सामान्यतया मेनोपोज भन्नाले महिनावारी सुक्नु हो । महिनावारी रोकिनु र सुक्नु भनेको फरक हो । महिलाको प्रजनन उमेरको अन्त्यतिर अर्थात लगभग ४५ वर्ष पुगेपछि लगातार १२ महिनासम्म महिनावारी रोकिए सुकेको मानिन्छ ।
What you should know
काठमाडौँ — पछिल्लो समय महिलाहरूमा मेनोपोजसँग सम्बन्धित समस्याहरू बढ्दै गइरहेका छन् । जीवनशैलीमा आएको परिवर्तन, असन्तुलित आहार, बढ्दो मानसिक तनाव र हर्मोनल असन्तुलनका कारण यसका लक्षणहरू अझ जटिल बन्दै गइरहेको छ । मेनोपोजले महिलाको शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक र भावनात्मक अवस्थामासमेत गहिरो प्रभाव पार्दै दैनिक जीवनयापनमा चुनौती थपिरहेको छ ।
मेनोपोज के हो ?
सामान्यतया मेनोपोज भन्नाले महिनावारी सुक्नु हो । महिनावारी रोकिनु र सुक्नु फरक हो । महिलाको प्रजनन् उमेरको अन्त्यतिर अर्थात लगभग ४५ वर्ष पुगेपछि लगातार १२ महिनासम्म महिनावारी रोकिए सुकेको मानिन्छ । महिलाको डिम्बाशयमा जन्मजात निश्चित संख्यामा डिम्बहरू हुन्छन् उमेर बढ्दै जाँदा यी डिम्बहरू सकिन्छन् र डिम्बाशयले इस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हर्मोन उत्पादन गर्न छोड्छ । यी हर्मोनको कमीले गर्दा नै महिनावारी स्थायी रूपमा बन्द हुन्छ ।
सामान्यतया कुन उमेरमा सुरू हुन्छ मेनोपोज ?
विश्वव्यापी रूपमा मेनोपोजको औसत उमेर ४५ देखि ५५ वर्ष हो । नेपालको सन्दर्भमा धेरैजसो महिलामा ४८ देखि ५१ वर्षको बीचमा मेनोपोज भएको पाइन्छ । यद्यपि, यति उमेरमा मेनोपोज हुन्छ नै भनेर ठोकुवा गर्न चाहिँ सकिँदैन ।
किन कसैमा छिटो र कसैमा ढिलो मेनोपोज हुन्छ ?
छिटो मेनोपोज अर्थात ४० वर्षभन्दा कम उमेरमा पनि हुन सक्छ । कसै कसैलाई वंशानुगत कारणले महिनावारी चाडै सुक्छ । आमा, दिदीहरूको मनोपोज कति वर्षको उमेरमा भयो ? यसले नै छोरी वा बहिनीको मेनोपोज हुने उमेर अनुमान गर्न सकिन्छ ।
त्यस्तै, अटोइम्यून रोगहरू, धुम्रपान (यसले १–२ वर्ष अगाडि नै मेनोपोज गराउन सक्छ), क्यान्सरको उपचार (केमोथेरापी वा रेडिएसन) तथा शल्यक्रिया गरी डिम्बाशय निकालिनु जस्ता अवस्थामा मेनोपोज चाडै हुन्छ । त्यस्तै ढिलो मेनोपोज अर्थात ५५ वर्षपछि पनि महिनावारी भइरहने पनि हुनसक्छ । यो प्रायः मोटोपना वा वंशानुगत कारणले हुन सक्छ । यसबाहेक पाठेघर तथा अण्डाशयको ट्युमर (समान्य वा क्यान्सर)ले पनि मेनोपोज ढिला गराउन सक्छ ।
मेनोपोजमा कस्ता लक्षणलाई सामान्य मान्न सकिन्छ ?
मेनोपोजमा शरीरको माथिल्लो भाग, विशेषगरी अनुहार र छातीमा एक्कासी गर्मी महसुस हुने गर्छ । कसै कसैलाई धेरै पसिना आउने र विशेषतः राति बढी पसिना आउने हुन सक्छ । साथै, निन्द्रा नलाग्ने, योनीमार्ग सुख्खा हुने तथा चिलाउने हुनसक्छ । मेनोपोज भएपछि छाला पातलो हुने, कपाल झर्ने र स्तन पनि सुक्दै जाने हुन सक्छ । मेनोपोजले मानसिक तथा भावनात्मक परिवर्तन पनि हुने गर्छ । यस अवस्थामा विनाकारण रिस उठ्ने, चिन्ता लाग्ने वा अचानक नरमाइलो महसुस हुने, एकाग्रतामा कमी आउने, बिर्सने वा कुनै काममा ध्यान केन्द्रित गर्न गाह्रो हुने समेत हुने गरेको पाइन्छ ।
कस्ता लक्षण देखा परे सचेत हुनु पर्छ ?
मेनोपोजमा गम्भीर समस्या तथा लक्षणहरू पनि देखा पर्न सक्छ । मेनोपोजपछि रक्तश्राव हुँदैन । तर, कुनै कारणले १२ महिनासम्म महिनावारी पूर्ण रूपमा बन्द भइसकेपछि पुनः रगत देखा पर्यो भने त्यसलाई समान्य लिनु हुँदैन ।
यस अवस्थामा तुरून्तै चिकित्सकसँग परामर्श लिनुपर्छ । कुनै कुनै अवस्थामा मेनोपोज हुनुअघि महिनावारी हुँदा धेरै बाक्लो रगत बग्ने हुन सक्छ । त्यस्तो अवस्थामा पनि चिकित्सकीय परीक्षण अनिवार्य हुन्छ । दैनिक कामकाजमा अवरोध हुनेगरी मानसिक चिन्ता, डिप्रेसन जस्तो अवस्था आएमा, हड्डीहरू कमजोर हुन थालेमा वा जोर्नीहरूको समस्या आएमा, मुटुको धड्कनमा समस्या (पालपिटेसन) हुने भएमा चिकित्सकसँग परामर्श लिन ढिला गर्नु हुँदैन ।
उपचार विधि के हुन सक्छन् ?
मेनोपोज कुनै रोग होइन, त्यसैले सबैलाई उपचार आवश्यक पर्दैन । जीवनशैलीमा केही सुधार आवश्यक हुन्छ । क्याल्सियम र भिटामिन–डी युक्त खानपानमा जोड दिनुका साथै नियमित व्यायाम गर्ने र धुम्रपान/मद्यपान नगर्ने जस्ता परिवर्तनले धेरै सहज बनाउँछ ।
मेनोपोजमा विशेषतः इस्ट्रोजेन हर्मोनको कमीले समस्या हुने गर्छ । त्यसैले यस्ता समस्या कम नभए हर्मोन रिप्लेसमेन्ट थेरापी अर्थात शरीरमा घटेको इस्ट्रोजेन हर्मोनलाई औषधिमार्फत पूर्ति गर्ने प्रक्रिया अपनाउनु पर्ने हुन सक्छ ।
प्रस्तुती : प्रकृति दाहाल
