सामान्य दिनमा अन्य सवारी साधनबाट सडकमा हेपिने र पेलिने साइकल नाकाबन्दीपछि एकाएक चर्चित रह्यो।
काठमाडौं — उषा तितिक्षु ११ वर्षकी थिइन्, जब उनले पहिलो पटक साइकल चलाइन्। चार दशक पूरा गरिसकिन्, अझै काठमाडौंका सडकमा साइकल चलाएरै यात्रा गरिरहेकी हुन्छिन्। ‘त्यस बेला म कपिलवस्तुमा बस्थें, हिरो साइकल किनेको थिएँ,’ सोमबारको भेटमा उनले भनिन्। उनले हालसम्म ४/५ साइकल फेरिसकेकी छन्।
‘कुनै चोरी भयो, कुनै बिग्रियो, कुनै अरूलाई गिफ्ट पनि दिएँ,’ अहिलेको साइकललाई देखाउँदै भनिन्, ‘योचाहिँ मलाई पनि अरूले गिफ्ट दिएको हो।’
भारतले लगाएको अघोषित नाकाबन्दीपछि उपत्यकाका सडकहरूमा साइकल चढ्ने धेरै देखिए। सामान्य दिनमा अन्य सवारी साधनबाट सडकहरूमा हेपिने, पेलिने साइकल नाकाबन्दीपछि एकाएक चर्चित रह्यो। हिरो साइकल एउटा ब्रान्ड भएजस्तै साइकल सडकको हिरोका रूपमा उदायो। नेतादेखि मन्त्री, सचिवसम्म साइकल चढेर प्रचार गर्न भ्याए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतले नाकाबन्दी लगाए, नेपाली जनताले साइकल नै चढ्ने भाषण गरे।
त्यसपछि साइकल चढ्नुलाई ठट्यौली पारामा ‘प्रचण्ड पथ’ पनि भन्न थालियो। अघोषित नाकाबन्दी र त्यसबाट भएको इन्धन अभावका कारण मान्छेहरूलाई यात्रा गर्न कठिन भइरहेको छ। उषामा त्यसको कुनै प्रभाव परेको देखिन्न। साइकल चढ्छिन्। आफ्नो काममा पुग्छिन् र फर्किन्छिन्। ‘नारायणथानबाट रत्नपार्क आइपुग्न २० मिनेट लाग्छ। भक्तपुरबाट पुतलीसडक आइपुग्न ३० मिनेट लाग्छ,’ उनले भनिन्, ‘काठमाडौं उपत्यकामा साइकलमै यात्रा गर्न सकिन्छ।’
नाकाबन्दीपछि साइकल किन्ने भीड राजधानीका पसलहरूमा ह्वात्तै बढेका छन्। त्यसमा पनि न्युरोड, असन इन्द्रचोक, ठमेलमा ग्राहकको घुइँचो दिनानु दिन बढिरहेको छ। नेपालको पहिलो साइकल पसलका रूपमा चिनिने सन् १९२५ मा स्थापना भएको असनमा स्थापना भएको ‘पञ्च अष्टनारायण साइकल पसल’ का सञ्चालक तिकेर मानन्धर भन्छन्, ‘अहिले साइकलको माग ह्वात्तै बढेको छ। डिमान्ड बढी छ तर सप्लाई गर्न सकिएको छैन।’
उनले दु:खेसो पोखे, ‘तर के गर्ने, हाम्रो सामान कोलकाता बन्दरगाहबाट आउँछ। अहिले नाकाबन्दीका कारण सबै सामान उतै रोकिएको छ।’ नेपालमा अधिकांश साइकल आउने भारतबाट हो। त्यसपछि चीन, अमेरिका, सिंगापुर र ताइवान लगायतका मुलुकबाट साइकल भित्रिन्छन्। नेपालमा विश्वका सामान्यदेखि विश्वका प्रख्यात ब्रान्डका साइकल पाइन्छ। नेपालमा साइकलबारे वैज्ञानिक डाटा र अध्ययन अनुसन्धान भएको छैन।
आफ्नो हजुरबाको बाबुले सुरुआत गरेको पसल हाल आएर ४/५ फरक स्थानमा फैलिसकेको बताउँछन्, तिकेर। उनी ठाउँ हेरेर के प्रयोजनका लागि साइकल चलाउने र कसले चलाउने भन्नेबाट साइकल किन्नुपर्ने बताउँछन्। साइकलको स्तर बढेर अहिले माउन्टेन बाइकमा पुगेको छ। ‘सिटी, क्रसकन्ट्री, डाउनहिल हेरेर ठाउँ अनुसार साइकल किन्नुपर्छ,’ उनले भने।
