कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइरल जोडी

प्रकाश सपुत र शान्तिश्री परियारको गलबन्दी च्यातियो... गीतले चर्चामा ल्याएको ॅढिलो आयो, कडा आयो’ अचेल सामाजिक सञ्जालमा खुबै चलेको छ ।
विमल खतिवडा

 
मौसम गर्मी छ  । तर लोकदोहोरी गायक प्रकाश सपुत गर्मी भए पनि घाँटीमा गलबन्दी नबेरी निस्कँदैनन्  ।

भाइरल जोडी

सडक, सार्वजनिक यातायात वा सांगीतिक कार्यक्रममा नै किन नहोस्, उनलाई देख्नसाथ प्रशंसक फोटो खिचाउन हतारिन्छन् । त्यतिमात्र होइन, उनीसँगै उनकै गीतमा टिकटकका लागि भिडियो बनाउन प्रतिस्पर्धा नै गर्छन् ।


उनीसँगै शान्तिश्री परियारको स्वर रहेको लोकदोहोरी गीत ‘गलबन्दी च्यातियो...’ जब जेठ ११ मा रिलिज भयो तब सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । टिकटकमा गलबन्दी बेरेर भिडियो क्लिप्स बनाउँदै अपलोड गर्नेको जमात ठूलै छ । गीत मात्र होइन, गायकद्वय दर्शक, श्रोतामाझ भाइरल बने । जोडीलाई अहिले स्टेजमा उपस्थिति जनाउन र सञ्चार माध्यममा अन्तर्वार्ता दिन भ्याइनभ्याई छ । यही जोडीले एक वर्षअघि वैदेशिक रोजगारीका क्रममा सिर्जित घटनाक्रमसम्बन्धी कथालाई गीतमा उतार्दै जीवन्त अभिनयमार्फत ‘बोल माया...’ सार्वजनिक गरेको थियो । जुन गीत निकै चर्चित भएको थियो ।


जसले बोल माया...गीत हेरे, सुने उसका आँखा रसाए । गीतले वास्तविक कथा बोकेकाले सबैको ध्यान खिच्यो । मोडल अञ्जली अधिकारीको अभिनय गीतमा प्रशंसायोग्य रह्यो । यिनै मोडल अहिले गलबन्दी च्यातियो... गीतमा दोहोरिएकी छन् । ‘बोल माया...’ पछि ‘गलबन्दी च्यातियो..’ गीत ल्याउँछु भन्ने थिएन,’ प्रकाश भन्छन्, ‘कथाले माग्यो, त्यसैले मेहनत गरेर गीत ल्यायौं,’ पहिलाको गीत रुवाउने थियो, अहिले नचाउने खालको छ । रोधी बसेर लोकलयमा रातभरि गाउने चलनलाई भिडियोमा देखाउने प्रयास गरिएको उनले सुनाए ।


बागलुङको काठेखोला गाउँपालिका ३ स्थित धम्जा घर भएका प्रकाशले लोकदोहोरी गायिका प्रीति आलेसँग मिलेर फरक स्वादको दोहोरी प्रतिस्पर्धा दर्शकमाझ ल्याए । भाग १ र २ दुवै दर्शक, श्रोताले रुचाए । आफ्नै स्वरमा २२ वटा गीत ल्याएको उनले सुनाए । ‘गलबन्दी च्यातियो गीत ठीकै होला, तर प्रत्येक टुक्काको पछाडि संवाद छ, जसले धेरै दर्शकको ध्यान खिचेको छ,’ प्रकाश भन्छन्, ‘रोधीमा एकोहोरो गीतमात्र गाइँदैन, यहाँ सुख, दुःख साटासाट हुन्छ, केटा र केटीको पक्ष–विपक्ष लिएर साथ दिने गरिन्छ, यसैलाई गीतमा देखाएका छौं ।’


