विराटनगरमा डेल्टा टेक

विराटनगरमा करिब २५ जना युवाहरूको एक समूह ॅडेल्टा टेक’ मार्फत दुई वर्षयता विभिन्न किसिमका मोबाइल एप र सफ्टवेयर विकास गर्न लागिरहेको छ ।

कता गोल्छाको नेतृत्वमा युवाहरूको एउटा टिम विराटनगरमा एप्स बनाउन सक्रिय छ  ।

विराटनगरमा डेल्टा टेक

व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी २९ वर्षीया एकता उपभोग्य वस्तु र सेवाको बजारीकरणका लागि उपयोगी र सस्तो हुने एप्स बनाउन खटिरहेकी छन् । उनलाई साथ दिएको छ, करिब २५ जनाको युवा टिमले ।
बिहानदेखि राति अबेरसम्म उनको टिम नयाँ–नयाँ आइडियामा छलफल गर्ने अनि उपयोगी एप्सहरू बनाउनेबारे काम गरिरहेको हुन्छ । ‘डेल्टा टेक’ नामले आबद्ध यो टिम वेब पेज डिजाइनिङ, विभिन्न किसिमका मोबाइल एप र सफ्टवेयरको विकास गर्न लागिरहेको छ । पहिलो चरणमा यो टिमले सेल्स एप निर्माण गरेर बिक्रीसमेत गरिरहेको छ । यो एपमार्फत कुनै पनि व्यापारिक संस्थाका कर्मचारीले सामानको अर्डर लिने, फिल्डका गतिविधि र कामको प्रगति इन्ट्री गर्ने जस्ता पक्ष अपलोड गर्न सक्ने एकता बताउँछिन् । यो एपलाई ‘डेल्टा सेल्स एप’ नाम दिइएको छ ।
कर्मचारीहरूले मोबाइलबाट प्रयोग गर्ने यो एपमा समावेश गरिएको सबै डाटा सम्बन्धित संस्थाको व्यवस्थापनले एकसाथ हेरेर अनुगमन गर्न सक्ने बनाइएको छ । यस्तो एप ५ सयभन्दा बढी संस्थामा बिक्री भएको उनले बताइन् । ‘एउटा प्रयोगकर्ताका लागि महिनाको ९ सय ५० रुपैयाँ लिने गरेका छौं,’ एकताले भनिन्, ‘यसमा जीपीएस पनि ट्र्याकिङ गर्न सकिने भएकाले कर्मचारीको अनुगमन र मूल्यांकन गर्न व्यवस्थापनलाई सजिलो हुनेछ ।’
कागजमा लेखेर सामानको अर्डर लिने, फिल्डमा गरेको कामको रिपोर्ट उसैगरी बनाउने अनि कर्मचारी बिदा जस्ता परम्परागत कुराहरू अब एपमार्फत नै गर्न सकिने संस्थाका एन्ड्रोइड डेभलपर महेन्द्र राजधामीले बताए । उद्योगी–व्यवसायीहरूले हालसम्म प्रयोग गर्दै आएका पुराना सफ्टवेयरहरूको ठाउँमा नयाँ सफ्टवेयर प्रयोग हुन थालेको संस्थाले जनाएको छ ।
डेल्टा टेकमा कम्प्युटर इन्जिनियर, सफ्टवेयर डेभलपर, वेब डिजाइनर, सफ्टवेयर डेभलपर, पीएचपी डेभलपर, अनलाइन मार्केटिङजस्ता क्षेत्रमा दक्षता प्राप्त युवाहरूको सहभागिता रहेको प्रोजेक्ट म्यानेजर विकासचन्द्र झाले बताए । बेलायतको अक्सफोर्ड र वारविक कलेजमा पोस्ट ग्र्याजुएसन एकताकै योजनामा यो संस्था बनेको हो । उनले स्वदेश फर्केर अभिभावकको उद्योगहरूमा केही समय काम गरिन् । कोलकाता गएर आईटी कम्पनीमा डाटा साइन्सको अध्ययन गर्दै कामसमेत गरेको उनले बताइन् ।


‘नेपालमै एउटा टिम बनाएर केही नयाँ गरौं भन्ने लागिरहन्थ्यो,’ एकताले भनिन्, ‘त्यसैले युवा साथीहरूको समूह बनाएर यो क्षेत्रमा काम गरिरहेका छौं ।’ हाल उनको टिमले उद्योग व्यापारको क्षेत्रमा उपयोगी हुने अर्को एप विकास गरिरहेको छ । ‘डेल्टा सेल्स सीआरएम (कस्टमर रिलेसनसिप म्यानेजमेन्ट)’ नामको एप बनाइरहेको छ । यसले व्यापारिक क्षेत्रमा काम गर्नेहरूलाई थप सहज हुने उनी बताउँछिन् । यस क्षेत्रमा भारतबाट आउने कम्पनीका प्रतिनिधिले सेल्स एप बिक्री गरिरहेको बताइन्छ ।
स्थानीय रूपमै विकास गरिएको एप प्रयोग गर्दा सस्तो र सहज हुने भन्दै डेल्टाको टिमले सरोकारवालालाई परामर्शसमेत गरिरहेको छ । विराटनगरमा मात्र होइन, काठमाडौं र वीरगन्जलगायत सहरमा पनि डेल्टाका प्रतिनिधि परिचालन गरिएको छ । उनीहरूले डेल्टाले उत्पादन गरेका सफ्टवेयर लिने र एप प्रयोग गर्नेहरूलाई सुरुमा यसको प्रयोगबारे प्रशिक्षणसमेत दिने गरेका छन् ।
‘हरेक क्षेत्रमा प्रविधिले सहज बनाइरहेको छ, नयाँ प्रविधि र टेक्नोलोजीमा जानैपर्छ भन्ने बिस्तारै धेरैले बुझ्न थालेका पनि छन्,’ एकताले भनिन्, ‘नयाँ कुरा स्विकार्न उति सहज हुँदैन तर हामी युवा लाग्यौं भने यो त्यति अप्ठ्यारो पनि छैन ।’
–माधव/विनोद

प्रकाशित : आश्विन ३, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?