१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किन घट्यो फिल्म ?

रीना मोक्तान

अघिल्लो वर्ष माघ महिनासम्ममा ८० वटा नेपाली फिल्म प्रदर्शनमा आइसकेका थिए । प्रदर्शनको तयारीमा रहेको ‘सेल्फी किङ’ र ‘साङ्लो’ सहित यो वर्ष माघ महिनासम्म आइपुग्दा प्रदर्शनमा आउने फिल्मको संख्या ५० पुग्छ । गतवर्ष सयको हाराहारीमा नेपाली फिल्म प्रदर्शनमा आए ।

किन घट्यो फिल्म ?

त्यसको तुलनामा यो वर्ष लगभग आधा नै देखिन्छ । फिल्म प्रदर्शनको संख्या घट्नु ठूलो विषय त होइन । तर, बढिरहेको फिल्मको संख्या यसरी ह्वात्तै झर्दा सबैको ध्यान तानिएको छ । फिल्म क्षेत्रलाई उद्योगको रुपमा हेर्ने हो भने यो धरासयी अवस्था नै हो ।


फिल्म पण्डितहरू चिसो मौसामका कारण पनि पछिल्ला महिना (मंसीर,पुस र माघ) फिल्मको संख्या घटेको तर्क गर्छन् । हुन पनि हो, पुसमा एउटै पनि नेपाली फिल्म रिलिज भएन । चिसोमा दर्शक हलसम्म धाउँदैनन् भन्ने अनुमान लगाएर व्यवसायीहरु फिल्म ल्याउन चाहदैनन् । यसैलाई सावित गर्‍यो पुसले । व्यवसायीहरु फिल्मको विक्रि–वितरण कुन बेला राम्रो हुन्छ भन्ने दाउ हेररै फिल्म रिलिज गर्छन् ।

फिल्मको संख्या घट्नुमा चिसो नै मुख्य कारण भने होइन । २०७५ सालको मंसिर, पुस र माघमा २१ वटा फिल्म प्रदर्शनमा आएका थिए भने यो वर्ष यी तीन महिनामा जम्मा ८ वटा फिल्म आउँदैछ । नेपाली फिल्मकर्मीले चिसोको बहाना देखाउँदै गर्दा बलिउडका बिग–ब्यानरका फिल्महरूले नेपालबाट करोडौंको व्यापार गरिरहेको छ । ‘छपाक’, ‘तानाजी’, ‘गुड न्यूज’, ‘जुमान्जी’, ‘स्टार वार्स’ लागयतका फिल्मले दर्शकलाई हलसम्म तानिरहे । गत वर्ष प्रदर्शनका लागि तँछाड मछाड गरेका नेपाली फिल्मकर्मी बलिउड अनि हलिउडका यी फिल्मसँग एकसाथ प्रदर्शनमा आउन डरायो । त्यसैले फिल्म रिलिजको मिति सार्न पछाडि पर्दैनन् नेपाली फिल्मकर्मी ।


पछिल्लो समय फिल्ममा लगानी सुनिश्चित नभएपछि लगानीकर्ताहरु घटेको उल्लेख गर्दै निर्देशक एवं कलाकार निश्चल बस्नेत भन्छन्, ‘व्यापार राम्रो नभएपछि लगानीकर्ता कम भएका हुन् । लगानी नै सुनिश्चित देखेनन् । अचेल सिक्वेल फिल्ममा लगानी नडुब्ने देखिएपछि लगानीकर्ताहरु त्यतै तानिएका छन् ।’ गत वर्ष अधिकांश फिल्म असफल भएका थिए । त्यसैको नतिजा यो वर्षको फिल्म संख्याले देखाएको तर्क गर्छन् उनी । गत वर्ष प्रदर्शनमा आएका ५/७ फिल्मले मात्रै लगानी उठाएको थियो । ‘इन्टूमिन्टू लण्डनमा’, ‘नाईं नभन्नु ल ५’, ‘जय भोले’ लगायतका केहि फिल्मले व्यापारिक सफलता पाएको थियो ।

केहि नेपाली फिल्मले विदेशको प्रदर्शनमै चित्त बुझाए । कतिले पोस्टर टाँसेको पैसासमेत उठाउन पाएनन् । ती फिल्मको असफलताले निराश भएका लगानीकर्ता यसपाली दोहोरिएनन् । २०७६ सालमा लगभग ५३ वटा फिल्म प्रदर्शनमा आउँदैछ । मंसिरसम्ममा ४७ फिल्म रिलिज भए र त्यसमध्ये थोरैलेमात्रै बजारमा सफलता पाए । बक्सअफिस रिपोर्टअनुसार ‘छ माया छपक्कै’, ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ सफल भए । आशा गरिएका फिल्महरू ‘पोइ पर्यो काले’, ‘घामड शेरे’, ‘चचहुँई’, ‘माछा माछा’, ‘जाइरा’ लगायत हलबाट तुरुन्तै उत्रिए ।

पछिल्लो समय धेरैजसो लगानी कमेडी फिल्ममा भएको छ । फिल्मकर्मीमाझ दर्शक हाँस्न चाहन्छन्, रमाउन चाहन्छन् भन्ने मान्यता स्थापित भएको छ । तर, गत वर्ष बनेका कमेडि फिल्मकै असफलताको असर यसपाली देखिएको निर्देशक मनोज पण्डित बताउँछन् ।

‘हाँसो नेपाली फिल्मको लागि बढी रोमाञ्चक हुन्छ, बढी फाइदाजनक हुन्छ भन्ने कुरा २–३ वर्षअघि स्थापित भयो । त्यसैले अघिल्लो वर्ष धेरै फिल्महरु हाँस्यरसमा आधारित रहेर बने । तर हाँसो स्थापित गर्नु कठिन काम हो,’ उनले तर्क गरे, ‘त्यो काममा धेरै फिल्मकर्मी असफल भए । त्यसले व्यापारीहरुको उत्साह कम भयो । त्यसैले यो वर्ष नेपाली फिल्म कम प्रदर्शनमा आएका हुन् ।’

अघिल्लो वर्ष ‘छक्का पञ्जा’ हिट भएको देखेपछि अधिकांश फिल्मकर्मी कमेडि फिल्मकैपछि दौडिए । दर्शक नै वाक्क हुने गरी नेपाली फिल्मकर्मीले एउटै स्वाद पस्किए । त्यसपछि ‘कोहलपुर एक्सप्रेस’, ‘अमेरिकन ब्वाइज’, ‘चंगा चेट’, ‘मिस्टर भर्जिन’, ‘झमकबहादुर’, ‘रामकहानी’, ‘सुश्री सम्पति’जस्ता कमेडी फिल्महरुको बाढी नै आयो । तर, ती फिल्मका निर्माताले पुर्पुरोमा हात राख्नुपर्‍यो ।

‘अघिल्लो वर्ष कति फिल्म प्रदर्शनमा आए त, त्यो भन्दा अघिको वर्षको परिणाम हो । त्यसैले यो वर्षको मुल्यांकन गर्न अघिल्लो वर्ष प्रदर्शन भएका फिल्मको व्यापार, फिल्मप्रतिको उत्साह, उमंगलाई हेर्ने हो भने अघिल्लो वर्ष निरासाजनक रह्यो,’ निर्देशक मनोजले सुनाए, ‘यो वर्षको प्रभाव अर्को वर्ष प्रदर्शनमा आउने फिल्ममा देखिनेछ ।’

प्रकाशित : माघ १७, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?