राजस्थान — भारतको राजस्थानको सिकर जिल्लामा एक अन्तिम संस्कारका क्रममा मौरीले आक्रमण गर्दा मलामीको भागाभाग भएको छ । चितामै शव छाडेर भागेका मलामीले डेढ घण्टापछि हेलमेट लाएर शव जलाएका छन् ।
सिकर जिल्लाको श्रीमाधोपुर क्षेत्रको कन्चनपुर गाउँमा उक्त घटना भएको हो । स्थानीय मसानघाटमा अन्तिम संस्कार गर्ने क्रममा मौरीले मलामीमाथि आक्रमण गरेको थियो ।
उक्त घटनामा २५ भन्दा बढी घाइते भएका छन् । १५ जना गम्भिर अवस्थामा रहेकालाई जिल्लाको खन्डेलारोडस्थित एक निजी अस्पतालमा भर्ना गरिएको हो ।
स्थानीय ८० वर्षीय माधोसिंह शेखावतको निधनपछि अन्तिम संस्कारका लागि उनको शव लिएर मलामी गाउँकै मसानघाट पुगेका थिए । जलाउनका लागि चितामा शव राखे । त्यसपछि केही मलामी मसानघाटमा राखिएका दाउरा लिएन गए ।
तब मसानघाटको मुख्य गेट नजिक रहेको पिपलको रुफमा गोला बनाएका मौरीले मलामीमाथि आक्रमण गरे । मौरीको आक्रमणपछि मलामीको भागाभाग भयो । चारैतर्फ ६ फिट अग्लो पर्खाल भएका कारण बाहिर निस्किन सकेनन् । जसका कारण धेरै जना मौरीको आक्रमणमा परी घाइते भए ।
इन्डिया टीभिमा प्रकाशित रिपोर्टअनुसार तत्काल घाइतेहरुलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । करिब डेढ घण्टापछि हेलमेट लाएर मलामीले अन्तिम संस्कार सम्पन्न गरे । स्थानीयले मसानघाटबाट मौरीको गोला हटाउन माग गरेका छन् ।