उनले गियर नभएको साइकल ७ हजारदेखि ७ लाखसम्मको साइकल पाइने बताउँछन्। सरकारले काठमाडौंलाई साइकल सिटी बनाउने भन्दै तिलगंगाबाट सिनामंगलसम्म साइकल लेन बनायो। तर त्यो साइकल चलाउनका लागि प्राविधिक रूपमा ठीक छैन। माइतीघरबाट तीनकुनेसम्म मुख्य सडकको छेउमा पनि साइकल लेन बनाइएका छन्।
‘तर त्यो पनि प्राविधिक रूपमा ठीक छैन। साइकल चलाउन मिल्ने गरी सडकको तल्लो भाग र लेनलाई मिलाइएको छैन,’ साइकल सिटी नेटवर्कका कार्यकारी निर्देशक तक्षुविक्रम मल्लले भने। सडक विभाग, वातावरण मन्त्रालय, काठमाडौं नगरपालिकालगायतका स्थानमा गएर नीतिगत स्थलमा साइकललाई विस्तार गर्ने काममा आफ्नो संस्था लागिपरेको बताउँछन् उनी। उनले थपे, ‘तर सोचेजस्तो रूपमा काम अघि बढ्न सकेको छैन।’
साइकल चलाउनेलाई नेपालका सडकमा सबैभन्दा चिन्ताको विषय हो, एउटा लेन नहुनु र अर्को कुनै अर्को सवारी साधन आएर हान्देला भन्ने डर। उषा भन्छिन्, ‘कति खेर मरिन्छ, थाहा छैन। नाकाबन्दी लगाएर पछि केही दिन साइकल चलाउन सहज भएको थियो। अहिले फेरि सडकमा अन्य गाडीको चाप उस्तै भयो।’ सडक असुरक्षा भएकै कारण डा. प्रह्लात योञ्जनको गाडीले हानेर दुई वर्ष अघि मृत्यु भयो।
पुष्कर शाहले साइकल नै चढेर विश्व परिक्रमा गरे। उनलाई लिएर नेपालीहरू गर्व गर्छन्। तर आफैं भने साइकल चलाउँदैनन्। ‘सबैभन्दा पहिलो त हामी कस्तो लाइफ जिउने भन्ने। साइकल चढे समाजमा सान कम हुन्छ भन्ने हाम्रो मानसिकता छ। यो मानसिकता नघटेसम्म केही हुँदैन,’ उषाले भनिन्। साइकलमा यात्रा गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ।
‘यदि नेपालका क वर्गका बैंक र अन्य कार्यालयमा साइकल मैत्री बनाउने हो भने धेरै राम्रो हुन्छ,’ उषाले भनिन्, ‘तर विडम्बना हालसम्म न कार्यालय न सडकका छेउ साइकल पार्किङ गर्ने ठाउँ कत्तै पनि भेटिनन्।’ साइकल प्रेमी मिलेर क्रिटिकल मास भन्ने संस्थाले यसबारे नेपालमा पनि वकालत गर्दै आएको हो। ‘हाम्रो मुख्य लक्ष्य सबैले साइकल चढुन् भन्ने हो,’ क्रिटिकल मासमा संलग्न विजयरत्न शाक्य भन्छन्।
उनी हाल लुम्बिनीमा छन्। ‘यता त क्रिटिकल मासका बारेमा केही गर्नु नै पर्दैन तर काठमाडौंमा यो अभियान चलाउनु जरुरी छ।’ उनले क्रिटिकल मास आउनुका कारण नेपालमा साइकल चढ्ने भनेको गरिबले मात्र हो भन्ने कुरालाई हटाउनुपर्ने बताए। ‘त्यसैले हामीले नयाँ माउन्टेनबाइकभन्दा पुराना साइकल चलाएर अरूलाई प्रोत्साहन गर्छन्,’ उनले थपे। उनका अनुसार मन्त्री र अन्य ठूला व्यक्तिले जस्तै गरी एक दिन साइकल चढेर नाटक गर्नु गलत हो। सबैले साइकल चढे भइहाल्यो।
वातावरण मैत्री साइकलका बारेमा सरकारका तर्फबाट यातायात व्यवस्था विभागले कुनै नीति/नियम बनाएको छैन। सडकमा सबैभन्दा बढी यात्रु हिँड्छन् र सार्वजनिक यातायातको प्रयोग गर्छन्। तर नीति सवारी साधनलाई लक्षित गरेर यातायातको नियम बनाइएका छन्। मान्छेको स्वास्थ्यका लागि पनि महत्त्वपूर्ण मानिने साइकल चालकको संख्या बढे सबैलाई फाइदा हुने देखिन्छ।
