जलनका घाइतेलाई तत्काल के गर्ने ? 

पहिलो प्राथमिकता बिरामीको श्वासप्रश्वास जोगाउनु हो । बिरामीलाई आगोबाट सुरक्षित स्थानमा सार्नुपर्छ । यदि शरीरमा आगो लागेको छ भने दौडिनु हुँदैन ।

असार २८, २०८३

डा. पियुष दाहाल

काठमाडौँ — पछिल्ला दिनमा आगलागी र आत्मदाहका घटनासँगै जलनका बिरामीको संख्या पनि बढ्दो छ । यस्ता घटना किन बढिरहेका छन्, जलन भएमा तत्काल के गर्ने, उपचार र रोकथामका उपाय के हुन् भन्ने विषयमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालसँग गरिएको कुराकानी : 

जलनका बिरामी अस्पताल आइपुग्दासम्म उनीहरूको अवस्था कस्तो हुन्छ ?

सबै बिरामीको अवस्था एउटै हुँदैन । दुर्घटना कहाँ भयो, अस्पताल कति टाढा छ, बीचमा प्राथमिक उपचार भयो कि भएन भन्ने कुराले बिरामीको अवस्था निर्धारण गर्छ ।अनुहार, घाँटी वा छातीको माथिल्लो भागमा जलन भए श्वासनली पनि प्रभावित हुन सक्छ ।श्वासप्रश्वासमा असर पुगेपछि बिरामीको अवस्था छिट्टै गम्भीर बन्छ र समयमै उपचार नपाए मृत्यु समेत हुन्छ । 

उद्धारका क्रममा सबैभन्दा बढी के कुरामा ध्यान दिनुपर्छ ?

पहिलो प्राथमिकता बिरामीको श्वासप्रश्वास जोगाउनु हो । बिरामीलाई आगोबाट सुरक्षित स्थानमा सार्नुपर्छ । यदि शरीरमा आगो लागेको छ भने दौडिनु हुँदैन । दौडिँदा आगो अझ फैलिन्छ । त्यसको सट्टा भुइँमा पल्टिएर लडिबुडी गर्नुपर्छ, जसले आगो निभाउन मद्दत गर्छ । त्यसपछि जलन भएको भागमा चिसो बगिरहेको पानी हालेर सकेसम्म छिटो अस्पताल लैजानुपर्छ । 

समयमा नै उपचार नपाउने अवस्था किन आउँछ ? 

अस्पतालमा आवश्यक औषधि, ड्रेसिङ सामग्री र उपकरणको नियमित आपूर्ति नहुन सक्छ । बिरामीले यी सबै उपकरण चिकित्सकको जिम्मामा हो भनेर बुझ्ने गर्छ । इमर्जेन्सीमा औषधि नहुन सक्छ । जसले बिरामीका आफन्तलाई उपचारकै बीचमा औषधि वा सामग्री किन्न बाहिर पठाउनुपर्दा हामीलाई पनि असहज लाग्छ ।अस्पतालको आपूर्ति प्रणाली नै बलियो नभएसम्म यो अवस्था आइरहन्छ । 

यस्ता घटना रोक्न राज्य र समाजले के गर्नुपर्ला ?

यसमा राज्य मात्र होइन, व्यक्ति स्वयं पनि जिम्मेवार हुनुपर्छ । कानुन र नियमको पालना गर्ने बानी बसाल्नुपर्छ । सुरक्षा निकायले पनि नियमको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।हाम्रो समाजमा धेरैजसो समस्या आवेगमा प्रतिक्रिया दिने बानीका कारण बढ्छन् । त्यसैले रियाक्सन होइन, रेस्पोन्स गर्ने संस्कार विकास गर्नुपर्छ । 

कतिपय जलनका घटना हुँदा अस्पतालमा भीआईपीहरूको भीड लाग्ने गरेको देखिन्छ । यसले उपचारमा कस्तो प्रभाव पार्छ ?

हामी सबैलाई आग्रह गर्छौं कि भीआईपीहरू बिरामी राखिएको वार्ड वा बेडसम्म नपुग्नुहोस् । यदि सहयोग गर्न चाहनुहुन्छ भने अस्पताल प्रशासन वा सूचना अधिकारीमार्फत सहयोग गर्न सकिन्छ । भीआईपी संस्कार अझै पनि हट्न सकेको छैन । सहानुभूति व्यक्त गर्न जानु स्वाभाविक हो, तर उपचारमा अवरोध नपुग्ने गरी सहयोग गर्नुपर्छ ।

-प्रस्तुति: प्रकृति दाहाल

डा. दाहाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक हुन्

Link copied successfully