भिलेन पो बने दीपक

चटपट–झटपट

असार ३०, २०७४

सुशील पौडेल

हास्य सिरियल निर्माणमा रमाइरहेका दीपकराज गिरीले फिल्म छ एकान छ बनाउँदा आफैं हिरो बने । उक्त फिल्ममा दीपकले सलमान खानको नक्कल नै गरेका छन् । फिल्म नै कमेडी जानराको भएकाले त्यसमा दर्शकले मजा नै माने ।

त्यसपछि आफ्नै ब्यानरमा बनेको वडा नम्बर छमा पनि दीपक नै हिरो बने ।

दुवै फिल्ममा सीताराम कट्टेल ‘धुर्मुस’ विशुद्ध कमेडियन थिए । छक्का पञ्जामा आइपुग्दा बाटो फेरियो । धुर्मुस भूकम्पपीडितका लागि बस्ती निर्माणमा जुट्दा छक्का पञ्जा खेल्न छुट्यो । तर पनि सामाजिक कर्मले उनलाई एकाएक देशकै हिरो बनायो । त्यसो त छक्का पञ्जामा दीपक पुन: मुख्य भूमिकामा देखिए ।

तर यसपटक भने उनी हिरो मानिएनन् । गत साता हेटौंडामा आयोजित डी सिने अवार्डमा दीपकराजले उक्त फिल्मबाट उत्कृष्ट भिलेनको अवार्ड पो पाए । जबकि त्यसअघि एक अवार्डमा उनी सोही चरित्रका लागि उत्कृष्ट नायकको मनोनयनमा परेका थिए ।

हुन त दीपक पछिल्लो समय फिल्म अवार्डका लागि भिलेन नै सावित भइरहेका छन् । उनी त्यस्ता समारोहमा दलबलसहित सहभागी पनि हुन्छन् । अवार्ड पनि आफैं पाउँछन् । अनि ट्रफी लिन पनि जान्नन् । 

सुशील

Link copied successfully