गीतमा बोलिएको संवाद ढिलो आयो, कडा आयो...सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा प्रयोग गर्नेको जमात बढी छ । गीत आएसँगै उनी नेपालका विभिन्न जिल्लामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा उपस्थिति जनाउन व्यस्त छन् । गीत रिलिज भएको १० दिनसम्म युट्युब ट्रेन्डिङको एक नम्बरमा रह्यो । २३ हजार बढी प्रतिक्रिया आए । ‘दोहोरी ब्याटलबाट नाम र बोल माया गीतबाट विश्वास कमाएँ,’ उनी भन्छन्, ‘गलबन्दी च्यातियोबाट सबै उमेरका दर्शक कमाएँ ।’ दोहोरी गीतप्रति नाक खुम्च्याउनेहरूका लागि गलबन्दी च्यातियो गीत उत्कृष्ट दरिएको उनको दाबी छ । फिल्ममा गाउन र विज्ञापनमा अभिनय गर्न प्रस्ताव आएको छ । गीत गायन, लेखन, संगीत र अभिनय सबैमा अब्बल प्रकाश फिल्ममा एक वर्षसम्म गीत नगाउने बताउँछन् ।


‘उद्देश्य गीत गाउँमात्र भन्ने होइन,’ उनी भन्छन्, ‘गीत गाइसकेपछि त्यसको भिडियो बनाउनुपर्छ ताकि भिडियो हेरेर सबै कथा थाहा होस्, दर्शकको ध्यान तानोस्, भिडियोमा आफैं छु भन्ने अनुभूति होस् ।’ गायिका शान्तिश्री भिडियोमा देखिएकी छैनन् । तर जुन दिन गीत रिलिज भयो, त्यही दिन उनी कार्यक्रमको शिलशिलामा बेलायत पुगिन् । जति ठाउँमा कार्यक्रम आयोजना भए, त्यहाँ दर्शकको माग गलबन्दी...कै रह्यो ।


‘प्रकाशजीसँग गीत गाउन पाउँदा असाध्यै खुसी छु,’ रोल्पाकी शान्तिश्रीले भनिन्, ‘लामो समय सांगीतिक क्षेत्रमा सक्रिय भए पनि बोल माया... आएपछि दर्शक, श्रोतामाझ परिचय बलियो बन्न पुग्यो ।’ अहिले उनलाई प्रशंसकले ‘गलबन्दी गायिका’ भनेर बोलाउँदा खुसी लाग्ने बताउँछिन् । उनलाई पनि यो गीत आएसँगै व्यस्तता बढेको छ । जहाँ पुग्छिन्, त्यहाँ फोटो खिचाउन दर्शक, श्रोता झुम्मिन्छन् । ‘पहिला–पहिला लोकदोहोरी गीत मन पराउने दर्शक, श्रोता कम हुन्थे,’ उनी भन्छिन्, ‘अहिले सबै पुस्तामा लोकदोहोरी गीतको जुन क्रेज छ, यो देख्दा साह्रै खुसी लाग्छ ।’


केही समययता धेरै राम्रो भाका र भिडियोले गर्दा लोकदोहोरी गीत हिट छन् । दर्शक, श्रोताको मन जितेका छन् । शान्तिश्रीले ५ सय बढी गीत गाइसकेकी छन् । कार्यक्रममा इजरायल जाने तयारीमा रहेकी उनले साथमा पछ्यौरी र लुंगी बोकेर हिँड्न बिर्सने गर्दिनन् । त्यही पहिरनमा दर्शमाझ देखा पर्छिन् । ‘गलबन्दी... पूर्णतः लोकदोहोरी हो,’ उनी भन्छिन्, ‘भिडियो राम्रो बनेको छ, अधिकांश संवाद पनि गीतसँगै हिट भए ।’ युट्युबमा गलबन्दी...ले एक करोड भ्युअर्स पाइसकेको छ ।

twitter : @Bimalgmail

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?