१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

केपीको सफाइ

गाउँलाई गाउँ र सहरलाई सहर भन्ने हो भने देश कहिल्यै माथि उठ्दैन । ठूलो लागतमा भए पनि दुर्गममै बालगृह निर्माणमा सक्दो सहयोग गर्नुपर्छ ।

काठमाडौँ — अछाममा जन्मिएका केपी खनाल एसएलसी दिएपछि भारतमा भाँडा माझ्न पुगेका थिए । कैलालीस्थित लम्कीमा स्कुल पढ्दै सफाइ अभियान चलाएका उनी त्यसलाई राजधानीमा पनि निरन्तरता दिइरहेका छन् । सामाजिक सञ्जालमार्फत थुप्रै अभियान चलाइरहेका उनको कामबारे विद्या राई लेख्छिन् :

केपीको सफाइ


लाखौं युवा वर्ग चोकमा टायर बालेर, चक्काजाम गरेर अधिकार प्राप्तिका लागि सरकारसँग लड्छन् । १८ वर्षीय केपी खनाल भने सकारात्मक कार्य गरेर सरकारको विरोधमा उत्रिने गर्छन् । उनी सामाजिक सञ्जालको सदुपयोग गरेर सामाजिक अभियानमा निरन्तर अघि बढेका छन् ।


सुदूरपश्चिमको छोरो केपीले उच्च शिक्षाका लागि २०७४ सालमा राजधानीमा पाइला टेके । एकाबिहानै उठेर क्याम्पस जाँदा बाटामा आफूजस्तै युवायुवतीले चुइगम, चाउचाउ खाएर खोल सडकमा फालेको देख्थे । आफैं फोहोर फालेर अरूलाई दोष लगाउने प्रवृत्ति उनलाई मन परेन । उसै पनि काठमाडौंको निसास्सिँदो धूवाँधूलो र फोहोरको डंगुरले अवाक थिए उनी । यत्तिकैमा ‘आफू बदलिए, देश बदलिन्छ’ भन्ने सोच पलायो । सबै नेपालीसामु यो सोच पुर्‍याउन सफाइ अभियान थाले । उनले फेसबुकमा अभियानको आह्वान गरे ।


२०७४ पुस २७ मा विभिन्न संघसंस्था, राजनीतिज्ञ, विभिन्न ओहदाका, व्यक्तित्वहरू, जनप्रतिनिधि तथा युवा वर्ग भेला गरेर कोटेश्वर–माइतीघर मण्डलामा ‘क्लिन काष्ठमण्डप’ अभियान थाले । करिब एक हजारको सहभागिता थियो । त्यसयता काठमाडौं र देशभर सफाइ अभियानले तीव्रता पाइरहेको छ । इनरुवा, विराटनगर, धरान, जनकपुर, चितवन, नेपालगन्ज, लम्की, टीकापुरमा सफाइ अभियानका लागि उनी आफैं सहभागी भए । युवा पुस्ता र अग्रज वर्गले उनलाई साथ दिइरहेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेताहरू लालबाबु पण्डित, प्रकाशमान सिंह, नविना लामालाई अभियानका प्रेरणा मान्छन् उनी । पढ्न आएका केपी सफाइ अभियानमा जुटेपछि सामाजिक सञ्जालमा एकाएक उनको चर्चा भयो ।


०७५ साल लागेपछि सुदूरपश्चिमको विकट बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकास्थित ‘कन्सर्न बाजुरा’ संस्था उनको सम्पर्कमा आयो । संस्थाले तीन वर्षदेखि बाजुराका १२ जना अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको छ । त्यसका लागि बालगृह बनाउन चाहेको थियो । आर्थिक अभावमा गुज्रिएको संस्थाका लागि उनी ५० लाख रुपैयाँ लागत रकम जुटाउन लागे । शौचालय, स्नानगृहसहितको चार–चारकोठे तीनवटा भवन बनाउन स्थानीयले जग्गा दान गरे । केपीले फेसबुक अभियान ‘सके हजार नसके प्रचार’ मार्फत रकम संकलन गरिरहेका छन् । संकलित ३५ लाख हस्तान्तरण गरिसकेका उनले भने, ‘अहिले ४० बढी अनाथ बालबालिका राख्ने क्षमताका भवन निर्माण भइरहेको छ । निर्माण कार्य ८५ प्रतिशत सकियो । गाउँलाई गाउँ र सहरलाई सहर भन्ने हो भने देश कहिल्यै माथि उठ्दैन । ठूलो लागतमा भए पनि दुर्गममै बालगृह निर्माणमा सक्दो सहयोग गर्नुपर्छ ।’


गएको बर्खामा सिसडोलको ल्यान्डफिल्ड साइट भरिएर उपत्यकाको फोहोर एक महिनासम्म नउठेपछि सरकारको विरोध स्वरूप रातको समय सिंहदरबार र काठमाडौं महानगरपालिकाको गेटमा फोहोर थुपारेको थियो । राति बागबजारमा लाइट बाल्दै फोहोर उठाउँदा प्रहरीले धरपकड गर्‍यो । तैपनि उनी विचलित भएनन् । उनी झाडु र पञ्जा लिएर फोहोर उठाउन सडकमा उत्रिन्छन् । सहयोग रकम जुटाएरै बेसहारालाई लत्ताकपडा वितरण गरिरहेका हुन्छन् । सामाजिक अभियानमा लागेको करिब तीन वर्षमा करिब एक करोड रुपैयाँ जुटाएर सहयोग गरेका छन् ।


