बिरामी, उपयुक्त औषधि, मात्रा, समय र सही जानकारीका साथ सेवन गरिने औषधिले मात्रै प्रभावकारी काम गर्न सक्छ । र, यो नै प्रभावकारी उपचारको आधार हो ।
What you should know
काठमाडौँ — औषधि ऐन २०३५ अनुसार औषधि भन्नाले मानिस, पशु वा पंक्षीलाई हुने रोगको निदान गर्न, उपचार गर्न वा रोकथाम गर्न, रोग निको पार्न वा साम्य गर्न वा मानिस, पशु वा पंक्षीलाई रोग ल्याउने कीराहरुको नाश गर्न वा मानिस, पशु वा पंक्षीको शारीरिक बनावट वा प्रक्रियालाई असर पार्न प्रयोग गरिने पदार्थ वा त्यस्तो पदार्थमा लगाइने साधक पदार्थ समेतलाई सम्झनुपर्छ ।
औषधिको सही तरीकाले प्रयोग र उपचारलाई औषधिको विवेकपूर्ण प्रयोग भनिन्छ । उपचारमा औषधिको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा, उचित मूल्यजस्ता विषय महत्त्वपूर्ण हुन्छ । हरेक औषधिको आ–आफ्नै सेवन तथा प्रयोग विधि हुन्छन्, तर विडम्बना ! औषधि प्रयोगको न्युनतम नियम समेत पालना नगरी आ–आफ्नै तरिकाले प्रयोग गर्ने परिपाटी बढ्दै गएको पाइन्छ ।
बिरामी, उपयुक्त औषधि, मात्रा, समय र सही जानकारीका साथ सेवन गरिने औषधिले मात्रै प्रभावकारी काम गर्न सक्छ । र, यो नै प्रभावकारी उपचारको आधार हो ।
यसका लागि औषधिको विवेकपूर्ण प्रयोगमा ध्यान दिनुपर्छ । र, औषधिको यिनै विवेकपूर्ण प्रयोगका लागि अङ्ग्रेजीमा ‘आठआर’ को नियम छ । पहिलोः राइट पेसेन्ट (सही बिरामी), दोस्रोः राइट मेडिसिन (सही औषधि), तेस्रोः राइट डोज (सही मात्रा), चौँथोः राइट डोजेज फर्म (औषधिको सही रूप), पाँचौः राइट रुट (सही माध्यम), छैटौँः राइट ड्युरेसन (सही समावधि), सातौँः राइट एजुकेसन (सही ज्ञान/परामर्श) र आठौंः राइट डकुमेन्टेसन (सही रेकर्ड) ।
योसँगै औषधि सेवनबारे जान्नैपर्ने अन्य कुराहरू यस प्रकार छन्ः डाक्टरको प्रेस्क्रिप्सन/सल्लाहअनुसार मात्र औषधि सेवन गर्नुपर्छ । ठिक मात्रामा प्रयोग गर्नुपर्छ । निर्धारित समय र अवधि पूरा गर्नुपर्छ । तोकिएको मात्रा तोकिएको समयसम्म प्रयोग गर्नुपर्छ । औषधिको लेबल र निर्देशन राम्रोसँग अध्ययन र पालना गर्नुपर्छ । म्याद सकिएको औषधि प्रयोग गर्नु हुँदैन । अरूको औषधि प्रयोग गर्नु हुँदैन । एउटै रोग भए पनि कारण फरक हुन सक्ने हुँदा सबैलाई एउटै औषधि उपयुक्त नहुन सक्छ । औषधिको नकारात्मक असर देखिए औषधि रोकी तुरुन्त डाक्टरलाई भेट्नु पर्छ । गम्भीर समस्या हुन नदिन विशेष सावधानी अपनाउनुपर्छ । त्यसैगरी, औषधिलाई सधैँ सुरक्षित स्थानमा राख्नुपर्छ ।
बालबालिकाको पहुँचभन्दा सधैँ टाढा राख्नु पर्छ । यसले गर्दा बालबालिकाले प्रयोग गर्नसक्ने जोखिमबाट बचाउछ ।एन्टिबायोटिक आफूखुसी प्रयोग गर्नु हुँदैन । अनावश्यक रूपमा प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने समस्या हुन्छ । खानेकुरा र औषधिको अन्तरक्रियालाई ध्यान दिने । केही औषधि खानाअघि र केही खानापछि मात्र लिनुपर्छ । मध्यपान र धूम्रपानले कतिपय औषधिको प्रभाव घटाउने वा बढाउने हुँदा रियाक्सनको जोखिम हुने हुँदा प्रयोग गर्नु हुँदैन ।
त्यस्तै, कुनै औषधिले एलर्जी गराउँछ भन्ने थाहा छ भने सोको बारेमा डाक्टरलाई पहिले नै जानकारी गराउनु पर्छ । गर्भवती वा स्तनपान गराइरहेका अवस्थामा सबै औषधि सुरक्षित नहुन सक्छन् । विशेष सावधानी अपनाउनुपर्छ । एकै प्रकृतिको रोग भए पनि पुराना वा बाँकी रहेको औषधि पुनः प्रयोग गर्नु हुँदैन । किनकि लक्षण एउटै भए पनि रोगको कारण फरक हुनसक्छ ।
निद्रा वा चक्कर लाग्ने खालका औषधि सेवन गर्दा गाडी, मेसिन चलाउने, रूख चढ्ने, धारिलो साधन चलाउने जस्ता जोखिमपूर्ण काम गर्नु हुँदैन । एकैपटक धेरै औषधि प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ । चिकित्सक र फार्मासिस्टको सल्लाहबमोजिम मात्र प्रयोग गर्नुपर्छ । किनकि औषधि–औषधिबीच रियाक्सन हुन सक्छ ।
सेवनसँगै औषधिको प्रकृति हेरी सही तरिकाले भण्डारण गर्नुपर्छ । जस्तैः कोल्ड चेन मेन्टेन्ड गर्नुपर्नेलाई फ्रिजमा राख्ने, अन्यको हकमा चिसो, सुक्खा र घामबाट टाढा राख्ने वा औषधिको प्रकृति हेरी अनुकुल ठाउँमा भण्डारण गर्ने । कुनै अन्य रोग छ वा औषधि लिइरहेको भए सोको जानकारी डाक्टर र फार्मासिस्टलाई दिनु पर्छ । किनकि सोहीअनुसार औषधि मिलाउनु पर्ने हुन्छ ।
हामीमध्ये धेरैमा स्वास्थ्यसम्बन्धी समस्या भए सिधैं फार्मेसीमा गएर औषधि लिने बानी छ । यसो गर्नु गलत हो । केही औषधि जो डाक्टरको पुर्जाबिना फार्मेसीबाट दिन मिल्ने खालका छन् । त्यीबाहेक अन्य अवस्थामा चिकित्सकसँग स्वास्थ्य परीक्षण गराएर प्रेस्किृप्सनमा लेखिएका औषधि सोही अनुसार सेवन गर्नुपर्छ । यो सर्वमान्य कुरा हो ।
अतः औषधिको सही र विवेकपूर्ण प्रयोगतर्फ चिकित्सक, फार्मासिस्ट, अन्य स्वास्थ्यकर्मीलगायत सम्बन्धित सम्पूर्ण निकायले सदैव ध्यान पुर्याउनुपर्छ । विशेषगरी एन्टिबायोटिक गलत र अनावश्यक प्रयोगलाई रोकौँ । औषधिको सदैव सही र विवेकपूर्ण प्रयोग गरौँ ।
