कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

किरणको करेज

पर्वत पोर्तेल

गएको महिना भारतको झारखण्डमा आदिवासी फिल्मसम्बन्धी दुई फरक फेस्टिभल भए, रस्का र आइसफा अवार्ड । यी दुवै फेस्टिभलमा सहभागी सन्थाली फिल्म ‘बोनोदल’ ले जुरी र सिनेम्याट्रोग्राफी अवार्ड जित्यो ।

किरणको करेज

फेस्टिभलभर बोनोदलको मात्रै चर्चा भएन, त्यसका निर्देशक/अभिनेता किरण खतिवडा (३१) को कामको मुक्तकण्ठले प्रशंसा गरे भारतीय मिडियाहरूले । उम्दा निर्देशक किरण हौसिए– ‘हाम्रो फिल्म यसरी रुचाइएला भन्ने कल्पना पनि गरेको थिइनँ ।’ 
झारखण्ड फिल्म फेस्टिभलपछि थप हौसिएका किरण सन्थाली कल्चरलाई वल्र्डवाइड पार्ने प्रयत्नमा छन् । भारतकै राजस्थान, अस्ट्रेलियाजस्ता मुलुकमा आयोजना हुने फिल्म फेस्टिभलमा बोलावट भइरहेको छ । 
झापा र मोरङमा मात्रै बस्ने लोपोन्मुख आदिवासी सन्थाल (सतार) समुदायको विषयमा फिल्म निर्माण गर्नु पहाडे समुदायका किरणका लागि कम चुनौतीपूर्ण थिएन । तर, उनले त्यो चुनौतीलाई अवसरका रूपमा लिए । अन्तत: सफलता पाइछाडे । ‘सन्थाल भाषाको फिल्म बनाउँदै छु भन्दा न घर परिवारले पत्याए न त साथीभाइले नै,’ किरण भन्छन्, ‘अहिले सबै चकित भएका छन् ।’ 
करिब एक दशक दुबई बसेर फर्किएपछि किरणले आफ्नो रुचिको फिल्म लाइन नै समात्ने निर्णय लिए । दुबई उड्नु अघिल्लो दिनसम्म उनी फिल्म क्षेत्रमै संघर्षरत थिए । तर, समय परिस्थितिले परदेशी बनायो । पैसा कमाएर फर्किएपछि फिल्मी क्षेत्रलाई पुन: अँगाल्ने अठोट थियो । १० वर्ष दुबई बस्दा कमाएको केही पैसा लगानी गर्ने र राम्रो फिल्म बनाउने सोचका साथ घर आउनेबित्तिकै सन्थाल भाषाको फिल्म सुरु गरे । सन् २००८ तिर दुबईमै रहँदादेखि नै उनले सन्थाली कथामा फिल्म बनाउने योजना बुनेका रहेछन् । आफ्नै गाउँ–ठाउँको कथालाई फिल्म बनाउने उनको सोच थियो । त्यसैले निकै पिछडिएको अशिक्षित, गरिब सन्थाल समुदायको कथा यिनले रोजे । फिल्मलाई जीवन्तता दिन उनले सन्थाली पात्रहरूलाई लिड क्यारेक्टरमा समावेश गरे । कलाकारै थिएनन् यो समुदायमा । कलाकार छान्न निकै पापड बेल्नुपर्‍यो यिनलाई । फिल्म बनेपछि धेरै सेलिब्रिटी बनेका छन् । माओवादीका सांसद मोहन टुडुले पनि अभिनय गरेका छन् । 