आफ्नो सामाजिक कार्य क्षणिक चर्चाका लागि नभएर गरिबी, अशिक्षा र चेतनाको अभावमा गुज्रिरहेका समुदाय तथा वर्गको हितका लागि रहेको बताउँछन् उनी । यस कार्यलाई उनी साथ पाउन्जेल निरन्तरता दिन चाहन्छन् । राति १ बजेसम्म सामाजिक सञ्जालमा व्यस्त रहेर पनि बिहान ६ बजे उठ्ने गरेका उनले सामाजिक सञ्जालबाटै सहयोग संकलन गरेका हुन् । उनका फेसबुकमा ५३ हजार, फेसबुक पेजमा ९० हजार, ट्वीटरमा ७ हजार र इन्स्टाग्राममा ५ हजार फलोअर्स छन् । उनले निरन्तर सम्मान पाइरहेका छन् । हाल कर्णाली ब्लुज र गीता पढिरहेका उनले भने, ‘युवाले चोकमा टायर बालेर होइन, सकारात्मक कार्य गरेर सरकारको विरोध गर्नुपर्छ । यो नै मेरो अभियान हो ।’

सुदूरपश्चिमका अधिकांश मानिस गरिबी, अशिक्षा र चेतनाको अभावले गुज्रिरहेका छन् । थुप्रै युवा पिँढी भारतमा चौकीदारीको काम गर्छन् । उनका बुबा धनिराम खनाल र आमा मनसरा भारतमा चौकीदारी गर्छन् । उनी अछाममा जन्मिएका हुन् । दुई बहिनी र एक भाइ हाल लम्की, कैलालीमा बस्छन् । उनले गाउँमा कक्षा ८–१० सम्म पढ्दा टीकापुरको नमस्ते रेडियोमा बाल बहस कार्यक्रम चलाएका थिए । त्यस बेला बुबाआमा मजदुरी गर्थे ।


‘जेठो छोरामा जिम्मेवारी बढ्यो र म मासिक एक हजार रुपैयाँका लागि लम्कीदेखि टीकापुरसम्मको १३ किमि साइकल कुदाएरै ओहोरदोहोर गर्थें,’ उनले भने ।


उनी एसएलसी दिएर भारतमा काम खोज्न गएका थिए । त्यस बेला १४ वर्षको रहेका उनले भने, ‘एक महिनासम्म काम पाइएन । बुबाले चिनेको होटलमा १० दिनसम्म काम गरें । अर्को होटलमा तीन महिनासम्म भाँडा माझें । तलब मासिक भारु ५ हजार थियो । त्यसैले काठमाडौंमा आएर फोहोर उठाउने तागत दियो ।’ एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरें । आर्थिक हैसियतले नभ्याएपछि विज्ञान पढ्ने सपना त्यागेर गाउँमै व्यवस्थापन पढें । प्रथम श्रेणीमै पास गरें । अनि काठमाडौं लागें । अहिले उनी विपन्न परिवारलाई खुसी बाँडिरहेका छन् ।


उनी बीबीएसमा भर्ना भएका थिए । तर, अग्रजको सुझावअनुसार उनी बीएसडब्लुतिर लागे । छात्रवृत्तिमा टेक्सस इन्टरनेसनलमा अध्ययनरत छन् । एपेन्डिक्सको उपचार गराउन जाँदा ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलाई भेटे । उनले केपीलाई ६ महिनायता बस्ने व्यवस्था गरिदिएका छन् । साथै उनी सफाइ अभियानमा पनि जोडिए । त्यसअघि उनी बानेश्वरमा साथीको कोठामा बस्थे ।


उनी सानैदेखि हक्की स्वभावका थिए । सात कक्षामा अध्ययनरत छँदै उनले अल्कोहल सेवन गरेर स्कुल आएका शिक्षकको विरोध गरेका थिए । गाउँमा छँदै सफाइ अभियान चलाएका उनी १२ कक्षामा पुगेपछि सहयोगी बनेका हुन् । फेसबुक अभियान ‘दसंैमा दशा लागेकाहरूलाई सहयोग’ बाट तीन लाख संकलन गरी उनले कैलालीको ५५ घरलाई अन्न, लत्ताकपडा दिएका थिए । त्यसपछि हुम्लामा खाद्यान्न र शैक्षिक सामग्री पुर्‍याए, ‘भोकै छ हुम्ला अभियान’ मार्फत ।


उनी सहयोगीहरूको हिसाब प्रस्टै राख्ने बताउँछन् । ‘५० रुपैयाँदेखि लाखौं दिनेको हिसाब पारदर्शी छ,’ उनले सुनाए, ‘सामाजिक सञ्जालबाटै करोडांै सहयोग गर्ने मनकारी देखेर चकित लाग्छ ।’

प्रकाशित : पुस २०, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?