आधा फिट हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए ।

राजबहादुर

Link copied successfully