दुबईको हाई प्रोफाइल लाइफ चटक्क छाडेर आएका यिनलाई नयाँ र भिन्न शैलीमा काम गर्ने सोच आयो । ‘फिल्म त सबैले बनाइरहेकै छन्,’ किरणले सुनाए, ‘तर, फरक किसिमको फिल्म कसरी बनाउने भन्ने कुराले लामै समय डेरा जमायो दिमागमा ।’ ‘बोनोदल’ मा यिनले सन्थालको इतिहास, रहनसहन, परम्पराका साथै सामाजिक क्रान्तिलाई बुलन्द ढंगले चित्रण गरेका छन् । ४१ लाख रुपैयाँको निजी लगानीमा सन्थाली फिल्म निर्माण गरे करिब वर्ष दिनभित्र । आदिवासीको विषयमा बनेको सम्भवत: महँगो र नयाँ प्रविधिको प्रयोग फिल्ममा छ । ‘फिल्म बनाउन सजिलो होइन । त्यसमा पनि अन्य भाषाको फिल्म बनाइनु नट अ जोक,’ किरण अनुभव साट्छन्, ‘मिहिनेत निकै गरेको छु, त्यसैले फिल्म पनि सोचेभन्दा राम्रो बनेको छ ।’ 
...
चार वर्षको उमेरदेखि फिल्म हेर्ने लत बसेको थियो किरणको । पढाइमा भन्दा फिल्ममा क्रेजी रहेछन् यिनी । प्लस टु भन्दा धेरै पढ्न सकेनन् । बुबाको इच्छा छोरालाई आफूजस्तै बिजनेस म्यान बनाउने या त अस्ट्रेलिया गएर सेटल होस् भन्ने थियो । तर, बुबाको पदचाप पछ्याएनन् र फिल्मी बाटो रोजे । 
उनले कलाकार रवीन श्रीले बिर्तामोडमा सञ्चालन गरेको पूर्वाञ्चल कला केन्द्रमा अभिनय कला सिके । अभिनयमा डिप्लोमा गरे । सडक नाटक, स्टेज नाटकहरू गरे । ‘बदलिएको मन’ नामक नाटकमा यिनको अभिनय देखेर क्यामरा पर्सन प्रकाश प्रसाईंले हौस्याएछन्, ‘तिम्रो एक्टिङ राम्रो छ, यो क्षेत्रमा तिम्रो भविष्य उज्ज्वल छ ।’ 
त्यसपछि ‘जन्म दिन’ नामक छोटो पर्दाको फिल्म बनाउने योजना बनेछ । 
साथी अमृत श्रेष्ठसँग मिलेर ‘जन्म दिन’ बनाए । निर्देशन गरे रवीन श्रीले । भलै त्यो फिल्मबाट उनले केही उपलब्धि पाएनन् । बरु थोरबहुत नगद गुमाए । 
तर, हरेस खाएनन् । अर्का मित्र राजेश कोचसँग मिलेर राजवंशी भाषाको ‘वचन’ फिल्म बनाए । पटकथा, संंंवाद आफैं लेखे । लिडिङ क्यारेक्टर पनि गरे । तर, क्षेत्रीयस्तरका र आदिवासी फिल्महरू त्यो समय खासै प्रभावकारी थिएनन्, कलाकारका रूपमा स्थापित हुन । 
फिल्म क्षेत्रबाट थाकेर, धेरै पैसा डुबाएर पछि २००७ मा दुबईतिर भासिएका उनले दुबईमा रहँदा पनि आफ्नो प्यासन छाडेनन् । बरु समय बचाएर म्युजिक भिडियोहरू निर्देशन गरे । अभिनय गरे । त्यही समयमा गायक भरत सिटौला, हेमन्त राना, तारावीर विष्टजस्ता गायकका दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरे । ‘आफ्नो रुचिको विषयलाई दुबईमा पनि जारी राखे । चुप लागेर पटक्कै बसिनँ,’ किरणले थपे, ‘त्यसैको परिणाम हो सन्थाली फिल्म बोनोदल ।’ निकट भविष्यमा नेपाल–भारतबीचको सांस्कृतिक समानताको विषयसँग सम्बन्धित फिल्म निर्माण गर्ने तयारीमा छन् । ‘यो मेरो ड्रिम प्रोजेक्ट हो,’ उनले अन्त्यमा थपे, ‘नेपाल र भारत दुवैतिरका कलाकारहरूलाई फिल्ममा समेट्ने योजना छ ।’ 

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?